कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

पारा तेक्वान्दोकी सिर्जनाले इरानमा जितिन् रजत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले डब्लूटी प्रेसिडेन्ट कप एसिया रिजन तेक्वान्दोमा रजत पदक जितेकी छन् ।

पारा तेक्वान्दोकी सिर्जनाले इरानमा जितिन् रजत

इरानको तेहरानमा भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटेगोरीको महिला ५२ केजीमुनि सिर्जनाले नेपाललाई रजत पदक दिलाएको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो ।

नेपालबाट एक्लो सहभागी सिर्जनाले क्वार्टरफाइनलमा आयोजक इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ अंकले पराजित गर्दै सेमिफाइनल तय गरेकी थिइन् । सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० अंकले हराइन् । त्यसपछि आयोजक इरानकै फतेमेह दोदान्घेसँग फाइनल खेलेकी थिइन् । फाइनलमा सिर्जना ३३–११ अंकले पराजित हुँदै रजत पदकमा चित्त बुझाइन् ।

सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गरेकी सिर्जनाको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । केही महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत नै जितेकी थिइन् ।

अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाको यो प्रशिक्षकका रूपमा पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता हो । ५ मध्ये ४ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारा ओलम्पिकमा भने नेपाल पदकको नजिक पुगे पनि चुकेको थियो । उक्त प्रतियोगितामा उनकै प्रशिक्षणमा पलेशा गोबर्द्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?