कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७० करोड युरो 'रिलिज क्लज' का कारण बार्सिलोना छोड्न सकिनँ : मेस्सी

एजेन्सी

बार्सिलोना — अन्तत: लियोनल मेसीले ‘यू टर्न’ लिए र बार्सिलाना छाडेनन् । सुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएको १० दिनपछि उनले मन फेरे र शुक्रबार रातितिर भने, बार्सिलोनामै रहने हो ।

७० करोड युरो 'रिलिज क्लज' का कारण बार्सिलोना छोड्न सकिनँ : मेस्सी

आफ्ना मनका कुरा उनले गोल डटकमलाई दिएको अन्तर्वार्तामा भनेका छन् । के भन्छन् त यी ३३ वर्षीय अर्जेन्टिनी स्टार ? उनकै शब्दमा :

‘मलाई लाग्छ, म बार्सिलोना छाड्न स्वतन्त्र थिएँ । यो कुरा मैले क्लब अध्यक्षलाई पनि भनेको थिएँ । म सिजनका अन्त्यमा अन्यत्र जान चाहन्थें, तर अध्यक्षले आफ्नो वचन राखेनन् ।

मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो (रिलिज क्लज) तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।

क्लबले भनिरहेको छ, मैले जुन १० अगाडि नै क्लब छाड्न सक्ने अनुबन्धको बुँदा उपयोग गर्नु पर्ने हो, त्यसपछि यो अस्तित्वमा रहन्न । तर कोरोना भाइरस संक्रमणको महामारीले गर्दा स्पेनी ला लिगा त्यो समय मध्य भागमै मात्र पुगेको थियो ।

बार्सिलोना छाड्ने एउटा उपाय भनेको अदालत जाने हो, तर मैले यस्तो काम कहिले पनि गर्दिनँ, किनभने म बार्सिलोनालाई माया गर्छु, यो क्लबले मलाई धेरै दिएको छ । यो मेरो जीवनको भाग हो, यहाँ मैले आफ्नो जीवन बिताएको छु ।

अब म अगाडि बढ्न चाहन्छु र माथिल्लो स्तरको फुटबल खेल्न चाहन्छु, बढी भन्दा बढी उपाधि जित्न चाहन्छु । म युरोपेली च्याम्पियन्स लिगमा खेल्न चाहन्छु ।

जति बेला मैले बार्सिलोना छाड्ने निर्णय श्रीमती र बच्चाहरूलाई सुनाएँ, उनीहरू रून थाले । उनीहरू कोही पनि बार्सिलोना छाड्न चाहन्नन् । बच्चाहरू त स्कुल पनि फेर्ने चाहन्नन् ।

म बार्सिलोनालाई धेरै माया गर्छुं । यस्तो राम्रो सहर अन्यत्र कतै पाइन्न । अब नयाँ चुनौतीका लागि तयार छु । बार्सिलोनामा मेरो सबथोक रहेको छ ।’

*यसअघिको शीर्षकमा 'रिलिज क्लज' छुटेकोमा सच्याइएको छ । यसअघिको शीर्षकले गलत अर्थ लाग्‍न गएको भन्ने पाठकहरुको प्रतिक्रियालाई सम्मान गर्दै 'रिलिज क्लज' थपिएको हो । ।

प्रकाशित : भाद्र २०, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?