गुजरातलाई हराउँदै चेन्नई बन्यो पाँचौँपल्ट आईपीएल च्याम्पियन

काठमाडौँ — महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । सोमबार गुजरातको अहमदाबादमा आयोजित आईपीएल-२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नई पाँचौँपल्ट च्याम्पियन बनेको हो ।

गुजरातलाई हराउँदै चेन्नई बन्यो पाँचौँपल्ट आईपीएल च्याम्पियन

यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो । यससँगै डिफेन्डिङ च्याम्पियन रहेको गुजरात भने उपाधि रक्षा गर्न असफल रह्यो ।

चेन्नईले यस पटक फाइनलमा टाइटन्सलाई ५ विकेटले हराएको हो । गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो ।

तर पहिलो ओभरको तीन बलमै वर्षाले खेल रोकिएपछि ओभर घटाइएको थियो । डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १७१ रनको लक्ष्य दिइएको थियो ।

चेन्नईका लागि डेभोन कनवेले सर्वाधिक ४७ रन बनाए । २५ बल सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिवम दुवेले नटआउट रहँदै २१ बलमा २ छक्कासहित ३२ रन बनाए । चेन्नईलाई अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै जित दिलाए । उनले ६ बलमा १ छक्का र १ चौकासहित १५ रन बनाए ।

चेन्नईका ओपनर रुतुराज गायकवाडले १६ बलमा २६ रन बनाए । कप्तान धोनी भने पहिलो बलमै आउट भए । उनलाई मोहित शर्माले डेभिड मिलरको हातबाट क्याचआउट गराए । धोनीले फाइनलमा रन जोड्न नसके पनि चेन्नईले सुखद बिदाइ दिएको विश्वास गरिएको छ । धोनीले यस संस्करणको अन्त्यसँगै क्रिकेटबाट सन्न्यास लिने विश्वास छ ।

गुजरातका लागि मोहित शर्माले ३ र नूर अहमदले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । गुजरातका लागि सबैभन्दा बढी साई सुदर्शनले ९६ रन बनाए ।

त्यस्तै रिद्धिमान साहले अर्धशतक प्रहार गरे भने कप्तान हार्दिक पाण्ड्याले नटआउट २१ रन बनाए । शुभमन गिलले २० बलमा ७ चौकासहित ३९ रन बनाए । उनले साहसँग पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे । साहले ३९ बलमा ५४ रन बनाए ।

चेन्नईका लागि मथीसा पथिरानाले २ तथा दीपक चहर र रवीन्द्र जडेजाले १/१ विकेट लिए ।

प्रकाशित : जेष्ठ १६, २०८० ०१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?