भाग्य, नतिजा र जुत्ता- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाग्य, नतिजा र जुत्ता

ओलम्पिक ट्य्राकमा लगाउने ‘स्पाइक सुज’ टोकियो ओर्लिएपछि मात्रै पाएकी सरस्वती चौधरीको महिला १०० मिटर दौडमा प्रदर्शन राम्रो भएन
राजु घिसिङ

टोकियो — ग्रीष्मकालीन ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सबै सदस्य देशका खेलाडीले एथलेटिक्स र पौडीमा प्रतिस्पर्धा गर्न पाउँछन् । कम्तीमा एक खेलाडी एथलेटिक्समा छनोटबिना (अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने छनोट प्रतियोगिता) नै ओलम्पियन बन्न पाउँछन् ।

टोकियो ओलम्पिकअन्तर्गत शुक्रबार महिला १०० मिटर दौडको हिट्समा प्रतिस्पर्धा गर्दै नेपालकी सरस्वती चौधरी (दायाँ) । तस्बिर : एएफपी

त्यसैका लागि नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले नेपालगन्ज म्यथाराथन (मंसिर २०७७) लाई टोकियो ओलम्पिकको छनोटका स्पर्धाका रूमा लिएको थियो । त्यसको विजेता भएपछि गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्ने घोषणा गरिदिए । तर, गोपी स्वदेशमै रोकिए । त्यो विश्वव्यापी सहभागिताको कोटामा टोकियो उडान भर्ने भाग्यमानी भइन् धाविका सरस्वती चौधरी ।

नेपाली सेनाकी स्प्रिन्टर सरस्वतीले ओलम्पिक खेल्ने जानकारी पाएको एक महिना पनि भएको छैन । टोकियोस्थित ओलम्पिक रंगशालाको ट्र्याकमा उत्रिनुपर्‍यो । यसबीच उनका प्रशिक्षक इन्द्राकुमारी मल्ल कोभिड–१९ संक्रमणको कारण स्वदेशमै

अड्किइन् । आइतबारमात्रै टोकियो आइपुगेकी सरस्वतीले ओलम्पिक ट्र्याकमा दौडन पाउने विशेष किसिमको जुत्ता ‘स्पाइक सुज’ लगाएर अभ्यास गर्न त के देख्न पनि पाएकी थिइनन् । ओलम्पिक मापदण्डमा पर्ने स्पाइक सुज टोकियोमै आएर प्राप्त गरिन् । अभ्यास गर्ने अवसर टाढाकै कुरा भयो ।

अहिलेकी सबैभन्दा तेज गतिकी नेपाली महिलालाई एथलेटिक्स संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले जस्तो सुविधा दिएको थियो, ओलम्पिकमा नतिजा पनि त्यस्तै निस्कियो । सरस्वतीले महिला १०० मिटरमा प्रतिस्पर्धा गरिन् । ओलम्पिक खेल्ने सपना साकार पारिन् ।

शुक्रबार बिहानै भएको १०० दौड पूरा गर्दा उनले १२.९१ सेकेन्ड लगाइन्, जुन उनकै आफ्नो उत्कृष्ट समय (१२.५५ सेकेन्ड/१३ औं दक्षिण एसियाली खेलकुद २०१९) भन्दा पनि खराब हो । दशरथ रंगशालामा दुई वर्षअघि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दा उनी पाँचौं भएकी थिइन् । उनी विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ (दोहा) मा निकालेको १२.७२ सेकेन्डको नजिक पनि पुगिनन् । देवीमाया पनेरुले २२ वर्षअघि आठौं साफ खेलकुद १९९९ मा बनाएको १२.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान उछिन्ने लक्ष्यमा पुग्नु त टाढाकै कुरा भयो । यो ओलम्पिकमा पहिलो चरणमा पुग्ने समयसँग त तुलना गर्ने अवस्था नै छैन ।

उनको प्रतिस्पर्धामा व्यक्तिगत उत्कृष्ट प्रदर्शनको आधारमा हिट्समा प्रारम्भिक चरण र पहिलो चरणमा विभाजन गरिएको थियो । यसमा उनी प्रारम्भिक चरणको हिट्स २ मा परिन् । प्रारम्भिक चरणको हिट्समा पर्नु भनेकै यो स्पर्धामा कमजोर खेलाडी साबित हुनु हो ।

प्रारम्भिक चरणका तीन हिट्समा २७ खेलाडीले प्रतिस्पर्धा गरे । यसमा पनि सरस्वती ९ खेलाडीको आफ्नो हिट्समा आठौं भइन् । उनले साउदी अरेबियाका धाविकालाई मात्रै पछाडि परिन् । प्रारम्भिक हिट्सको समग्रमा भने सरस्वती २० औं स्थानमा रहिन् ।

ट्र्याकमा दौडिएको अवस्थामै उनी प्रतिस्पर्धाका लागि फिट थिइन् त भन्नेमा प्रश्न तेर्सिन्छ । प्रश्न उनीसँग मात्रै होइन, सम्बन्धित खेलका तीन निकाय (संघ, परिषद र ओलम्पिक कमिटी) लाई पनि तेर्सिन्छ । किनभने विश्व खेलकुदको कुम्भमा खेलाडीलाई तयार पार्ने काम तिनै संस्थाहरूको हो ।

जुनसुकै खेलाडीको पनि ओलम्पिकमा सहभागी हुने सपना हुन्छ । र, त्यो सपना सरस्वतीमा पनि थियो । ‘यसैपालि ओलम्पिक खेल्ने सपना पूरा गर्न पाएँ,’ २४ वर्षीया उनले भनिन्, ‘तर सोचेजस्तो राम्रो गर्न सकिनँ । अब आउने खेलमा राम्रो तयारी गर्नेछु । उत्कृष्ट प्रदर्शन गर्नेछु ।’

बिदामा घर पुगेकी बेला (१३ असार) मा ‘ओलम्पिक खेल्ने भयौं’ भनेर त्रिभुवन आर्मी क्लबले खबर गरेपछि राजधानी काठमाडौं फर्किएर सरस्वतीले टोकियो यात्राको तयारी थालेकी थिइन् । अन्तिमसम्म फिटनेसमै केन्द्रित अभ्यास गरेकी उनले दशरथ रंगशालाको ट्र्याकमा ओलम्पिक मापदण्डको स्पाइक सुज पनि लगाएर दौड्न पनि पाएकी थिइनन् । अनि कसरी टोकियोमा कीर्तिमान र अर्को चरण पुग्ने छनोट लक्ष्य राख्ने ?

ओलम्पिकको ३२ औं संस्करणमा नेपालका ५ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्ने मौका पाए । जुडोकी सोनिया भट्टको चुनौती महिला ४८ केजीमुनिको स्पर्धामा पहिलो चरण (अन्तिम ३२) मै रुसकी इरिनाविरुद्ध १ मिनेट १६ सेकेन्डमै समाप्त भयो । सरस्वतीको स्पर्धासँगै नेपाली खेलाडीका निम्ति टोकियो ओलम्पिकको यात्रा पनि सातौं दिनमै समाप्त भयो । तीन खेलाडी (कल्पना परियार, अलेक्जेन्डर शाह र गौरिका सिंह) ले आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान ओलम्पिकमा सुधार गरे । यसपालि नेपालको उपलब्धि यही नै रह्यो ।

गौरिका र एलेक्सले पनि सरस्वतीले जस्तै विश्वव्यापी सहभागिता कोटामा ओलम्पिक खेलेका हुन् । उनीहरूले टोकियो अक्वाटिक्स सेन्टरमा आफ्नै कीर्तिमान सुधार गरे, त्यो नै ठूलो मान्नुपर्ने अवस्था रह्यो । कल्पना र सोनिया आमन्त्रित खेलाडी कोटामा ओलम्पियन भएका हुन् । यसमा कल्पनाको कीर्तिमान राम्रै उपलब्धि हो । सोनियाले एक बाउट जित्ने र सरस्वतीले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य हासिल गर्न सकेनन् । यसले उनीहरूको फिटनेससँगै सम्बन्धित निकायतिर प्रश्न तेर्स्याएको छ । र, ओलम्पिकको ५७ वर्षे यात्रामा फेरि एउटा जमघटमा सहभागितामै सीमित हुँदै नेपाली खेलाडीले टोकियोमा बिट मारेका छन् ।

प्रकाशित : श्रावण १६, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

६९ वर्षयताकै कम पर्यटक

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको ६९ वर्षयता सन् २०२० मा विदेशी पर्यटकको आगमन ८० प्रतिशत घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘नेपालको पर्यटन तथ्यांक २०२०’ अनुसार कोभिड संक्रमणका कारण गत वर्ष २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल आए । यो सन् २०१९ को तुलनामा ८० दशमलव ७ प्रतिशत कम हो । 

हवाई मार्ग तथा स्थल मार्ग हुँदै सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी नेपाल आएका थिए । नेपाल विदेशी पर्यटकका लागि सन् १९५१ देखि खुला गरिएको थियो । अघिल्लो वर्षको जसरी यसअघिका कुनै पनि वर्ष पर्यटन आगमनमा गिरावट नआएको मन्त्रालयले जनाएको छ ।

नेपालले विदेशी पर्यटकको रेकर्ड सन् १९६४ देखि राख्न थालेको हो । त्यस वर्ष ९ हजार ५ सय २६ जना विदेशी नेपाल घुम्न आएका थिए । यो त्यसअघिको वर्षको दाँजोमा ३० प्रतिशतले वृद्धि थियो । पछिल्लोपटक नेपालमा सन् २०१५ मा ३२ प्रतिशत पर्यटक आगमन घटेको थियो । ‘सन् २०२० मा नेपाल करिब बन्द थियो, अनलाइन भिसा रोकिएका थिए, त्यस्तो बेला १० दिने क्वारेन्टाइन बस्न इच्छुक हुँदै नेपाल आउने विदेशीको संख्या २ लाख पुग्नुले नेपालमा पर्यटकको सम्भावनाको संकेत गर्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले भने ।

सन् २०२० मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको थियो  यो अघिल्लो वर्षको दाँजोमा ७० प्रतिशत कम हो । सन् २०२० मा सर्वाधिक पर्यटक आगमन भएका मुलुकमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र संयुक्त राज्य अमेरिका प्रमुख थिए । पर्यटक ल्याउने प्रमुख ५ वायुसेवामा नेपाल वायुसेवा निगम, कतार एयरवेज, हिमालय एयरलायन्स, फलाई दुबई र एयर अरेबिया थिए । गत वर्ष १० हजार २ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान (आउने/जाने) भए । अघिल्लो वर्षको तुलनामा यो ६८ प्रतिशत कम हो ।

प्रकाशित : श्रावण १६, २०७८ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×