सिन्धुपाल्चोक — एपीएफ क्लबले भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबलमा उपाधि जितेको छ । शनिबार फाइनलमा एपीएफले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–२२, २५–१४ को सोझो सेटमा हरायो ।
एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरी स्पाइकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा १–१ अंक जोडिन् । रेश्मा भण्डारी र पूजा चौधरीले समान ७ अंक बटुले । न्यु डायमन्डकी प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई हारबाट बचाउन सकिनन् । प्रतिभाले स्पाइकबाट १८ अंक जोड्दा ब्लक र सर्भिसमा समान एक अंक जोडेकी थिइन् । उनले १० नेगेटिभ अंक दिइन् । न्यु डायमन्डकी झरना श्रेष्ठ र वाल्मीका आचार्यले समान ६ अंक बटुले ।
एपीएफले ३ लाख र न्यु डायमन्डले २ लाख रुपैयाँ पुरस्कार पाए । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भइन् । उनले २० हजार प्राप्त गरिन् । सरस्वतीलाई हिमालय सीमापार वाणिज्य संघका अध्यक्षले सम्मानस्वरुप थप ५० हजार प्रदान गरे । विधागत पुरस्कारतर्फ आर्मीकी शान्ती थारु स्पाइकर, आर्मीकै सुनीता खड्का ब्लकर, न्यु डायमन्डकी प्रतिभा माली सर्भर, सलिना श्रेष्ठ डिफेन्स र एपीएफकी विनीता बुढाथोकी सेटरमा उत्कृष्ट भए । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्ट सबैले जनही ७ हजार पाए ।
न्यु डायमन्डको खेलबाट प्रभावित भएर सृजनशील आमा समूहले २५ हजार र रिवन ट्रान्सपोर्टले प्रशिक्षक कुमार राईलाई २० हजार प्रदान गरे । तेस्रो स्थानका लागि त्रिभुवन आर्मीले पुलिस क्लबलाई २६–२४, २५–२१, २५–२३ ले हरायो । शान्ति थारू प्लेयर अफ द म्याच भइन् र २ हजार रुपैयाँ हात पारिन् । आर्मीले १ लाख र पुलिसले ५० हजार प्राप्त गरे ।
