पलेशालाई स्वर्ण

कुशल तिमल्सिना

काठमाडौँ — ओलम्पियन पलेशा गोवर्द्धनले एसियन युथ पारा गेम्समा पारा तेक्वान्दोतर्फ स्वर्ण जितेकी छन् । गत भदौमा जापानमा भएको पारा ओलम्पिकमा कांस्य जित्न चुकेकी पलेशा बहराइनमा भइरहेको प्रतियोगितामा स्वर्ण जित्न सफल भइन् ।

पलेशालाई स्वर्ण

एसियाली पाराओलम्पिक कमिटी र बहराइन सरकारको संयुक्त आयोजनामा जारी एसियन युथ पारा गेम्समा नेपालबाट सहभागी चारमध्ये तीन खेलाडी पदक जित्न सफल रहे । पारा तेक्वान्दोबाटै पलेशाले स्वर्ण जित्दा सृजना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जिते । आइतबार भएको प्रतिस्पर्धामा महिला के–४४ विधाअन्तर्गत ५७ केजीमुनि तौल समूहको खेलमा पलेशाले इरानकी इब्राहिमी रोजालाई ६–० अंकका आधारमा पराजित गरी स्वर्ण जितेकी हुन् ।

पारा तेक्वान्दोमा के–४४ भनेको कम्तीमा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुनु हो । बहराइनबाट प्रशिक्षक कविराज नेगी लामाले दिएको जानकारीअनुसार यो तौल समूहमा ५ खेलाडीको सहभागिता थियो । दुई खेलाडी सुरुआती छनोट (वेइङ) बाटै फालिएपछि बाँकी तीन खेलाडीबीच प्रतिस्पर्धा हुँदा वरीयताका आधारमा पलेशा बाई पाएर सिधै फाइनलमा पुगिन् । फाइनल मात्र खेलेर उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । एसियालीस्तरको आधिकारिक पारा खेलकुदमा नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलोपल्ट हो । सन् २०१७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी १८ वर्षीया पलेशाले यसअघि सन् २०१९ मा भियतनाममा भएको पाँचौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

के–४४ विधाकै ५२ केजीमुनि तौल समूहमा सृजना फाइनलमा पराजित भइन् । पलेशाजस्तै बाई पाएर सिधै फाइनल पुगेकी सृजनाले इरानकी धानबारिकोमिसानी सहरसँग १८–० अंकका आधारमा पराजय बेहोरेकी हुन् । पुरुषतर्फ के–४४ विधामै ५८ केजीमुनि तौल समूहका विशाल गर्बुजा सेमिफाइनलमै पराजित हुँदै कांस्य पदक जिते । उनी उज्वेकिस्तानका सोनाजारोभ कुड्राटिलोसँग ३२–६ अंकका आधारमा पराजित भए । यी सबै खेलाडी करिब एक वर्षदेखि नियमित प्रशिक्षणमा थिए । ओलम्पिक छनोट प्रतियोगिताको तयारीका क्रममा तेक्वान्दो संघले उनीहरूलाई बन्द प्रशिक्षणमा राखेको थियो । सृजनाले ओलम्पिक तयारीका क्रममा पलेशाको स्पाइरिङ पार्टनरका रूपमा थिइन् ।

‘यो हाम्रो लामो समयदेखिको तयारीको प्रतिफल हो । हामीले ओलम्पिक छनोटदेखि नै यी खेलाडीलाई नियमित प्रशिक्षणमा राखेका थियौं,’ बहराइनबाट प्रशिक्षक लामाले कान्तिपुरसँग भने, ‘यो प्रतियोगिताअघि पनि दुई साताको बन्द प्रशिक्षण गरेका थियौं । यसपल्ट भाग्यले पनि साथ दियो ।’ प्रशिक्षक लामाले पलेशाले स्वर्ण जित्नुमा ओलम्पिकको अनुभवले पनि सहयोग गरेको बताए ।

के–४४ कै ५८ केजीमुनि तौल समूहमा पाराओलम्पिकमा प्रतिस्पर्धा गरेकी पलेशाले ऐतिहासिक रूपमा दुई खेल जितेकी थिइन् । कांस्य पदकका लागि भएको निर्णायक प्रतिस्पर्धामा उनी चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका चार खेलाडीको सहभागिता छ । तेक्वान्दोबाट सहभागी तीनै खेलाडी पदक विजेता बनेका छन् । उनीहरूबाहेक ब्याडमिन्टनबाट प्रकाश अधिकारीको पनि सहभागिता छ ।

प्रकाशित : मंसिर २०, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?