कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयरानीको दौडले मुक्तकमैया परिवारमा खुसी

कमल पन्थी

बर्दिया — भगवानदिन जमिन्दारको घर कमैया भएर चार दशक बढी सयम बिताए । आफूले निकै कष्टकर जीवन बिताएर हुर्काएकी छोरीले खेलकुदमा नाम कमाएको सुन्दा उनी यतिबेला हर्षित छन् । भन्छन्, ‘निकै कष्टकर जीवन बिताउदा भविष्यमा सुखको दिन आउला भनेर चिताएका थिएनौं । अब हाम्रो परिवारमा कष्टको दिन गएजस्तो लाग्छ ।’

जयरानीको दौडले मुक्तकमैया परिवारमा खुसी

धाविका जयरानी थारुको बेजोड प्रदर्शनबाट यतिबेला बुबा भगवानदिन र आमा सुगहीको मुहारमा खुसी देखिएको हो । राजधानी काठमाडौंमा अघिल्लो साता सम्पन्न ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा छोरी जयरानीले चार स्वर्णसहित ५ पदक जितेकी थिइन् । दुई स्वर्ण जित्दा त उनले राष्ट्रिय कीर्तिमान नै रचिन् । छोरीले विद्यालयमा पढ्दा जितेका दर्जनौं पदक र ट्रफी पुरस्कार देखाउँदै बाबुआमाले एकैसाथ भने, ‘छोरीले दौडेर नाम कमाएको सुन्दा सबै दुःख बिर्सिर्यौं ।’ उनी सानैदेखि दौड्न मन पराउथिन् । पढ्नभन्दा खेल्नमा उनको रुचि हुन्थ्यो । त्यसैले स्कुलस्तरमै उनले दर्जनौं पदक र ट्रफी जितिसकेकी थिइन् ।

मधुवन नगरपालिका—२ सुन्दरपुर मुक्त कमैया बस्तीमा ०५९ सालमा जन्मिएकी जयरानी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छिन् । राष्ट्रिय एथलेटिक्समा उनले आर्मीबाट खेलेकी थिइन् । दशरथ रंगशालामा उनले महिला ४ सय मिटर हर्डल्समा १ मिनेट ०७ दशमलब २ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले ०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७ दशमलव ७ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । उनले १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमान नै रचेकी थिइन् । उनले प्रमिला थारुको नाममा रहेको १६.३८ सेकेन्डको कीर्तिमान तोड्ने क्रममा १५.२० सेकेन्ड कायम गरिन् ।

जयरानीले थप दुई इभेन्टबाट स्वर्ण जितेकी थिइन् । उनले लङजम्प र चार गुणा १०० मिटर रिलेबाट पनि स्वर्ण थपेकी हुन् । चार गुणा ४०० मिटरमा मात्र उनीसम्मिलित आर्मी टिमले रजत जितेको थियो । उनको टिम त्रिभुवन आर्मी १८ स्वर्णसहित टिम च्याम्पियन बन्दा जयरानी उत्कृष्ट महिला खेलाडीमा घोषित भएकी थिइन् ।

गाउँकै मञ्जुश्री शिशुबाटिकामा कक्षा ८ मा पढ्दा ०७२ सालमा उनले राष्ट्रपति रनिङ सिल्ड खेलिन् । जहाँ उनले एथलेटिक्समा सहभागिता जनाइन् । दौडमा जिल्लाकै पहिलो भइन् । त्यसपछि जयरानीको प्रतिभा प्रस्फुटन हुन पायो । दौडमा उनको अत्यधिक रुचि देखिएपछि गुलरियाका एक निजी विद्यालयले उनलाई कक्षा १० सम्म निःशुल्क अध्ययन गराउन लिएर गयो । उनी कक्षा ९ मा पढ्दा जुनियर च्याम्पियनसिपमा भाग लिन थाइल्यान्ड पुगिन् । लगत्तै श्रीलंकामा भएको प्रथम जुनियर एसियाली च्याम्पियनसिपमा पनि सहभागी भइन् । दुवै मुलुकमा उनले पदक होइन, भरपुर आत्मविश्वास बटुलिन् । जापानमा पनि जयरानी एथलेटिक्स प्रशिक्षणका लागि पुगिन् ।

खेलकै कारण त्रिभुवन आर्मी क्लबले तीन वर्षअघि उनलाई अनुबन्धित गरेको हो । एसईई उत्तीर्ण उनी सिपाही पदमा जागिरे छिन् । राष्ट्रिय एथलेटिक्समा प्राप्त स्वर्ण, कीर्तिमान र उत्कृष्ट खेलाडी भएकी कारण उनको गाउँभर खुसीयाली छाएको छ । आमा सुगही भन्छिन्, ‘खबर सुनेदेखि खुसीको सीमा छैन ।’ सुगही नौ सन्तानकी आमा हुन् । उनका ६ छोरा र तीन छोरी छन् । जयरानी काइली छोरी हुन् । ‘जयरानीले हाम्रो घरपरिवार मात्र नभई गाउँघर, देश र विदेशमा समेत नाम कमाएकोमा एकदमै खुसी छौं,’ सुगहीले भनिन्, ‘अझै राम्रो गर्छिन् भन्ने लाग्छ ।’

उनकी बहिनी कक्षा १२ मा अध्ययन् गर्छिन् भने दिदीको विवाह भइसकेको छ । ५ दाजु सवारी चालकको काम गर्छन् भने भाइ कक्षा ८ मा पढ्छन् ।

प्रकाशित : असार २६, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?