१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपाल टी–२० लिग अन्योल

आयोजकमध्ये एक भारतीय पक्ष बेखबर भएपछि खेलाडी र अम्पायरको बिचल्ली
विनोद पाण्डे

काठमाडौँ — आयोजकहरू सम्पर्कबाहिर भएपछि नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता मंगलबारदेखि नहुने सम्भावना बढेको छ । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा टी–२० लिग स्थगितको संघारमा पुगेको छ ।

नेपाल टी–२० लिग अन्योल

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाए । ‘सेभेन थ्री स्पोर्ट्स अहिले सम्पर्कमा छैन, उनीहरूले दिउँसोदेखि फोन उठाइरहेका छैनन् । बिहान कुरा हुँदा दूतावासमा छु भनेका थिए । म बुवाका उपचारका लागि गंगालाल अस्पतालमा थिएँ । आज बेलुका पैसा दिने कुरा थियो,’ चन्दले सोमबार राति भने, ‘आज पनि पैसा नआएमा हामी आफ्नो निर्णयमा पुग्ने सक्ने भनेको थिएँ । कोषाध्यक्षमार्फत क्यानको पैसा बुझाउँछु भनेको थियो । तर, अहिले आएर फोन उठाइरहेको छैन ।’

अब के हुन्छ ? उनले अगाडि भने, ‘सम्पर्कमा आएमात्र केही भन्न सकिएला । सम्पर्कमा नआएपछि कसरी प्रतियोगिता गर्न सकिएला र । खेलाडी र पारिश्रमिकका विषय पनि छन् । लाइभका लागि ल्याएको युरो स्पोर्टसको करोडौंको क्यामरा लिएर यहाँ छाडेछ । सेभेन थ्री स्पोर्टसले नै बोलाएर उनीहरूसँग सम्झौता गरेको हो । त्यसमा ५० जनाजतिको टिम छ । होटलमा सबै बसेको बुकिङ नै छ । अरूधेरै प्रशासनिक कुरा मलाई थाहा भएन ।’

आयोजक बेखबर भएपछि क्यानका केही पदाधिकारीले सोमबार राति त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा घेराबन्दी हालेका छन् । सहभागी धेरै टोलीका नेपाली तथा विदेशी खेलाडी, प्रतियोगिताका निर्णायकहरूले अझै पारिश्रमिक नपाएपछि लिग नै नखेल्ने धम्की दिँदै आएका थिए ।

सेभेन थ्री स्पोर्टसबाट पाउने रकम क्यान आफैंले अझै पाउन सकेको थिएन । नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स र फारवेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमध्ये विराटनगर, जनकपुर, काठमाडौं र फारवेस्टका खेलाडीले अझै कुनै पारिश्रमिक पाएका छैनन् ।

नेपाली खेलाडीतर्फ समूह ‘ए’ मा रहेकाको १५ लाख, समूह ‘बी’ मा रहेकाको १० र समूह ‘सी’ मा रहेकाको ५ लाख पारिश्रमिक रकम तोकिएको छ । त्यस्तै विदेशी खेलाडीको हकमा समूह ‘ए’ मा रहेकाले ४० हजार डलर, समूह ‘बी’ ले २० हजार र ‘सी’ ले १२ हजार ५ सय डलर पारिश्रमिक पाउने प्रावधान थियो । प्रतियोगिता सुरु हुनु २४ घन्टाअगाडि बैंकमार्फत ५० प्रतिशत रकम खेलाडीको खातामा भुक्तानी हुनुपर्ने प्रावधान रहेकोमा प्रतियोगिता सम्पन्न नजिक पुग्दा पनि चार टोलीका खेलाडीहरूले कुनै रकम पाएका थिएनन् ।

सेभेन थ्री स्पोर्टसले क्यानलाई ८ वर्षको ३३ करोड रुपैयाँ दस्तुर तिर्नुपर्ने गरी सम्झौता गरेको थियो । क्यान र सेभेन थ्री स्पोर्टसले नेपाल टी–२० लिगको घोषणाको क्रममा जेठ ४ गते संयुक्त पत्रकार सम्मेलन गरेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पत्रकार सम्मेलनमा सम्झौता भएपछि १५ प्रतिशत रकम क्यानको खातामा सेभेन थ्री र्स्पोटसले दाखिला गरिसकेको, अर्को १५ प्रतिशत त्यसको ४५ दिनपछि र बाँकी ७० प्रतिशत प्रतियोगिता सुरु हुने अघिल्लो दिनसम्म दाखिला गर्नुपर्ने प्रावधान रहेको जनाएका थिए ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले सोमबार साँझसम्ममा सम्झौताको ३० प्रतिशत रकम १ करोड २० लाख रुपैयाँमात्र खातामा आएको जनाए । उनका अनुसार क्यानले सम्झौताअनुरुप पहिलो वर्ष सेभेन थ्री र्स्पोटसबाट कुल ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्नेछ । क्यानले सेभेन थ्री स्पोर्टसले खेलाडीको पारिश्रमिक प्रक्रिया एकद्वार प्रणालीमार्फत वितरण गर्ने गरी सम्झौता गरेको थियो । सोअनुरुप सहभागी फ्रेन्चाइज टोलीले सेभेन थ्री स्पोर्टसको खातामा खेलाडीले पाउनुपर्ने रकम जम्मा गर्ने र त्यो रकम सेभेन थ्री स्पोर्टसमार्फत खेलाडीको खातामा जम्मा हुने सम्झौता छ ।

स्रोतका अनुसार तीन दिन अघिमात्र आयोजकले खेलाडीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । क्यान र सेभेन थ्री स्पोर्टसको सम्झौताअनुसार प्रतियोगिता सुरु हुने अघिल्लो दिन खेलाडीले ५० प्रतिशत रकम पाइसक्नुपर्नेछ । पोखरा एभेन्जर्सले ५० प्रतिशत पारिश्रमिक रकम खेलाडीलाई प्रदान गरिसकेको जनाएको छ । प्रतियोगिता सुरु भइसक्दा पनि खेलाडीहरू पारिश्रमिक नपाएपछि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले केही दिनअघि क्यानलाई मेल लेख्दै यसबारेमा अवगत गराएको खेलाडी स्रोत बताउँछ ।

खेलाडीलाई आयोजकले भत्ता उपलब्ध गराए पनि प्रतियोगिता सम्पन्न हुन ८ दिनमात्र बाँकी रहेको समयमा पारिश्रमिक नपाएपछि विदेशी खेलाडी होटलबाट मैदान नजाने धम्की दिएका थिए । कोही खेलाडीले यसबारेमा खुलेर बोलेका छैनन्, उनीहरूलाई विशेष गरी सञ्चारमाध्यमसँग ‘म्याच डे’ बाहेक बोल्न बन्देज लगाइएको छ ।

‘विराटनगर, जनकपुर, काठमाडौं र फारवेस्टका खेलाडीले आजसम्म पारिश्रमिकको कुनै पैसा पाएका छैनन् । विदेशी खेलाडीहरू आजसम्म कुरेर बसेका थिए, उनीहरू अब पनि पारिश्रमिक नआएमा भोलि (मंगलबार) देखि होटलबाट मैदान नजाने भनेका छन्,’ एक खेलाडीले नाम नबताउने सर्तमा सोमबार राति भने । पछिल्लो स्थितिमा आयोजक पक्ष नै सम्पर्कविहीन भएपछि खेलाडीको बिचल्ली हुने देखिएको छ ।

जनकपुरका भारतीय प्रशिक्षक उमेश पटवाल, विराटनगरका जिम्बावे खेलाडी सिकन्दर राजा केही दिनअघि फर्किसकेका छन् । यी दुई फर्किए पनि उनीहरूको टोलीले यसबारे केही सार्वजनिक गरेका थिएनन् । यसलाई पारिश्रमिक विषय र लिगमा भइरहेको अस्वभाविक नतिजासँग जोडिएर हेरिएको थियो । केही टोलीको अस्वभाविक प्रर्दशनमा लिगको औचित्यमाथि नै प्रश्न उठाइएको छ ।

नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामाले सोमबार राति सामाजिक सन्जाल फेसबुक स्टाटसमा लेखेका छन्, ‘कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० लिगको असली नियतमाथि गम्भीर प्रश्नहरू उब्जिन सुरु भएको छ । जारी प्रतियोगिताका विभिन्न गतिविधिहरू हेर्दा नेपाली क्रिकेट दलाल र तस्करले कब्जा जमाएको भान भइरहेको छ । निकट भविष्यमा धेरै कुराहरू थप प्रस्ट गर्दै जाला । अहिलेलाई नेपाली क्रिकेटको संरक्षण गर्न सम्बन्धित सरोकारबाला गम्भीर भएर अनुसन्धान गर्न जरुरी देखिन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नै विदेशी खेलाडीको हकमा श्रम स्वीकृति लिएको वा नलिएको बारेमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई एक साताभित्र जवाफ फर्काउन पत्र काटेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले यस विषयमा छानबिन भइरहेको जनाए ।


प्रकाशित : पुस १९, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?