काठमाडौँ — वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बनेका हुन् ।
कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा ३ लाई ५१–४४ ले पराजित गर्यो । विजयी टिमका लागि प्रवीण गुरागाईंले १६ अंक जोडे ।
पहिलो क्वाटर १०–१० को बराबरीमा सकिएको थियो । वडा २ ले दोस्रोमा १३–१२ र तेस्रोमा १५–१४ को सामान्य अग्रता लियो । वडा २ ले चौथो क्वाटर १३–८ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्यो ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ५५–५० ले हरायो । वडा ४ की मुना महर्जनले ३५ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १२–१६ ले पछि परेको वडा ४ ले दोस्रोमा २२–९ को अग्रता बनाउँदै जितको महत्वपूर्ण आधार खडा गर्यो । तेस्रोमा वडा ४ १२–९ ले अगाडि रह्यो । चौथो क्वाटरमा वडा ६ ले ९–१६ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन । पुरुष/महिला दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुषमा वडा २ का नरेश महर्जन तथा महिलामा वडा ४ की मुना महर्जन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवै जनही ५ हजार नगदसहित पुरस्कृत भए ।
