काठमाडौँ — नेपाल पुलिस क्लबको महिला टोलीले एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता जितेको छ । पुलिसले आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साविक विजेता होङग्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै सातौं संस्करणको उपाधि जितेको हो ।
दस वर्षअघि पहिलो संस्करणमा च्याम्पियन बनेको पुलिसले दोस्रो पटक च्याम्पियन बन्न अर्को ६ संस्करण पर्खन पर्यो । पुलिसले नगद ४ लाख प्राप्त गर्यो भने उपविजेता न्यु डायमन्डले २ लाख रुपैयाँ प्राप्त गर्यो । न्यु डायमन्डले तेस्रो र छैटौं संस्करण जितेको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट डायमन्डले २५–२२ ले जित्यो । दोस्रो सेटमा खेलमा फर्कंदै पुलिसले २५–१७ ले खेललाई आफ्नो पक्षमा पार्यो । तेस्रो सेट निकै संघर्षका साथ डायमन्डले २७–२५ ले जित्यो । तर चौथो सेट पुन पुलिसले २५–१९ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेट पुलिसले १५–११ ले जित्दै च्याम्पियन बनेको हो ।
साविक उपविजेता नेपाल एपीएफ क्लब त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै तेस्रो भयो । एपीएफले पहिलो दुई सेट २५–१६ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । आर्मीले तेस्रो र चौथो सेट २१–२५, २१–२५ ले जित्यो । एपीएफले निर्णायक सेटमा १७–७ ले आफ्नो पक्षमा पार्दै नगद १ लाख प्राप्त गर्यो ।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुषतर्फ टिपटप हेल्प नेपालले उपाधि उचालेको छ । पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले साविक विजेता आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले आर्मीमाथि २५–२१, २६–२४ र २५–२३ को सोझो सेटमा जित हात पार्यो । एपीएफ पुलिसमाथि ३–२ को जित निकाल्दै तेस्रो भयो । एपीएफ १५–२५, २५–२०, २५–२३, २५–१८ ले पुलिसलाई पछाडि पार्यो । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा घोषित भए । उत्कृष्ट सेटरमा महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ आर्मीका हरिहजुर थापा भए । डिफेन्सतर्फ न्यु डायमन्डकी सलिना श्रेष्ठ र हेल्प नेपालका दीपक थापा रहे । सर्भरतर्फ महिलामा आर्मीकी संगम महतो र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा रहे । बेस्ट ब्लकरमा महिलातर्फ एपीएफकी कविता भट्ट र पुरुषतर्फ पुलिसका नवीन नगरकोटी रहे ।
बेस्ट स्पाइकरमा महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली र पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट रहे । उत्कृष्ट प्रशिक्षकमा विजेता टोलीका महिलातर्फ पुलिसका रूपेश विष्ट र पुरुषतर्फ हेल्प नेपालका उत्सव खड्का रहे । सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
