काठमाडौँ — मनकामना र वेदव्यास एनएमबी–कपअन अन्तर स्कुल यू – १४ फुटबलको क्वाटरफाइनलमा शुक्रबार भिड्ने भएका छन् । बुढानीलकण्ठ नगरपालिका-१० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा बिहीबार सम्पन्न समूह चरणमा सफलता हासिल गर्दै मनकामना र वेदव्यासले अन्तिम आठको भेट निश्चित गरेका हुन् ।
क्वाटरफाइनलका अरु प्रतिस्पर्धामा जेसेफले चेल्सीविरुद्ध, लिभिङ वर्डले रिब्स ए टिम (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) र माउन्ट ग्लोरीले ब्रम्हकुन्जविरुद्ध खेल्ने छन् । प्रतियोगिताको समूह चरणमा २९ वटा स्कुलका ३० वटा टिमले विभिन्न आठ समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए । कपअन स्पोर्ट्स सेन्टरद्वारा आयोजित तीन दिने प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू शुक्रबार सञ्चालन हुने छ ।
बिहीबार सम्पन्न समूह चरणको खेलमा वेदव्यासले रिलयान्सविरुद्ध गोलरहित बराबरीपछि पेनाल्टी सुटकआउटमा ३–२ को रोमान्चक जित निकाल्दै समूह ‘एच’ मा शीर्षस्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको हो । तीन टिम रहेको यो समूहमा नेभरउड स्कुल बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाट बाहिरियो ।
मनकामना २–० ले बोधीसदन, ६–१ न्याम्सलाई पराजित गरेपछि टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ मा पहिलो भयो । ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३–० र नेपालयलाई ३–० ले हराएर समूह ‘जी’ मा शीर्षस्थान हात पार्यो । समूह ‘ए’ मा जोसेफ हाईस्कुलले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजित गर्दै शीर्षस्थान हासिल गरी अन्तिम आठको यात्रा तय गरेको थियो ।
समूह ‘बी’ को शीर्षस्थानमा पुग्ने क्रममो लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० ले हरायो भने साम्तेन स्कुलबाट ‘बाई’ पायो । माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा शीर्षस्थान हासिल गर्यो । यसअघि समूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्सले पहिलो दिन नै अन्तिम आठको यात्रा निश्चित गरेका थिए ।
