कुशल दुवै संरचनामा शतक बनाउने नेपालका तेस्रो खेलाडी

फाल्गुन २, २०७९

विनोद पाण्डे

काठमाडौँ — कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने नेपालको तेस्रो खेलाडी बनेका छन् । कुशलले मंगलबार विश्वकप लिग-२ मा नामिबियाविरुद्धको खेलमा १ सय रन बनाए ।

एक दिवसीयमा यो उनको पहिलो शतक हो । २०२१ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध लिग-२ कै खेलमा ओमानको मस्कटमा ८४ रन बनाउनु एक दिवसीय अन्तर्राष्ट्रियमा कुशलको यसअघिको उच्च स्कोर थियो । कुशलको हकमा उनी एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।

कुशलले गत वर्ष ओमानमै ट्वान्टी-२० विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध अविजित १ सय ४ रन बनाएका थिए । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यसअघि उनको यो शतक थियो ।

यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय गरी दुवै संरचनामा शतक बनाएका छन् । पारसले २०१९ मा यूएईविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय १५ र २०१९ मा सिंगापुरविरुद्ध सिंगापुरमा अविजित १ सय ६ रन बनाएका थिए ।

दीपेन्द्रले गत वर्ष कीर्तिपुर मैदानमा पपुवा न्यु गिनीविरुद्ध १ सय ५ रन बनाई एक दिवसीय अन्तर्राष्ट्रियमा आफ्नो शतक बनाएका थिए । लगत्तै उनले मलेसियाविरुद्धको ट्वान्टी-२० त्रिकोणात्मक शृंखलामा अविजित १ सय १० रन बनाएका थिए । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully