देवनारायण जो थिए ‘हेडिङ किङ’- खेलकुद - कान्तिपुर समाचार

देवनारायण जो थिए ‘हेडिङ किङ’

अमेरिकामा रहेका पूर्वराष्ट्रिय फुटबलर देवनारायण चौधरीले लक्ष्य सुनाए, ‘मैले अहिले दुःखजिलो गरेर केही कमाएको छु, सबैको साथ र सहयोग रह्यो भने आफैं एकेडेमी चलाएर नेपाली खेलाडीलाई प्रशिक्षण दिने उद्देश्य छ ।’
विनोद भण्डारी

विराटनगर — कहिले भोगटेको दाना त कहिले मोजामा कपडाका झुत्रा हालेर बनाएको डल्लोलाई लात्ताले हान्दै फुटबल खेल्न सुरु गरेका मोरङ सिधराकाका देवनारायण चौधरी नेपाली फुटबल इतिहासमा ‘किङ अफ द हेडर’ को उपनामले चिनिन्छन् ।

विपन्न परिवारमा जन्मेहुर्केका उनी बाल्यकालमा पिता ठकनलाल र आमा गोडीदेवी मजदुरी गर्न जहाँ पुग्थे, शरीरमा लँगौटीमात्र लगाएर भोगटेको दाना र झुम्राको बल लात्ती हान्दै पछिपछि हिँड्थे ।

नातामा मामा पर्ने पूर्वराष्ट्रिय फुटबल खेलाडी प्रदीप भगतबाट प्रेरित उनै देवनारायण अहिलेसम्म चर्चामा रहेका नेपाली फुटबल खेलाडीको सूचीमा पर्छन् । दुई दशक नेपाली फुटबलमा बिताएका उनी अहिले अमेरिकामा आफ्नो भविष्य खोजिरहेका छन् ।परिवारमा बिहान खाए, बेलुका के खाने भन्ने आर्थिक समस्या थियो । त्यस्तो अवस्थामा देवनारायणले परिवारबाट छालाको बल पाउने सम्भावनै थिएन । भगतले भने, ‘जब उनका मावली हजुरबा नन्टु मोदी मेरोमा कम्तीया बसे, त्यसपछि देवनारायणको छालाको बलसँग साइनो जोडियो ।’


आर्थिक रूपमा सम्पन्न र तत्कालीन जमिनदारमा गनिने भगतका पिता गोरेलाल पनि फुटबल खेल्थे । उनको टिमका गोलरक्षक देवनारायणका पिता ठगनलाल थिए । भगत सम्झिन्छन्, ‘मेरो घरमा सधैं छालाको फुटबल हुन्थ्यो । देवको मावली हजुरबा कम्तीया बसेपछि ऊ मेरो घरमा आएर छालाको फुटबलसँग रमाउन थाल्यो । त्यतिबेलै उनको बललाई लात्ती हान्ने र हेडिङ गर्ने शैली अनौठो र गज्जब थियो । बाबा र मेरोबीच उसको शैलीबारे चर्चा हुन्थ्यो ।’ त्यसपछि देवनारायणलाई हामीले सिधराको चन्द्रसूर्य स्पोर्टिङ क्लबको ‘सी’ टोलीबाट खेलाउन थालेको भगतले सुनाए । उनले स्मरण गरे, ‘त्यो टिमबाट फुटबल खेल्न थालेपछि देवनारायणको फुटबल कला अझै निखारियो । त्यसपछि उनलाई सिनियर टिमबाट खेलाउन थाल्यौं ।’

अग्लो कद र शारीरिक रूपमा तन्दुरुस्त देवनारायणले सिनियर टिमबाट खेल्न थालेपछि बल अगाडि बढाउने र हेडिङबाट गोल गर्ने चमत्कार नै देखाउन थाले । देवनारायणको खुट्टा भन्दा बढी टाउको चल्थ्यो । उनले गरेका अधिकांश गोल हेडबाट भएका छन् ।

त्यसपछि देवनारायण विराटनगरको युनाइटेड र दुहबीको एलेभेन एरोज क्लबको आँखामा परे । दुई क्लबबाट खेल्न सुरु गरेपछि उनले एकपछि अर्को सफलता चुम्न थाले । तत्कालीन राष्ट्रिय फुटबल खेलाडी रहेका रूपकराज शर्मा मोरङमा प्रहरी नायब उपरीक्षक (डीएसपी) भएर आएपछि देवनारायणको फुटवल भविष्य खुलेको भगतको भनाइ छ । देवनारायणको फुटबल प्रेरणास्रोत भगतसहित पूर्वका फुटबल हस्ती सन्तोष बानियाँ र दिलीप राई नै हुन् । अमेरिकामा रहेका देवनारायण भन्छन्, ‘उहाँहरूले त्यतिबेला बाटो नदेखाइदिएको र सहयोग नगरेको भए आज म यो अवस्थामा पुग्ने थिइनँ । यसको सम्पूर्ण श्रेय उहाँहरूलाई जान्छ ।’


‘आफू खेलाडी भएको नाताले रूपकराजले फुटबलमा लागेका २० जना युवा उपलब्ध गराउन आग्रह गरे । देवनारायणसहित मोरङका २० युवा खेलाडीको लिस्ट हामीले उपलब्ध गरायौं,’ थारु कल्याणकारिणी सभा मोरङका अध्यक्ष रहेका भगतले विगतको स्मरण गरे, ‘उनीहरूलाई रूपकराजले नेपाल प्रहरीको प्रशिक्षण क्याम्पमा लगे । ६ महिना प्रशिक्षण गरेपछि देवनारायण भागेर घर आए । तर हामीले फेरि उनलाई प्रहरीकै जिम्मा लगायौं ।’

देवनारायण २०४४ सालदेखि नेपाल प्रहरीमा आबद्ध भएका हुन् । देवनारायण पुलिस टिममा आएपछि टिमको स्वरुप नै परिवर्तन भएको पूर्वराष्ट्रिय खेलाडी तथा अवकाशप्राप्त एआईजी विज्ञानराज शर्माको बुझाइ छ । देवनारायणलाई पूर्वएआईजी शर्मा नेपाली फुटबलका ‘हेडिङ किङ’ मान्छन् । देवनारायण खासमा रक्षापंक्तिमा खेल्थे । तर उनको धुन जसरी पनि आफूले टाउकाले गोल गर्नेतर्फ हुने शर्माको अनुभव छ ।

उनी दर्शकका मनपर्ने खेलाडीमा पर्थे । पुलिस टिमलाई दर्शकले कहिल्यै माया गर्दैनथ्यो । तर देवनारायण भने दर्शकका प्रिय थिए । उनले कहिल्यै दर्शकबाट गाली खानुपरेन । पूर्व फुटबलर शर्माका अनुसार देवनारायण मैदानमा चौतर्फी खेटेर खेल्थे । उनी आफ्नो बेलाका अब्बल फुटबलर नै थिए । तर उनमा प्राविधिक पक्ष केही कमजोर रहेको शर्माको बुझाइ छ ।

उनी खेलकै कारण प्रहरीको विभागमा २०४८ सालमा हबल्दार, २०५२ सालमा असई र २०५८ सालमा सईमा बढुवा भएका थिए । प्रहरीमा नियुक्त भएपछि नेपाल पुलिस क्लबबाट खेल्न थालेपछि देवनारायणको खेलले फड्को मारेको अर्का पूर्वखेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्त अर्याल मान्छन् ।


पुलिस टिमबाट खेल्न सुरु गरेपछि देवनारायणले यू–१९ को राष्ट्रिय टोलीबाट भारतको मद्रासमा खेलेर अन्तर्राष्ट्रिय यात्राको सुरुआत गरेका थिए । उनी २०४६ सालमा राष्ट्रिय टोलीको क्याम्पमा परे पनि टिममा छनोट भएनन् । तर एक वर्षपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाए । देवनारायण २०४८ सालमा यू–२३ टोलीमा परेर ओलम्पिक छनोट खेल्नका लागि उत्तर कोरिया गएका थिए । तर उक्त प्रतियोगिताबाट उनी घुँडाको लिगामेन्ट च्यातिएर चोट बोक्दै फर्किएका थिए ।

देवनारायणले चौथो, पाँचौं, छैटौं र सातौं दक्षिण एसियाली खेलकुदमा खेले । छैटौंमा स्वर्ण पदक जित्दा टोलीका महत्त्वपूर्ण सदस्य रहे । राजुकाजी शाक्यको कप्तानीमा नेपालले स्वर्ण जितेको थियो । तत्कालीन राष्ट्रिय टोलीका कप्तान शाक्यका अनुसार देवनारायण् अत्यन्तै मिहिनेती र अनुशासित खेलाडी थिए । शाक्यले भने, ‘हेडिङ स्पेलिस्ट देव जसरी भए पनि टिमले जित्नुपर्छ भन्ने भावनामा मैदान उत्रन्थे । यसले गर्दा टिमको मनोबल बढ्थ्यो ।’ देवनारायण उत्कृष्ट डिफेन्डर थिए । टिमलाई आवश्यक पर्दा फ्रि–किक हान्दा वा कर्नर हान्दा हेडिङका लागि विपक्षी डीबक्समा देवलाई प्रयोग गर्ने गरेको शाक्यले सुनाए । उनले साफ खेलकुदमा हेडबाट गोल गरेका छन् ।


राष्ट्रिय टोलीमा १४ वर्षसहित दुई दशक नेपाली फुटबलमा बिताएका देवनारायणले त्यस अवधिमा विभिन्न पाँच विदेशी क्लबबाट पनि व्यावसायिक फुटबल खेले । मलेसियाको परलिस्ट एफसी, भारतको इस्ट बंगाल र मोहमडन स्पोर्टिङ क्लव, बंगलादेशको वारिक र फराहगन्ज क्लबमा उनले खेलेका थिए । देवनारायणले स्वदेशमा भएका राष्ट्रिय र क्लब स्तरका प्रतियोगितामा गरेका गोलसंख्या यकिन छैन । तर उनले मुलुकका लागि दुई अन्तर्राष्ट्रिय गोल गरेका छन् । त्यो दुवै हेडिङबाट थिए । देवनारायणले २०६१ सालमा फुटबलबाट संन्यास लिएका हुन् । खेलजीवनमा विभिन्न पदकले छोपिएका उनी राजा वीरेन्द्रको हातबाट गोर्खा दक्षिणबाहुबाट पनि सम्मानित भएका थिए । फुटबलबाट संन्यास लिँदा तत्कालीन युवराज पारसले उनलाई कोट पहिर्‍याइदिएका थिए ।

खेलाडी जीवनबाट संन्यास लिएछि उनी नेपाल प्रहरीको शान्ति मिसनमा सहभागी हुन ६ महिना हाइटी पुगे । त्यहाँबाट फर्किएपछि उनी अमेरिकाको सिकागोतिर लागेका थिए । आफ्नो पढाइ नै फुटबल मान्ने देवनारायण परिवारको आर्थिक अवस्थाकै कारण अमेरिका भासिनुपरेको बताउँछन् । ‘आर्थिक अभावले मैले पढन पाइनँ,’ उनले भने, ‘छोरालाई उच्च शिक्षा दिन र परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन म अमेरिका आएको हुँ । अब चाँडै स्वदेश फर्केर फुटबलमै समय बिताउने सोच छ ।’ अमेरिकामा रहेका उनले सुनाए, ‘मैले अहिले दुःखजिलो गरेर केही कमाएको छु, सबैको साथ र सहयोग रह्यो भने आफैं क्लब खोलेर (एकेडेमी चलाएर) नेपाली खेलाडीलाई प्रशिक्षण दिने उद्देश्य छ ।’

प्रकाशित : भाद्र १७, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङ बन्द

दुर्गालाल केसी

दाङ — एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङ बन्द गरिएको छ । शान्ति सुरक्षा मुद्दालगायत अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बुधबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा कार्यरत एक अधिकृतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

शुक्रबार घर बिदामा गएका ती कर्मचारीलाई ज्वरो आएपछि चितवनमा गरीएको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रशासनका अन्य कर्मचारीको पीसीआर परिक्षण गर्ने तयारी भइरहेको रिजालले बताए ।

प्रकाशित : भाद्र १७, २०७७ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×