रोहित चन्द थप दुई वर्ष पर्सिजामै

राजु घिसिङ

काठमाडौँ — नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको माथिल्लो डिभिजनको क्लब पर्सिजा जकार्तासँग थप दुई वर्षे सम्झौता गर्न सहमत भएका छन् ।

रोहित चन्द थप दुई वर्ष पर्सिजामै


रोहितका एजेन्ट रत्न मुस्टिकाले जकार्ताबाट भनिन्, ‘रोहितको पर्सिजासँग दुई वर्षे सम्झौता गर्ने सहमति भइसकेको छ । सम्झौता–पत्रमा शुक्रबार हस्ताक्षर हुँदैछ ।’ उनका दाई रवीन्द्र चन्दले पनि रोहितको नयाँ अनुबन्धलाई पुष्टि गरे, ‘पछिल्लो सिजन सकिएलगत्तै पर्सिजाले तीन वर्षे सम्झौताको प्रस्ताव गरेको थियो । हामी दुई वर्षको लागि तयार भयौं र यसैमा सम्झौता गर्ने मौखिक सहमति भएको छ ।’


सन् २०१९ को सिजन सकिएलगत्तै पुस दोस्रो साता स्वदेश फर्किएका रोहित अस्ट्रेलियाको पाँच दिने भ्रमणपछि मंगलबार जकार्ता पुगिसकेका छन् । पर्सिजाले नयाँ सिजनको लागि ट्रेनिङ थालिसकेको थियो र रोहित बुधबारदेखि टिमसँगै प्रशिक्षणमा सहभागी भइसकेका छन् । त्यसअघि नयाँ प्रशिक्षक सर्जियो फारियसले रोहितको फिटनेस परिक्षण पनि गरेका थिए । उनलाई इन्डोनेसियाको सबभन्दा प्रतिष्ठित प्रतियागिता ‘लिग वान’का अरु क्लबले पनि अनुबन्ध गर्ने प्रस्ताव गरेका थिए ।


रोहित पर्सिजाको ट्रेनिङमा फर्किएको भन्दै क्लबले बुधबार नै सामाजिक सञ्जालमा उनको फोटो पनि अपलोड गरेको थियो । फिटनेस परिक्षणको भिडियो पनि सार्वजनिक गरेको थियो । पीएसपीएस पेकनबरुमा आबद्ध हुँदै सन् २०१२ मा इन्डोनेसिया पुगेका रोहितलाई २०१३ मा पर्सिजाले भित्रयाएको थियो । उनी २०१५ मा मलेसियन सुपरलिग क्लब टी–टिममा पुगे पनि घुँडाको शल्यक्रिया गरेपछि एक वर्ष बढी मैदानबाहिरै रहे ।


त्यसपछि पुनरागमन गर्दै उनी २०१७ मा पर्सिजामै अनुबन्धित भएका थिए । त्यसयता करिअरकै उत्कृष्ट लयमा देखिएका उनी पर्सिजा लिग वान २०१८ को च्याम्पियन हुँदा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।


खराब सिजन २०१९


पर्सिजाले अघिल्लो सिजनकै लयलाई २०१९ मा कायम राख्न सकेन । पछिल्लो सिजन पर्सिजा ११ जित, ११ बराबरी र १२ हारको नतिजासँगै दसौं स्थानमा रह्यो । पर्सिजा च्याम्पियन भएको बाली युनाइटेडसँग २० अंक अन्तरमा रह्यो ।


पर्सिजा डिफेन्डिङ च्याम्पियन भएर पनि प्रेसिडेन्ट कपको क्वाटरफाइनलमै रोकिएको थियो । पर्सिजाले इन्डोनेसियन कपको फाइनलमा पीएसएमविरुद्ध पहिलो लेग १–० ले आफ्ना पक्षमा परोपनि ‘अवे’मा २–० ले हारेपछि उपाधि गुमाएको थियो ।


एएफसी च्याम्पियन्स लिग छनोटको दोस्रो खेलमा अस्ट्रेलियाको न्युकासल जेट्सविरुद्ध अतिरिक्त समयमा हारेको पर्सिजा एएफसी कपको समूह चरणबाटै बाहिरियो ।


नतिजा र उपलब्धिको हिसाबले पर्सिजा २०१९ मा असफल नै भयो । यसबीच पनि रोहित क्लबको लागि सिजनमा सर्वाधिक पास (८६२) खेल्ने र सबभन्दा बढी ट्याकल (१२७) गर्ने खेलाडी भए । उनले लिगमा ३४ मध्ये ३१ खेल खेल्दै २ गोल पनि गरेका थिए । उनको नयाँ अनुबन्ध १५ जनवरी २०२० देखि १४ जनवरी २०२२ सम्मको रहने बताइएको छ ।


२८ वर्षीय उनले २०६६ सालमा मछिन्द्र क्लबबाट करिअर सुरु गरेका थिए । अर्को सिजन नै भारतको आई लिग क्लब हिन्दुस्तान एरोनटिक्स लिमिटेडबाट झण्डै दुई सिजन खेलेपछि उनको गन्तव्य इन्डोनेसिया बन्यो । यसबीच उनलाई इंग्लिस प्रिमियर लिग क्लब आर्सनल र टोटेनहमको एकेडेमीले लिने हल्ला पनि चल्यो । २०१३ को अन्त्यतिर डेनमार्कको सुपरलिग क्लब भेस्जल्यान्डले ‘रिजर्व टिम’मा अनुबन्धको प्रस्तावलाई अस्वीकार गर्द उनी पर्सिजा फर्किएका थिए ।


रोहितले पर्सिजाबाट डच क्लब आयाक्स र स्पेनी ला लिगाको टिम एस्पानयोलविरुद्ध खेलिसकेका छन् । घरेलु लिगमा इन्डोनेसियाको लिग वानलाई पर्सिजाले बुधबारमात्रै स्पेनको माथिल्लो डिभिजन क्लब डेपोर्टिभो आलभेससँग सहकार्य गर्ने सम्झौता गरेको थियो । आलभेस ला लिगाको १४ औं स्थानमा रहेको छ ।


नयाँ प्रशिक्षक


पर्सिजालाई उपाधि दिलाएका ब्राजिली प्रशिक्षक स्टेफनो स्युगुराले नै बालीलाई पहिलोपल्ट लिग च्याम्पियन बनाएका हुन् । उनी बाहिरिएपछि संकटमा परेको पर्सिजाले एउटै सिजन (२०१९) बुल्गेरियाली इभान कोलेभ, स्पेनी जुलिया साएज र ब्राजिली एड्सन टाभारेसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दियो । सिजनको अन्त्यतिर आएर पर्सिजाले केही सुधारिएको प्रदर्शन गरेको थियो ।

गत सेप्टेम्बरमा भित्रिएका टाभारेसको सम्झौता सिजनको समाप्तिसँगै सकियो र उनी लिग वानकै अर्को क्लब बोर्नेओमा आबद्ध भइसकेका छन् । पर्सिजाले ब्राजिलकै सर्जियो फारियसलाई नयाँ सिजनको लागि भित्रयाएको छ ।


इजिप्टको प्रिमियर लिग क्लब एल गइस गत नोभेम्बरमा छाडेका उनी ब्राजिलको यू–१७ र यू–२० राष्ट्रिय टिमका पर्वप्रशिक्षक पनि हुन् । इन्डिन सुपरलिगको नर्थ–इस्ट युनाइटेड २०१६ मा सम्हालेका ५२ वर्षीय उनले दक्षिण कोरियाली क्लब पोहाङ स्टिलर्सलाई एएफसी च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।


ब्राजिल, चीन, दुबई, साउदी अरबिया र सुडानका विभिन्न क्लब पनि सम्हालिसकेका फारियसलाई अहिले इन्डोनेसयन फुटबलकै ‘हेभिवेट’ प्रशिक्षक मानिएको छ । पर्सिजाले गएको सिजन लिग वानमा सर्वाधिक २८ गोल गरेका क्रोएसियन फरवार्ड मार्को सिमिकको करार थपिसकेको छ भने एएस रोमा र युभेन्ट्सबाट खेलिसकेका इटालियन डिफेन्डर मार्को मोटालाई पनि भित्रयाएको छ ।


प्रकाशित : माघ ९, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?