महामारीमा मोरिससको सामना

नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी मुलुक मोरिससविरूद्ध पहिलो खेल शनिबार खेल्दै छ

माघ १५, २०७८

राजु घिसिङ

काठमाडौँ — महामारीको कारण सरकारले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन निषेध गरेको छ । सभा–सम्मेलन, कार्यक्रममा बन्देज लगाएको छ । तैपनि दशरथ रंगशालामा नेपाल र मोरिससको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एकतिहाइ (करिब ५ हजार) दर्शक प्रवेशका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई स्वीकृति दियो ।

कोभिड–१९ को संक्रमण तीव्र भइरहँदा औपचारिक रूपमा पहिलोपल्ट नेपालले शनिबार अफ्रिकी टिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

नेपाली राष्ट्रिय टिम (पुरुष) १६ अक्टोबर, २०२१ मा मालेमा भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध ३–० ले हारेको थियो । त्यो ऐतिहासिक फाइनलपछि नेपाली टिम पहिलोपल्ट मैदानमा फर्किंदै छ । एसियन कप २०२३ छनोट (तेस्रो चरण) को तयारीमा नेपालले हिन्द महासागरको एउटा द्वीप मोरिससको टिमलाई निम्त्याएको हो भने यो पूर्वी अफ्रिकी देशको टिम अफ्रिकी कप अफ नेसन्स २०२३ छनोटको प्लेअफ खेल्ने तयारीमा काठमाडौं आइपुगेको हो । महामारीको कारण मोरिसस झन्डै २७ महिनापछि प्रतिस्पर्धामा फर्किंदै छ ।

‘हामी पहिलोपल्ट अफ्रिकी टिमविरुद्ध खेल्दैछौं । यो फरक अनुभव र सम्झनलायक हुनेछ,’ एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले भने, ‘कोही पनि हार्नका लागि खेल्दैन । जो पनि खेल जित्छु भनेरै खेल्छ । हामी जित्ने लक्ष्यका साथ खेल्नेछौं ।’ माल्दिभ्सको माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनमा आबद्ध उनी स्वदेश फर्केर बिहीबारमात्रै टिमको अभ्यासमा सहभागी भए । केही घण्टाअघिसम्म एन्फा कम्प्लेक्समै भएको टिमको ट्रेनिङ सम्हालेका नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने खेलपूर्व आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनले सहायक प्रशिक्षक किरण श्रेष्ठलाई पठाए । ‘अफ्रिकी टिम भएकाले शारीरिक रूपमा मोरिसस बलियो छ । तर, हाम्रो दाँजोमा मोरिसस उस्तै टिम हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘एसियन कप छनोटको तयारीमा मोरिससविरुद्ध दुई खेल खेल्दै छौं । यी खेल छनोटका लागि महत्त्वपूर्ण हुनेछ । हामी विगतका कमजोरी सुधार गरेर राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यासका क्रममा नेपाली टिम । तस्बिर : एन्फा

एसियन कप छनोट आगामी जुन महिनामा सुरु हुनेछ । फिफा वरीयतामा नेपाल १६९ औं स्थानमा छ भने यसको तीन स्थान तल छ मोरिसस । नौ खेलयता जितविहीन रहेको पाहुना टिमले पछिल्ला सातै खेल हारेको छ । सेप्टेम्बर, २०१९ मा मोजम्बिकविरुद्ध विश्वकप छनोट (प्लेअफ) का दुवै खेल हारेको उसले २०१९ अक्टोबर ९ र १३ मा अफ्रिका कप अफ नेसन्स २०२२ छनोटको प्रारम्भिक चरणमा साओ तोमे एन्ड प्रिन्सिपविरुद्ध पनि दुवै खेल हारेको थियो । महादेशीय छनोटको असफलतापछि मोरिसस टिमको रूपमा पहिलोपल्ट जुट्दै यहाँ आइपुगेको हो ।

यसबीच नेपालले १६ खेलमा प्रतिस्पर्धा गर्‍यो । त्यसमा नेपालले बंगलादेश, चाइनिज ताइपेई, श्रीलंका र माल्दिभ्सविरुद्ध जित निकालेको थियो । पछिल्ला ७ खेलमा नेपालको २ जित, २ बराबरी र ३ हारको नतिजा छ । मोरिससले अफ्रिका कप अफ नेसन्सको छनोटको मार्चमा हुने खेलका लागि प्रारम्भिक चरणमा उही प्रतिद्वन्द्वी पाएको छ साओ तोमे एन्ड प्रिन्सिप । त्यसैको तयारी गत डिसेम्बर १ देखि सुरु गरेर मैत्रीपूर्ण खेलका लागि नेपाल आएको प्रशिक्षक टोनी फ्रान्कोइसले बताए । ‘लामो समयपछि खेलमा फर्कंदै छौं,’ उनले भने, ‘केही नयाँ र युवा खेलाडी टिममा छन् । उनीहरूका लागि यो राम्रो अनुभव हुनेछ । हाम्रा लागि यी खेल (नेपालविरुद्ध) मार्चमा हुने छनोट नेसन्स कपका लागि महत्त्वपूर्ण हुनेछ ।’

प्रशिक्षक फ्रान्कोइसले नेपाली टिमबारे भने, ‘नेपाल बलियो टिम हो । हामीले माल्दिभ्समा भएको खेल हेरेका छौं । खेल प्रतिस्पर्धात्मक हुनेछ ।’ काठमाडौं ओर्लिएको भोलिपल्टै मोरिससका चार खेलाडीलाई कोभिड–१९ संक्रमण भएको थियो । त्यसमध्ये दुई खेलाडीको रिपोर्ट शुक्रबार नेगेटिभ आएको मोरिसस फुटबल संघले 

आफ्नो फेसबुक पेजमा जनाएको छ । तर, प्रशिक्षक फ्रान्कोइसले उनीहरू पहिलो खेलमा उपलब्ध नहुने बताए । उनका खेलाडीलाई काठमाडौंको चिसोले समस्यामा पार्नसक्छ ।

मुख्य प्रशिक्षक अल्मुताइरीले प्रारम्भिक छनोटमा बोलाएका ३४ खेलाडीलाई समेट्दै मोरिससविरुद्ध दुई खेलका लागि बेग्लाबेग्लै टिम घोषणा गरेका छन्, जसलाई युवा खेलाडी छनोटमा एउटा प्रयोगका रूपमा लिइएको छ । उनले १२ जनालाई भने दुवै खेलको टिममा राखेका छन् । उनी खेलाडीहरूलाई फरक पोजिसनमा खेलाउने प्रयास पनि गरिरहन्छन् । त्यसैले उनको अर्को प्रयोगात्मक बन्नेछन् मोरिससविरुद्धका दुई खेल ।

राजु

Link copied successfully