हाफ म्याराथन पुसमा

मंसिर ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले पुस पहिलो साता हाफ म्याराथन आयोजना गर्ने घोषणा गरेको छ । १० लाखभन्दा बढी पुरस्कार राशि रहेको यो प्रतिस्पर्धालाई ‘रन फर प्रोटिन’ को नारा दिइएको छ ।

पुस ३ गते दशरथ रंगशालाबाट सुरु हुने खुला हाफ म्याराथन (महिला/पुरुष), पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीको छात्र ५ किमि र छात्रा ३ किमि तथा ह्वीलचियर रेस गरी पाँच विधा समावेश गरिएको छ । दौडलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ । करिब २ हजारको सहभागिता रहने अपेक्षा गरिएको यो रनका लागि २ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । आयोजक भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठका अनुसार एकदिने कार्यक्रमका लागि करिब ७० लाख रुपैयाँ खर्च हुनेछ । एसोसिएसनको आफ्नै कोष तथा प्रायोजकहरूबाट खर्चको व्यवस्थापन गरिने उनले जानकारी दिए ।

खुला हाफ म्याराथनतर्फ महिला र पुरुषका विजेताले समान १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सबै विधाका पाँचौं स्थानसम्मले पुरस्कार पाउने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हाफ म्याराथनतर्फ दोस्रोदेखि पाँचौं स्थानसम्मका खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खुला १० किमि (पुरुष) का विजेताले ५० हजार, खुला ५ किमि (महिला) का विजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । छात्र १० किमिको विजेताले ३० हजार, छात्रा ५ किमिको विजेताले २० हजार तथा ह्वीलचियर रेसका विजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully