३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तेस्रो लिगलिगे साइकल दौडको उपाधि आर्मीका टमाटालाई

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिकास्थित लिगलिगकोटमा भएको‘लिगलिगे साइकल दौड’ को उपाधि नेपाली सेनाका हिमाल टमाटाले जितेका छन् । शनिबार भएको साइकल दौडमा कुल ५३ किलोमिटर दौड दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पार गर्दै टमाटा पहिलो बनेका हुन् । 

तेस्रो लिगलिगे साइकल दौडको उपाधि आर्मीका टमाटालाई

कञ्चनपुर महेन्द्रनगर–१२ का टमाटाले यसअघिको दुई संस्करणको प्रतियोगितामा पनि भाग लिएका थिए । पहिलो लिगलिगे दौडमा दोस्रो र दोस्रो लिगलिगे दौडमा चौथो बनेका टमाटा तेस्रो प्रयासमा शनिबार भएको प्रतियोगितामा पहिलो वने । उनि त्रिभुवन आर्मी क्लबका हुन् ।

‘पहिलो संस्करणदेखि नै म लिगलिगे साइकल दौडमा भाग लिएको छु,’ उनले भने,‘पहिलोमा दोस्रो भएँ, दोस्रोमा चौथो बनेको थिएँ, यो पटक पहिलो बनेँ, निकै खुसी लागेको छ ।’ लिगलिकोटको साइकल रुट निकै उत्कृष्ट रहेको उनले सुनाए । ‘यो अन्तर्राष्ट्रियस्तरको रुट छ, यो रुटमा रोड, अफरोड गोरेटो बाटो सबै पर्छ,’ उनले भने,‘साइकल यात्रा गर्नेका लागि उत्कृष्ट छ ।’

पुरुष इलाइटतर्फको प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा उनले निर्धारित दूरी पार गरे । त्यस्तै काठमाडौका कुमार तामाङ तेस्रो बनेका छन् । दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गदै उनी तेस्रो बनेका हुन् । प्रतियोगितामा लक्ष्मण मल्ल चौथो र मानबहादुर थापा मगर पाचौँ वने । मल्ल एपीएफ र थापा नेपाल आर्मीका हुन् ।

पुरुष मास्टरतर्फ पहिलो हर्क लामा, दोस्रो विकास महर्जन, तेस्रो देवबहादुर बोहोरा बनेका छन् । लामाले लामाले दुई घण्टा ३२ मिनेट ४ सकेन्ड, महर्जनले दुई घण्टा ४९ मिनेट ५५ सेकेन्ड र बोहोराले दुई घण्टा ५२ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरेका छन् ।

लिगलिगकोटबाट शुरु भएको साइकल दौड आपँपिपल भञ्ज्याङ– हर्मि भञ्ज्याङ– मुकुन डाडाँ–आपपिपल अस्पताल–वनटार– भण्डारथोक–चेपेपुल–गरमबेंसी–चेपेघाट दोभान–हवाइग्राउण्ड– तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइटेल–वटडाडाँ–वोहोरागाउँ–बिजुलीडाँडा–खोल्ली हुँदै पुनः लिगलिगकोटमा आएर टुंगिएको थियो ।

कुल ५३ किलोमिटर साइकल दौडमा इलाइटतर्फ प्रथम हुनेलाई ७५ हजार दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार नगद पुरस्कार रहेको छ । चौथो हुनेलाई १५ हजार र पाँचौं हुनेलाई ७५ सय नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टस् क्लबका संस्थापक अध्यक्ष सञ्जीव राना मगरले बताए ।

त्यस्तै मास्टर पुरुषतर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेतालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्ने छन् । अहिले पुरस्कार वितरण समारोह चल्दै छ ।

प्रकाशित : चैत्र ४, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?