क्यानेडियन माउन्टेन बाइक रेसर कोरे वालेसले सर्भे गरेको ‘काठमाडौं ३६० डिग्री’ को रुट उपत्यकाको डाँडामुनिको भागलाई एक फन्को लगाउनु हो, जुन रेस पूरा गर्ने आफू एक्लो नेपाली भएको समन लम्सालको दाबी
काठमाडौँ — कोरे वालेस । ३–४ वर्षअघि यी क्यानेडियन माउन्टेन बाइक रेसर नेपाल आएका थिए । उनी विश्वको शीर्षस्थ साइक्लिस्टमा पर्छन् । २४ घन्टे रेस उनले चारपल्ट जितिसकेका छन् । २४ घन्टामा उनले ३ सय ५० देखि ४ सय किलोमिटर साइकल दौडाएका छन् ।
उनी प्रत्येक वर्ष नेपाल आउँछन् । अन्नपूर्ण सर्किट २४ घन्टामा पूरा गर्छन् । काठमाडौंबाट बेसीसहर एक दिनमा साइकल चलाएर पुग्छन् । नेपालका समन लम्सालले उनको गतिविधि पछ्याउँदै आएका थिए । काठमाडौं ३६० डिग्री रुट २–३ दिन लगाएर सर्भे गरी एकै दिनमा पूरा गर्ने उनै वालेस हुन् ।
काठमाडौं ३६० डिग्रीका केही भागमा मान्छेले साइकल त कुदाउँथे तर ललितपुर लेलेबाट बडीखेलतिरको बाटो होस् या कलंकीबाट नागढुंगा पछाडि रामकोटबाट झर्ने बाटाहरू केही कठिन थिए । वालेसबाहेक काठमाडौं ३६० डिग्री एकै दिनमा अहिलेसम्म कसैले साइकल चलाएका थिएनन् । उनका यी गतिविधि समनले नजिकबाट नियालिरहेका थिए । १ सय ७५ किलोमिटरको काठमाडौं ३६० डिग्री रुट वालेसले १४ घन्टा हाराहारीमा पूरा गरेका थिए । समनलाई यसले झन् प्रभावित बनायो ।
उनी काठमाडौंबाट चितवनसम्म साइकलमै जान्थे । स्टामिनाले त भ्याउँथ्यो तर विदेशबाट कहाँको कहाँको मान्छे आएर यस्तो हाइ अल्टिच्युडको काठमाडौं ३६० डिग्री रुट सजिलै पूरा गरेपछि समनमा पनि केही गरौं भने हुटहुटी चल्यो । यो रुटमा म पनि यसरी दौडाएर त्यो समयमा पूरा गर्न सक्छु कि सक्दिनँ भनेर कौतूहल जाग्यो । विनोद ढकालसँग उनले एक होइन दुईपल्टसम्म प्रयास गरे । १ सय २० किलोमिटरसम्म धेरै गाह्रो हुँदा उनीहरूको स्टामिना घट्ने, न्युट्रियन्स घटेर प्रेरणा नै हराएर जान लाग्यो ।
३६० डिग्रीको रुट जर्सिङपौवाबाट सुरु भई नगरकोट, नाला, साँगा, आशापुरी, लाकुरीभन्ज्याङ, छापखर्क, गोदावरी, बडीखेलबाट भित्री बाटो हुँदै टीकाभैरव, छम्पी, बुङ्मती झरेर वसन्तडाँडाबाट करिडोरको बाटो कीर्तिपुर भएर चन्द्रागिरि, कलंकी, भीमढुंगा, रामकोट, बालाजु बाइपास, मुड्खु, भ्यूटावर, टोखा, बूढानीलकण्ठ, तारेभीर उकालो पुगेर टुंगिन्छ । १ सय ७५ किलोमिटरको यो दुरी पूरा गर्दा कुल उचाइ ५ हजार मिटरभन्दा माथि पुग्छ । केहीले काठमाडौं ३६० डिग्रीमा सिन्धुपाल्चोकलाई पनि जोड्छन् । वालेसले बनाएको सर्किटमा सिन्धुपाल्चोकविनाको छ । सिन्धुपाल्चोक जोडेको काठमाडौं ३६० डिग्री रेस पूरा गर्न २४ घन्टासम्म लाग्न सक्छ । त्यो निकै कठिन छ ।
तेस्रो पटकमा उनले यो रुट जसरी नि पूरा गर्छु भन्ने प्रण गरे । बिहान साढे ३ बजे उठे । ४ बजे घरबाट निस्किएर ३६० डिग्री रुटको पहिलो विन्दु जर्सिङपौवा पुगे । माउन्टेन बाइकको सबैभन्दा ठूलो रेसहरू पुरा गरिसकेका वालेसभन्दा समन समयको हिसाबमा १ घन्टामात्र पछाडि रहे । यो कोर्स पूरा गर्नु आफैंमा ठूलो चुनौती थियो, त्यसैले उनलाई वालेसमाथि जितेसरह भयो । यो दूरीलाई समन ‘क्रेजी एडभेन्चर्स’ भन्छन् । यही पागलपनले आफूलाई काठमाडौं ३६० डिग्री साइक्लिङ रेस पूरा गर्ने एक्लो नेपाली बनाएको उनको दाबी छ ।
वालेसले केप एपिक रेस पनि पूरा गरिसकेका छन् । दक्षिण अफ्रिकामा हुने यो विश्वको सबैभन्दा ठूलो सहासिक रेस हो । दुई महिनाअघि गोकर्णमा १८ औं राष्ट्रिय माउन्टेनबाइक च्याम्पियनसिपमा प्रतिस्पर्धी गर्दा समन २३ जनामा १४ औं भएका थिए । २०–२५ किलोमिटरको सर्किटमा तीव्र गतिका लागि प्रतिस्पर्धा हुन्छ । एथलेटिक्समा स्प्रिन्टर र म्याराथनजस्तै रहे समन र शीर्षस्थानका प्रतिस्पर्धीहरू । समन आफूलाई अल्ट्रा म्याराथन शैलीका साइकल रेसर बताउँछन् । उनी अझै च्याम्पियनसिप रेसमा जमिसकेका छैनन् । तर, उनको लक्ष्य एकपल्ट निकै जोखिम मानिएको केप एपिक रेसमा सहभागी हुने छ । ‘एक जुगमा एक दिन’ जस्तै मान्छन् उनी केप एपिकमा प्रतिस्पर्धा । सात दिने यो रेसको सहभागिता दर्ता शुल्क झन्डै ८ हजार डलर पर्छ । वालेससहित विश्वका एकसेएक साइक्लिस्टहरू यो रेसमा आउँछन् । उनी यहाँ पनि वालेसको पथ पछ्याउन चाहन्छन् । वालेसको छवि अल्ट्रा माउन्टेन बाइक रेसिङमा प्रतीक जस्तो छ । उनलाई सबैले मान्छन् । अन्नपूर्ण सर्किट मान्छेहरू हिँडेर ११ दिनमा पुग्छन् । उनी २० घन्टा जस्तोमा पुग्छन् । बेसीसहरदेखि बेनी पुग्न उनले २० घन्टामात्र लगाएका थिए ।
काठमाडौं ३६० डिग्री साँझ ७ बजेतिर पुग्दाको शीतलताले उनलाई पनि वालेसको अनुभूति दिलाएको थियो । उनका लागि फुटबलका पेले, क्रिकेटका तेन्दुलकर भनेजस्तै माउन्टेन बाइक साइकलका वालेस नै हुन् । समनले पनि काठमाडौं बेसीसहर एकै दिनमा पूरा गरेका थिए । १ सय ८० किलोमिटरको दुरि एकै दिनमा पुरा गर्नु पनि उनका लागि एउटा कोसेढुंगा नै थियो । काठमाडौंबाट बेसिसहर हुँदै अन्नपूर्ण सर्किट पुरा गरेर पोखरा २ दिन बसी ११ दिनमा काठमाडौं फर्किएका थिए । काठमाडौं ३६० डिग्रीका क्रममा ५–६ वटा स्निकर, त्यति नै पोका जीवनजल बोक्छन् । बाटोमा अण्डा, चना खान्छन् । ३६० डिग्री पूरा गर्दा उनले एक्लै साइकल कुदाएका थिए ।
केही अगाडि उनी साइकल लिएर धादिङको रुबीभ्याली पनि पुगेका थिए । उनका लागि त्यो यात्रा सबैभन्दा उत्कृष्टमध्ये एक थियो । सबैभन्दा उत्कृष्ट साइकल रेस उनी अन्नपूर्ण यात्रा नै मान्छन् । त्यो यात्रामा देखिएको दृश्य अरू केहीसँग तुलना नै नहुने उनी बताउँछन् ।
‘आँखै अगाडि टलक्क परेको हिमाल चम्किएको हुन्छ । यसले आफूलाई उत्साहित बनाउँछ । रुबीभ्याली पनि अलिक जोखिम खालकै थियो । १–१ घन्टाको दूरीमा यो रुटमा होटल, लज भेटिएको थिएन । स्याफ्रुबेंसीबाट माथि मुस्किलले ५ होटल छन् । मान्छे भेटिनै गाह्रोपर्छ यो रुटमा,’ उनले अनुभव सुनाए ।
समय फेरिएको छ । जसलाई समन आफ्नो आदर्श ठान्थे उनले नै उसको यात्रा देखेर समाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका हुन्छन् । कहिलेदेखि साइकल रेस सुरु गरेको, कुन रेस गर्ने इच्छालगायतको विषयमा वालेसले नै समनसँग प्रश्न गरिरहेका हुन्छन् । वालेससँग समनले एकपल्ट भेटेका छन् । जतिखेर उनी सुरुआती साइकल रेसमा थिए, वालेसले चिन्नै अवस्था नै भएन । अहिले उनै वालेसले समनको गतिविधि नियालिरहेका हुन्छन् । साइकल रेसिङलाई उनी ‘प्यासन्स’ मान्छन् । दैनिक ८ घन्टा अफिसको काम गरेर उनी सप्तान्हमा साइकल कुदाउँछन् । तर, फिटनेस कायम राख्न अन्य दिन विभिन्न अभ्यासहरू गर्ने गर्छन् । १० कक्षासम्म उनी होस्टेलमा बसेर पढे । अरू साथीहरू घुम्न पाउँथे, उनी कहींबाहिर निस्किन पाउँदैनथिए । अभिभावकहरू पनि व्यस्त थिए । त्यसैले उनको दिमागमा होस्टेल लाइफ सकिएपछि घुमेको घुम्यै गर्छु भन्ने थियो । १० कक्षा सकिएपछि मोटरसाइकल किनिदिनुपर्छ भनेर बाआमासँग जिद्दी गर्न लागे । तर, मोटरसाइकलको बढ्दो जोखिमका कारण अभिभावक यसमा समनसँग सहमत भएनन् । एक त अभिभावक मदन र सविता आफैं सञ्चारकर्मी भएका कारण मोटरसाइकल दुर्घटनाका समाचार निरन्तर हेरिरहन्थे । अर्को उनीहरूले कहिल्यै मोटरसाइकल चढेनन् । चार चक्केमै सुरक्षित ठाने । तर मोटरसाइकल नकिनिदिएकामा समन रिसले चुरमुरिएका थिए ।
११ मा पढ्दै गर्दा जन्मदिनको दिन अभिभावकले उनलाई साइकल किनिदिएका थिए । उनका चाहना मोटरसाइकल नै थियो । तर, साइकल भए पनि केही निश्चित स्थानमा पुग्न सकिन्छ भनेर उनले त्यसलाई अन्ततः स्वीकारेका थिए । अभिभावकले साइकल किन्दिएको भोलिपल्ट उनी त्यो जोसमा साइकल लिएर अनामनगरबाट सुन्दरीजल माथि पुगेका थिए । उनलाई त्यस यात्रामा केही गाह्रो भएको थियो । अहिले त यति दुरी उनलाई केही जस्तो पनि लाग्दैन । त्यसको एक वर्षपछि उनले आफ्नो स्टामिना बढाउँदै गए । दसैंमा अभिभावक गाडीमा काठमाडौंबाट चितवन जान्थे । पहिलो पटक उनी काठमाडौंबाट चितवन साइकलमा १२ घन्टामा पुगेका थिए । काठमाडौंबाट चितवन आफ्नो पुर्ख्यौली ठाउँ साइकलमा पुग्दा त्यहाँ धेरै आश्चर्यमा परेका थिए । धेरैले बसमाथि साइकल राखेर आएको हो भनेर पनि सोधे । रुट परिवर्तन गर्दै उनी काठमाडौंबाट चितवन पुग्ने सबै बाटो साइकलबाटै अनुभव लिइसकेका छन् ।
उनी क्यानोन माइन्टेन बाइक चलाउँछन् । यो साइकल नेपालमा एउटामात्र भएको समनले दाबी छ । बुवा अमेरिकाबाट आउँदा उनलाई यो साइकल ल्याइदिएका थिए । नेपालमा यसको मूल्य ६ लाख पर्छ । एक पटक सर्भिसिङ गर्दा ५ हजारसम्म लाग्छ । पार्टस पनि निकै महँगो हुन्छ । एउटा रेस पुरा गरेपछि साइकलको मर्मत सम्भार गर्नुपर्छ । त्योभन्दा अगाडि उनीसँग सामान्य खालको क्युब साइकल थियो । नेपालमै १२ लाखसम्मको साइकल पाउने उनी सुनाउँछन् । साइकलले उनमा व्यक्तिगत स्वभावमै परिवर्तन ल्याएको छ । लजालु र अन्तरमुखी स्वभावका उनी साइकलकै कारण हिम्मतिलो बनेको अनुभव गर्छन् । उनले एक दिन काठमाडौं उपत्यका साइकलमैत्री बन्ने आशा राखेका छन् ।
साइकल बनाउने पार्टस बोकेरै उनी दुई पांग्रेमा सयर गर्छन् । जंगलको बाटोमा अरू साथीले जंगली जनावर पनि आमनेसामने गर्नुपरेको छ । समनले अहिलेसम्म त्यस्तो अनुभव गर्नुपरेको छैन । जनावरले आक्रामण गर्न मानिसलाई पहिलो सूचीमा राखेको हुँदैन, जनावरले पहिला आफै सुरक्षित हुन खोज्ने समनको बुझाइ छ । तर, उनी आफ्नो सुरक्षाका लागि चक्कु बोकेका हुन्छन् । उनलाई डर भन्ने केही नै छैन । सायद यही कारण उनमा जस्तोसुकै अप्ठ्यारो रुटमा पनि साइकल चलाउने आँट आइरहेको छ ।
