म सधैंभरि कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म सधैंभरि कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

'सधैंभरि कप्तान बन्न भनेर आएको होइन, हुनुपर्छ भन्ने पनि होइन । देशका लागि खेल्ने नै मेरो मुख्य उद्देश्य हो ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच केही कुरामा असन्तुष्टि देखिए पनि विवाद भनेर चित्रित गरिएको उनले बताए । उनले अब सबै खेलाडी विश्वकप छनोटमा केन्द्रित हुने पनि बताए ।

उनले टिममा कसैसँग दुस्मनी नभएको उल्लेख गर्दै भने, 'हामी एकअर्काबीच दुस्मनी छैन । १०-१२ वर्षदेखि हामी सबै सँगै खेलिरहेका छौँ कसैसँग मनमुटाव भएको होइन । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यत्रो दिन यस्तो अवस्था आउँथेन । वर्गीकरण गर्दा हामीलाई जानकारी गराइएको थिएन । त्यसैले अलिअलि असन्तुष्टि पैदा भएको हो ।'

त्यस्तै मल्लले आफूलाई बिनाजानकारी कप्तानबाट हटाउँदा दु:ख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए । उनले अगाडि भने, 'सुरुमा बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दु:ख लाग्यो । अलि गाह्रो भएको थियो । हामी कहिल्यै पनि बोर्डविरुद्ध गएका होइनौँ । आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो । सधैंभरि कप्तान बन्न भनेर आएको होइन । हुनुपर्छ भन्ने पनि होइन । म देशका लागि खेल्ने हो । मेरा लागि खेल्छु, परिवारका लागि खेल्छु मेरो मुख्य उद्देश्य नै त्यही हो ।'

त्यस्तै क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ता लिने सहमति भएको पनि मल्लले जानकारी दिए ।

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयबारे सञ्चारमाध्यममा गएर बोलेका कारण कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवादले ठूलो रूप लिएको हो । त्यस्तै क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पद खोस्दै सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।

प्रकाशित : पुस २०, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

जसले नेपालबाट लोप भएको चरा भेटे

पर्वत पोर्तेल

काँकडभिट्टा — गत पुस ६ मा चरा अनुसन्धानकर्ता तथा वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल चरा खोज्दै इलामको सूर्योदय नगरपालिका–१ सीमधाप पुगेका थिए । आसपासको वन क्षेत्रमा टहलिदै थिए, अचानक एक जोडी 'रुफ्स–नेक्ड हर्नबिल' अर्थात् 'हङरायो' देखे । हतारिदै तस्बिर खिचे ।

‘हङरायो फेला पार्नु मेरो करियरकै ठूलो उपलब्धी ठानेको छु, ’ मेचीनगर ६ काँकडभिट्टा निवासी खरेलले सुनाए, ‘लोप भइसकेको भनिएको चरा फेला पारेर सार्वजनिक गर्न पाउँदाको आनन्द व्यक्त गर्नै सकेको छैन ।’

वनस्पतीविद् कमल मादेनका अनुसार अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले सन् २०२० मा जारी गरेको एक सामग्रीमा नेपालमा रुफ्स–नेक्ड हर्नबिल लोप भइसकेको लेखेको छ । जसअनुसार यो पंक्षी भुटान, उत्तरपूर्व भारत, म्यान्मार, दक्षिणपूर्व तिब्बत, चीन, थाइल्यान्ड, लाओस र भियतनाममा पाइन्छ । ‘आइयूसीएनले सन् १९९४ यता यो पंक्षीलाई लोपोन्मुखमा सूचीकृत गरेको छ, ’ मादेनले भने, ‘ लोप भइसकेको ठानिएको चरा नेपालमा फेला पार्नु खरेलजीका लागि ठूलो उपलब्धि र अनुसन्धानकर्ताका लागि चुनौती हो ।’

चरा अनुसन्धानकर्ता ब्राइन हड्सनले सन् १८२९ ताका भेटयता नेपालमा ‘हङरायो’ को अस्तित्व कसैले पुष्टि गर्न सकेका थिएनन् । विज्ञहरुको दाबी थियो, ‘यो चरा नेपालमा लोप भइसकेको छ ।’ तर, करिब दुई सय वर्षपछि फोटोग्राफर खरेलले ‘हङरायो’ फेला पारेका हुन् ।

‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने नेपाली उखान पूर्वी पहाडमा चर्चित छ । तसर्थ पूर्वमा ‘हङरायो’ भेटिन सक्ने दाबी वनस्पतिविद् मादेनको थियो । ‘यही उखान सम्झिदै जाँदा संयोगले हङरायो फेला पारेको हुँ,’ खरेलले अनुभव साटे ।

फोटो स्टुडियो सञ्चालन गर्दै आएका खरेलले पाँच वर्षयता भने कार्जेहरुको फोटो खिच्ने काम छाडेर चराचुरुंगी खोज्दै हिँड्न थालेका थिए । छोटो समयमा खरेलले चरा अनुसन्धानमा उल्लेख्य काम गरेर देखाएका छन् ।

अघिल्लो वर्ष मंसिर १४ मा खरेलले ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका थिए । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टा क्षेत्रमा फेला पारेर तस्बिर सार्वजनिक गरेका थिए । ‘यो हरियो परेवा पनि नेपालमै पहिलोपल्ट मैले नै फेला पारेको हो,’ खरेलको दाबी छ,‘ फोटो खिचेर पंक्षी संरक्षण संघ र चराविद् डा. हेमसागर बराललाई पठाएपछि उहाँले यो पंक्षि हरित परेवा रहेको र नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।’

खरेलले पाँच वर्षयता विभिन्न प्रजातिका करिब ४ सय चराको तस्बिर खिचिसकेका छन् । ‘नेपालमा करिब ८ सय ८७ प्रजातिका चरा पाइने रेकर्ड छ,’ खरेलले भने, ‘मैले ४ सयभन्दा बढी चरा क्यामेरामा कैद गरिसकेको छु ।’

उनका अनुसार झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्रै करिब ३ सय प्रजातिका चराहरु भेटिएका छन् । ‘सम्भवतः नेपालकै सबैभन्दा बढी चरा पाइने नगरपालिका मेची नगरपालिका हो, ’ उनले थपे, ‘तर, चरा संरक्षणमा नगरपालिकाले कुनै काम नगर्दा चै दुःख लागेर आउँछ ।’

उनले मेचीनगरलाई चरा संरक्षण क्षेत्रको रुपमा विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकहरुको भीड लाग्न सक्ने बताए । नगरलाई चरा शिकार निषेध क्षेत्र घोषणा गर्न पनि खरेलले आग्रह गरे ।

मेचीनगरका मेची र निन्दा नदीको किनारका सिमसार क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जंगल आसपासमा मात्रै ३ सय बढी प्रजातिका चराको बासस्थान रहेको उनको दाबी छ ।

प्रकाशित : पुस २०, २०७८ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×