‘नेपालकै लागि खेल्नुपर्छ भनिरहेका छन् तर मसँग इटालीको मात्र पासपोर्ट छ’
काठमाडौँ — पहिलोपल्ट नेपाल छाड्दा नै हो उनले विमान देखेको । यस्तोमा किशोर उमेरका विकास मेराग्लियाको मनमा आयो, ‘म कुनै दिन पक्कै पाइलट बन्ने छु ।’ तर, उनको भाग्यमा पाइलट बन्नु त लेखिएकै थिएन । उनको गन्तव्य त फुटबल नै थियो ।
उनी जत्तिको प्रतिभाशाली खेलाडीलाई ‘ला गजेटा’ ले मात्र कसरी नदेखे जस्तो गर्न सक्छ र ? इटालीको खेलसम्बन्धी प्रसिद्ध पत्रिका हो, ला गजेटा । उसले भर्खरै विकास मेराग्लियाको नेपाल यात्राबारे एउटा लामो आलेख छापेको छ ।
यो पत्रिकालाई पनि कौतूहल रहेछ, के कुनै दिन विकासले नेपालका लागि खेल्नेछन् ? कि उनी फेरि इटाली नै फर्कनेछन् । साता दिनपछि सहिद स्मारक लिग ‘ए’ डिभिजनको नयाँ संस्करण सुरु हुँदै छ । तय छ, सबैको ध्यान विकासमै केन्द्रित हुनेछ । आखिरमा विश्व फुटबलकै महाशक्ति इटालीको यू–१६ र १७ बाट खेलिसकेका खेलाडी कम्तीका हुने छैनन् नै । अथवा उनले कुनै संयोगले मात्र इटालीको उमेर समूहबाट खेल्ने अवसर पाएका त पक्कै होइनन् ।
ला गजेटाले के छापेको छ, त्यसभन्दा पहिले केही साताअगाडि सकिएको साफ च्याम्पियनसिप–२०२१ बाटै चर्चा सुरु गरौं । श्रीलंकाविरुद्धको जितपछि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एउटा खुलासा भनेर एक प्रसंग कोट्याए । अल्मुताइरी भन्दै थिए, आफूसँग इटालीका त्यस्ता एक खेलाडी सम्पर्कमा छन्, जसले नेपालबाट खेल्न सक्ने सम्भावना छ । उनी चाहन्थे, आप्रवासी नेपालीले फुटबलका लागि नेपाल नै रोजोस् र खेलोस् पनि ।
अझ यो प्रसंग किन उठेको थियो भन्दा श्रीलंकाले नेपालविरुद्धको त्यस खेलमा त्यस्ता तीन खेलाडी उतारेका थिए, जो श्रीलंकाली मूलका त थिए, तर विदेशमा हुर्केबढेका थिए र विदेशकै फुटबल पनि सिकेका थिए । अझ श्रीलंका त्यस्ता थप ६ विदेशी खेलाडीको सम्पर्कमा पनि थियो, जसले देशको प्रतिनिधित्व गरेर खेल्न सक्छ । यस्तोमा प्रश्न हो, के विकासले नेपालका लागि खेल्नेछन् त ? ला गजेटालाई के लाग्छ भने विकास नेपाल किन फर्केका हुन् भने उनलाई आफू जन्मेको देशबाट बोलावट आएको छ ।
र, त्यसमा विकास रोकिनै सकेनन् अनि भावनामा बगिहाले । विकासका लागि पत्रिकाले ठ्याक्कै प्रयोग गरेको शब्द हो, इटालीको फुटबलका युवा प्रतिभाशाली खेलाडी । उनले च्यासल युथ क्लबमा अनुबन्ध पनि गरिसकेका छन् । यसक्रममा मोफसलका केही प्रतियोगितामा खेलिसके । उनी वास्तवमै कस्ता खेलाडी हुन्, त्यो लिगकै क्रममा देखिनेछ । लगभग १३ वर्षपछि पहिलोपल्ट उनी नेपाल फर्केका हुन् । यति धेरै वर्षपछि कस्तो लाग्यो त उनलाई नेपाल ?
उनको जवाफ छ, ‘यो अर्कै विश्व हो । मलाई अलिकति स्थानीय भाषा आउँछ, अलिकति अंग्रेजी । म काठमाडौंको बाहिरी भागमा बसिरहेको छु । स्थानीयवासीहरू आफ्नो परम्परामा खुबै गर्व गर्छन् । म बौद्धमार्गी हुँ र नेपाल निकै आध्यात्मिक छ । जताततै मठमन्दिर छन् । काठमाडौंमा भर्खरै जाडो सुरु भएको छ ।’
विकास किन नेपाल आए त ? यसमा उनको उत्तर छ, ‘इटालीमै मैले केही प्रस्ताव पाइरहेको थिएँ, नेपालबाट बोलावट आएपछि मैले रोक्नै सकिनँ ।’ उनी थप्छन्, ‘म लामो समयदेखि यस्तै बोलावटको पक्षमा थिएँ र यो निकै भावनात्मक रह्यो । म १३ वर्षपछि नेपाल फर्केको छु र म को हुँ भनेर देखाउन चाहन्छु ।’
च्यासलले उनलाई लामो समयदेखि पछ्याइरहेको थियो, त्यसैले उनले यो क्लबलाई ‘नाइँ’ पनि भन्न सकेनन् । उनी नेपालमा आएयता पाएको न्यायो स्वागतमा खुसी छन् । उनकै शब्दमा भन्दा सम्भवतः युरोपमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीले सायद नै नेपालमा आएर खेलेका छन् ।
वैशाखमा भएको नेपाल सुपर लिगमा युरोपेली खेलाडीहरू आएर खेलिसकेका छन् । उनीसँगै च्यासलले निकै बलियो टिम बनाएको छ । केही अन्य विदेशी खेलाडी पनि छन् । प्राविधिक निर्देशक पनि विदेशी नै छन् । यस्तोमा च्यासलले हो न हो, लिग उपाधिकै लागि दाबेदारी प्रस्तुत गर्न सक्नेछ । मोफसलमा खेल्दा विकासले धेरै ठूलो केही गरेका छैनन् । भाषा, खानादेखि अन्य धेरैथोकमा उनलाई अभ्यस्त हुनु छ । तर एउटा के तथ्यमा शंका छैन भने उनी प्राविधिक रूपमा अब्बल छन् ।
यसको छनक लिगका क्रममा देखिने नै छ । ला गजेटासँगको कुराकानीमा उनले एटलान्टा छँदाका दिन सम्झने प्रयास गरे । किशोर खेलाडी छँदा आक्रमणमा उनीका साथी हुने गर्थे, अमद डिएलो । आइभरिकोस्ट मूलका यी खेलाडी अहिले म्यानचेस्टर युनाइटेडमा छन् । यी दुई आक्रमणमा जुट्दा त्यो घातक हुने गर्थ्यो । अन्त्यमा उनी थप्छन्, ‘नेपालकै लागि खेल्नुपर्छ पनि भनिरहेका छन् । तर मसँग इटालीको मात्र पासपोर्ट छ । हेरौं, भविष्यमा के हुने हो ।’
