काठमाडौँ — रुसको कजानमा हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ ।
फिजिटल स्पोर्ट्सअन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन दूतावासले जनाएको छ । प्रतियोगितामा शारीरिक र डिजिटल दुवै किसिमको खेल गतिविधि हुनेछ । त्यसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत डिजिटल हुनेछ ।
प्रतियोगितामा फुटबल, बास्केटबल र हक्की जस्ता परम्परागत खेलहरू हुनेछन् । नेपालबाट यो खेलमा सहभागी जनाउन पाउनेछ । त्यस्तै पब्जी, फ्री फायर, डोटा–२ र लिग अफ लेजेन्ड्स जस्ता ई–स्पोर्ट्स गेमहरू आयोजना गरिने जनाइएको छ ।
फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशि १० लाख डलर रहेको छ । डोटा–२ र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोर्ट्स खेलमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशि छ ।
ट्याक्टिकल ब्याटल ५५ सीएसजीओ, ट्याक्टिकल ब्याटल ५५ भ्यालोरन्ट र ड्रोन बीट सेबरको पुरस्कार क्रमशः ३० लाख, २० लाख र ५ लाख डलर छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ मा छनोट हुने खेलाडीको पनि सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने छ ।
प्रतियोगिताका लागि जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए ।
उनका अनुसार छनोट प्रतियोगितामा सहभागी हुनका लागि ‘फिजिटल गेम अफ फ्युचर’ को वेबसाइटमार्फत आवेदन दिन सकिने र छनोट प्रतियोगितामा खर्च आयोजकले नै बेहोर्ने छ । रुसमै हुने छनोटका लागि मेको अन्तिमसम्म आवेदन दिन सकिने उनले बताए ।
