विश्‍व र एसिया-११ शृंखला स्थगित- खेलकुद - कान्तिपुर समाचार

विश्‍व र एसिया-११ शृंखला स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्न लागेको विश्व–११ र एसिया–११ बीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित गरिएको छ । यो शृंखलामा नेपालका सन्दीप लामिछाने एसिया–११ को टिममा परेका थिए ।

बंगलादेश क्रिकेट बोर्डले राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजना गर्ने शृंखलाको खेल मार्च २१ र २२ मा ढाकामा हुँदै थियो । शृंखलामा विराट कोहली, क्रिस गेल, लासिथ मालिङगालगायतका सुपरस्टार क्रिकेटर सहभागी हुँदैथिए । तर बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष नाजमुल हसनले बुधबार अर्को जानकारी नभएसम्मका लागि शृंखला स्थगित गरिएको घोषणा गरेका छन् । बोर्डले शेर–ए–बंगला राष्ट्रिय रंगशालामा पूर्वघोषित विश्वविख्यात भारतीय संगीतकार एआर रहमानको कन्सर्ट पनि स्थगित गरेको छ । यो कन्सर्ट पनि राष्ट्रपिताको जन्मशताब्दी समारोहकै एउटा हिस्सा थियो ।


‘हामीले सानो स्तरमा पनि कन्सर्ट आयोजना गर्न सक्थ्यौं । तर त्यसो गरेनौं,’ बीसीबीका अध्यक्ष हसनले थपे, ‘मार्च १८ मा कन्सर्ट हुने छैन तथा २१ र २२ को खेल पनि प्रभावित हुनेछ। यो शृंखलाका लागि विश्वभरबाट खेलाडी आउनसक्ने ग्यारेन्टी छैन । यहाँ विभिन्न किसिमका बाधाहरू छन् । त्यसैले हामीले दुवै कार्यक्रम स्थगित गरेका छौं । अवस्थामा सुधार आएपछि अर्को महिना यो कार्यक्रम आयोजना हुनेछ ।’


हसनले ५० ओभरको घरेलु प्रतियोगिता ढाका प्रिमियर लिग भने निर्धारित समयमै आयोजना हुने प्रस्ट पारेका छन् । खेलका क्रममा अत्यधिक दर्शकको चाप नहुने भएकाले स्थगित नगरिएको उनको तर्क छ । यो प्रतियोगिता ढाकाबाट चटगाउँमा र कक्सबजारमा स्थानान्तरण गरिएका छन् ।


कोरोना भाइरसको त्रासका कारण शेर–ए–बंगला रंगशालामा जारी बंगलादेश र जिम्बावेबीचको ट्वान्टी–२० शृंखलाका लागि कुनै पनि टिकट बिक्री गरिएको छैन ।

प्रकाशित : फाल्गुन २९, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

आर्सनलका खेलाडी क्‍वारेन्टाइनमा

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले बुधबार राति आर्सनललाई आतिथ्यता गर्ने खेल रद्द गरिएको छ । आर्सनलका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । इंग्लिस प्रिमियर लिगमा कोरोना भाइरसका कारण रद्द भएको यो पहिलो खेल हो । 

आर्सनलका खेलाडी र चार कर्मचारीलाई उनीहरूको घरबाट पृथक राखिएको छ । उनीहरू सबै ग्रिक क्लब ओलम्पियाकोजका अध्यक्षको सम्पर्कमा आएका थिए । ती अध्यक्ष कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित पाइएको छ ।

आर्सनलले भनेको छ, ‘सरकारले तय गरेको आचारसंहितालाई हामी कडाइसँग लागू गरिरहेका छौं । कोरोना भाइरस भएको व्यक्तिसँग सम्पर्कमा रहेका कसैलाई पनि १४ दिन आफ्नो घरबाट टाढा अलगै राख्नुपर्ने नियमअनुसार हामीले त्यही काम गरेका छौं । बुधबार राति म्यानचेस्टर सिटीविरुद्ध हुने खेलका लागि ती कोही पनि खेलाडी उपलब्ध हुन सक्दैनन् । त्यसैले प्रिमियर लिगले यो खेल रद्द गर्ने निर्णय गरेको हो ।’

प्रिमियर लिगका पूरा विश्वकपमा करोडौं प्रशंसक रहेका छन् । यति ठूलो खेल रद्द हुनुलाई कोरोना भाइरसले प्रभावित गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अवस्था मानिएको छ । फेब्रुअरीको अन्त्यतिर युरोपा लिगको खेलमा आर्सनलको चुनौती ओलम्पियाकोजले समाप्त पारेको थियो । त्यस ग्रिक क्लबसँगै इंग्ल्यान्डको नटिङ्घम फरेस्टका मालिक भेनगेलिस मारिनकिसले आफू कोराना भाइरसबाट संक्रमित भएको बताएका थिए । आर्सनलका खेलाडी र कर्मचारीले इमिरेट्स स्टेडियममा भएको खेलपछि भेटेका थिए ।

उनीहरू शुक्रबार ब्राइटनको खेलअगाडि भने उपलब्ध हुन सक्नेछन् । क्लबले भनेको छ, ‘हाम्रो चिकित्सकीय टोली उनीहरू कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना निकै कम रहेको पनि बताएका छन् ।’ प्रिमियर लिगले अन्य खेल सार्ने कुनै योजना भने नभएको बताएको छ । इटालीको सिरी ‘ए’ र अन्य प्रमुख खेल सबै रोकिएका छन् भने स्पेन र फ्रान्समा कम्तीमा दुई साताका खेलहरू दर्शकविहीन बन्द रंगशालामा हुनेछन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×