कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोर्डनसामु फेरि निरीह

नेपाली टिम विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा जोर्डनविरूद्ध फेरि ३–० ले हार्‍यो । यसले एसियन कप छनोटमा नेपाललाई सिधै तेस्रो चरणमा पुग्न गाह्रो भएको छ ।
राजु घिसिङ

काठमाडौँ — नेपाली टिमको तुलनामा जोर्डन सबै हिसाबले बलियो र उत्कृष्ट थियो । शारीरिक, प्राविधिक र खेलाडीको अनुभवका आधारमा जोर्डन बलियो थियो । तैपनि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध पनि जितकै लागि खेल्ने बताइरहेका थिए ।

जोर्डनसामु फेरि निरीह

किनभने उनी नेपाली टिमले लिएको आक्रामक लय कायम राख्न चाहन्थे । तर, जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार नेपाली टिमको केही जोर चलेन । खेल जोर्डनले ३–० ले जित्यो ।

१९ महिनाअघि जोर्डनी राजधानी अम्मानको भेटमा पनि नेपाली टिमले ३–० कै हार बेहोरेको थियो । त्यो ‘अवे’ खेलका तीनै गोल दोस्रो हाफमा भएको थियो । कुवेत सिटीको प्रतिस्पर्धामा जोर्डनको पक्षमा खेल एकतर्फी रह्यो । सुरुबाटै उसले आक्रामक प्रदर्शन गर्‍र्‍यो । नेपाली खेलाडीहरू आफ्नै पेनाल्टी क्षेत्र वरिपरि व्यस्त रहे । कुवेती प्रशिक्षकको आगमनसँगै लय समातेको मानिएको नेपाली टिममा केही फरक भने देखियो । दोस्रो हाफतिरै भए पनि नेपाली खेलाडीहरूले ढुक्कसँग पास खेलेको देखियो ।

नेपालले ३० महिनापछि पहिलोपल्ट लगातार चार खेलमा गोल गर्ने अवसर गुमायो । हुन त गोल गर्नकै लागि पूरा खेलमा एकपल्ट पनि राम्रो अवसर सिर्जना गर्न सकेन । तर, केही छोटो–छोटो पास र आफैमा ढुक्कसँग खेल्नसक्ने भने देखिएको छ । विगतमा जस्तै ठूला टिमविरुद्ध डराएर रक्षात्मक खेल्ने नेपाली टिमको परम्परा थियो, जसलाई भत्काउन चाहन्छन् प्रशिक्षक अब्दुल्लाह । गोलको स्पष्ट अवसर सिर्जना गर्न नसके पनि केही हदसम्म दुई वर्षअघिभन्दा अलि आशालाग्दो प्रदर्शन गर्‍यो ।

मोहमद सुलेमनले १४ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट सशक्त रूपमा प्रहार गरेको बललाई गोलकिपर किरण चेम्जोङले पञ्च गर्दै मुस्किलले बाहिर फालेका थिए । तर, जोर्डनले बाह फैजल सैफको पेनाल्टी गोलमा २४ औं मिनेटमा अग्रता लियो । डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रमा सुलेमनलाई फाउल गर्दै लडाएपछि

रेफ्रीले जोर्डनलाई पेनाल्टीको अवसर दिएको थियो । फैजलको पेनाल्टी प्रहारमा किरणले सही दिशामै डाइभ गरे । तर, सशक्त रूपमा प्रहार गरेको बल किरणको ग्लोभ्स छुँदै जाली चुम्न पुग्यो ।

जोर्डनले उसैको घरेलु मैदानमा हात पारेको जितमा पनि पहिलो गोल पेनाल्टीमै गरेको थियो । जोर्डनको त्यो सहज जितमा फैजलले एक गोल गरेका थिए । उनकै दुई गोलमा यसपालि पनि जोर्डनले नेपालमाथि सहजै ३ अंक जोड्यो । उनले ४९ औं मिनेटमा पाएको फ्रिकिकमा करिब ३० यार्डबाट ‘सेकेन्ड बार’ च्याप्दै प्रहार गरेको बल उत्कृष्ट गोलमा परिणत भएपछि जोर्डनले २–० को अग्रता लियो । यो छनोटमा उनको छैटौं गोल हो ।

तेस्रो गोल पनि फ्रिकिककै मुभमा भयो । फ्रिकिकमा पाएको अवसरमा यजन अल अरबको हेडर गोलमा जोर्डनले ६७ औं मिनेटमा ३–० को अग्रता लिँदै जित निश्चित गरेको थियो । तीन गोल गरेपछि पनि जोर्डनले आक्रमण जारी राखेको थियो । पहिलो हाफको अन्त्यतिर किरणले केही उत्कृष्ट बचाउ गरे । सुलेमनले नजिकबाट प्रहार गरेको बल किरणले ४२ औं मिनेटमा रोकेका थिए । त्यही रिबाउन्डमा प्रहार गरेको बल पनि उनले रोक्दै नेपालको संकट टारेका थिए ।

नेपालले बिहीबार चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । त्यसमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए । यिनै अञ्जनले फिफा वरीयतामा ७६ स्थानमाथिको जोर्डनविरुद्ध पनि नेपालको सबैभन्दा राम्रो अवसर पाएका थिए । पेनाल्टी क्षेत्रमा नियन्त्रण गरे पनि उनले बलमा उनको प्रहार सटिक रहेन, सिधै पोस्टबाहिर गयो । अन्त्यतिर विशाल राई, मनीष डाँगी र नवयुगले पनि ‘अट्याकिङ थर्ड’ मा दबाब दिने प्रयास गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाहले ताइपेईविरुद्ध खेलेको पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गर्दै जोर्डनविरुद्ध नेपाली टिमलाई उतारेका थिए । उनले फरवार्ड आशिष लामााको स्थानमा अभिषेक रिजाललाई अवसर दिए । मिडफिल्डर सुनिल बल र राइटब्याक गौतम श्रेष्ठलाई ‘बेन्च’ मा राख्दै डिफेन्डरद्वय दिनेश राजवंशी र विकास खवास ल्याएका थिए । तर, विकासले चोट बोक्दै ३० औं मिनेटमै मैदान छाडे । उनको स्थान सुनिलले लिएका थिए ।

दोस्रो हाफमा विशाल, नवयुग, मनीष, एरिक विष्ट प्रवेश गरेपछि नेपाली टिम अलि पास खेल्नसक्ने र बल ‘होल्ड’ गर्नसक्ने भएको थियो । नेपालले जोर्डनविरुद्ध खेलेको चौथो खेल हो यो । यसमा तेस्रो हार बेहोरेको हो । विश्वकप छनोटमै १० वर्षअघि अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै नेपालले दशरथ रंगशालामा जोर्डनलाई १–१ मा रोकेको थियो । ती दुवै खेल खेलेका थिए रोहित र किरणले । यसपाली पनि नेपाली टिमले त्यो दोस्रो लेगजस्तै जुझारु खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर, काठमाडौंमा गरेजस्तो प्रदर्शन कुवेत सिटीमा भएन ।

छनोटमा पाँचौं हारसँगै नेपालको विश्वकप २०२२ छनोटको तेस्रो चरणमा प्रवेश गर्ने औपचारिक रूपमा सम्भावना समाप्त भयो । एसियन कप २०२३ छनोट पनि हो यो । यसको तेस्रो चरणमा पुग्न पनि समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा रहनुपर्छ । जोर्डनविरुद्धको हारले यसमा पनि नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी रह्यो । चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्न नसके नेपालले पुछारका ११ टिममा रहेर एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ । त्यसमा अविश्वसनीय जितले मात्रै नेपाललाई एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुर्याउन सक्छ । जोर्डन भने चौथो जितपछि कुवेतलाई तीन अंकले उछिन्दै दोस्रो स्थानमा उकिल्यो । शतप्रतिशत जितसहित अस्ट्रेलिया (१५) शीर्षस्थानमा छ । नेपालको खातामा ६ अंक छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?