१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

३५ वर्षपछि रंगशालामा चेली

महिला राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न थालेको ३५ वर्ष भयो । महिला टिमले विराटनगर, पोखरा र सातदोबाटोमा खेलेको थियो तर देशकै खेलकुदको मुख्य थलोमा ‘फिफा मापदण्ड’ को अन्तर्राष्ट्रिय खेल्ने अवसर बिहीबारमात्रै पायो ।
नेपाली महिलाले धुमधामसँग मनाउने हरितालिका तीजकै दिन बंगलादेशविरुद्ध भएको ऐतिहासिक खेल नेपालले २–१ ले जित्यो ।
राजु घिसिङ

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले डिफेन्डर सिर्जना सिंह छमछमी नाचेको फोटो फेसबुक पेजमा अपलोड गरे । सिर्जना हाफ–पाइन्ट, टिसर्ट र स्पोर्ट्स सुजमै सिन्धु मल्लको ‘चिटिक्कै भा छु रे...’ गीतमा नाचेकी थिइन् । 

३५ वर्षपछि रंगशालामा चेली

त्यसको भोलिपल्ट बिहीबार उनीसहित प्रीति राई, सविता राना र रश्मीकुमारी घिसिङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । उनीहरूले यस्तो मौका नेपाली महिला राष्ट्रिय टिमले दशरथ रंगशालामा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नै पाए । नेपाली महिलाले धुमधामसँग मनाउने हरितालिका तीजकै दिन बंगलादेशविरुद्ध भएको यो ऐतिहासिक खेल नेपालले २–१ ले जित्यो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालनका लागि मापदण्ड पुगेको नेपालको एकमात्र आयोजनास्थल हो, दशरथ रंगशाला । २०१२ सालमा निर्मित रंगशालाले पुनर्निर्माणपछि प्रतिष्ठित प्रतियोगिताहरू दक्षिण एसियाली खेलकुद र साफ च्याम्पियनसिप दुई–दुईपल्ट तथा फुटबलकै एएफसी च्यालेन्ज कप पनि आयोजना गर्‍यो । यसलाई पुरुषको राष्ट्रिय फुटबल टिमले ‘होम ग्राउन्ड’ बनाएको पनि ३५ वर्ष भयो । महिला राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न थालेको ३५ वर्ष भयो । महिला टिमले विराटनगर, पोखरा र सातदोबाटोमा खेलेको थियो तर देशकै खेलकुदको मुख्य थलोमा ‘फिफा मापदण्ड’ को अन्तर्राष्ट्रिय खेल्ने अवसर बिहीबारमात्रै पायो ।

टिम कप्तान रेनुका नगरकोटेले घरेलु प्रतियोगिता खेले पनि पहिलोपल्ट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्दा उत्साहित भएको बताइन् । ‘देशकै मुख्य रंगशालामा खेल्दा सुरुमा केही नर्भस त भएँ,’ उनले भनिन्, ‘यो अवसरको खेल जित्यौं, खुसी लाग्यो । रमाइलो पनि भयो ।’

पूर्वराष्ट्रिय खेलाडी भगवती थापा घरमा तीज मनाउन छाडेर खेल हेर्न रंगशाला आएकी थिइन् । ‘व्रत बसिरहेकी छु । अहिलेसम्म पानी पनि खाएकी छैन,’ साडी र चुरापोतेमा सजिएकी उनले भनिन्, ‘आफ्नो टिमको माया लाग्छ । सपोर्टिङ स्टाफका रूपमा काम पनि गरेकी छु । यो (दशरथ) रंगशालामै महिला टिमको पहिलो खेल पनि हो । त्यसैले तीजको रमाइलो त्यागेर भए पनि रंगशाला आइपुगें । नेपालले जित्यो, खुसी छु । तर, २–० ले जित्न पाएको भए अझै रमाइलो हुन्थ्यो ।’ उनी गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि विजेता एपीएफकी मुख्य प्रशिक्षक पनि हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष नै पुरुष खेलाडी बराबर तलब (मासिक १८ हजार रुपैयाँ) महिला खेलाडीलाई पनि दिने घोषणा गरेको थियो । त्यसले महिला फुटबलमा उत्साह जगाएको थियो । गत साता नेपाली पुरुष टिमले दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । महामारीको अवस्थामा पनि एक तिहाइ (५ हजार १ सय) दर्शकलाई प्रवेश दिइएको ती खेलमा दर्शकको घुइँचो लागेको थियो । विश्वमै लैंगिक समानताको नारा चर्किंदै जाँदा बंगलादेशविरुद्ध महिला टिमको खेलले पनि उत्तिकै ध्यान खिच्न नसकेको देखियो ।

रंगशालाको प्रवेशद्वारमा खासै भीडभाड भएन । टिकट दर सस्तो बनाइए पनि दर्शकले प्यारापिट भरिएन । करिब २ हजारले मात्रै प्रत्यक्ष खेल हेरे । प्रायोजकले जर्सी बेच्न राख्ने गरेको स्टल पनि हटायो । कोरोना भाइरस महामारीका कारण २१ महिनापछि मैदानमा फर्किंदा नेपाली टिमले ‘गोल मेसिन’ का रूपमा स्थापित सावित्रा भण्डारीलाई गुमाएको छ । सन् २०१४ यता कीर्तिमान ३८ गोल गरेकी फरवार्ड सावित्रा घुँडाको शल्यक्रियापछि दोहामै ‘रिह्याबिलिटेसिन’ गरिरहेकी छन् । मैदानमा उनको अभाव प्रस्टै देखियो । यस्तो परिस्थितिमा पहिलो रोजाइमै ‘डेब्यु’ को अवसर पाएका फरवार्डद्वय सविता र प्रीतिको गोलमा नेपालले मैत्रीपूर्ण खेल जितेको हो ।

सविताले विमला चौधरीको क्रसमा १३ औं मिनेटमा हेडद्वारा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । मिडफिल्डर सरु लिम्बूको चलाखीपूर्ण पासमा प्रीतिले राम्रो ‘फिनिसिङ’ गरी २२ औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर बनाइन् । सब्स्टिच्युट तोहुरा खातुनले ८३ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । उनले ‘१८ यार्ड लाइन’ बाट प्रहार गरेको बल डिफेन्डर अमृता जैसीलाई लाग्दै जाली चुम्न पुगेको थियो । अन्त्यतिर बंगलादेशले लगातार दबाब दिए पनि गोल गर्न सकेन ।

‘प्लेयर अफ द म्याच अवार्ड’ हात पारेकी प्रीतिले भनिन्, ‘मैले यू–१८ र यू–१९ मा पनि सेट (पहिलो रोजाइ) मा खेल्न पाएकी थिइनँ । राष्ट्रिय टिममा सेटमै हुँदा खुसी लागेको छ । अहिले जति छु, योभन्दा राम्रो गर्ने कोसिस गर्नेछु । मेरो खेल अझै माथिल्लो स्तरमा पुर्‍याउन सक्छु जस्तो लाग्छ ।’

अस्ट्रेलियन प्रशिक्षक फिलिप्सले सिर्जना र फरवार्ड रश्मीलाई दोस्रो हाफमा मैदानमा उतारेका थिए । उनले खेलाडीहरूको ‘पोजिसन’ मा पनि केही परिवर्तन गरिदिए । यस्तोमा नेपालले बंगलादेशमाथि संघर्षपूर्ण जित निकालेको हो । नेपाली महिलाले बंगलादेशविरुद्ध सातौं खेल खेलेको हो । यसमा अपराजित नेपालले छैटौं जित दशरथ रंगशालामा आएर हात पारेको हो । एक खेल बराबरी भएको थियो । नेपाल र बंगलादेश एएफसी महिला एसियन कप २०२२ छनोटलाई प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

उज्वेकिस्तानमा हुने समूह ‘एफ’ को छनोटमा नेपालले फिलिपिन्स (असोज २) र हङकङविरुद्ध (असोज २) खेल्दै छ । समूह विजेता टिमले भारतमा हुने एसियन कप खेल्नेछ । त्यही छनोटका तयारीमा दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टिम आएको हो । अर्को खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ र केशव थापा

प्रकाशित : भाद्र २५, २०७८ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?