बेइजिङमा खारिँदै भूमिराज

असार २, २०७४

राजु घिसिङ

काठमाडौं — नेपाल पुलिस क्लबका म्याराथन धावक भूमिराज राई चिनियाँ राजधानी बेइजिङ पुगेको चार महिना भइसकेको छ । वासिङटनलाई उछिन्ने दाउमा रहेको बेइजिङका विभिन्न रंगशालामा उनी दैनिक ३५ देखि ५५ किलोमिटरसम्म दौडिरहेका छन् ।

नेपाल पुलिस क्लबका म्याराथन धावक भूमिराज राई चिनियाँ राजधानी बेइजिङ पुगेको चार महिना भइसकेको छ । वासिङटनलाई उछिन्ने दाउमा रहेको बेइजिङका विभिन्न रंगशालामा उनी दैनिक ३५ देखि ५५ किलोमिटरसम्म दौडिरहेका छन् ।

‘ट्रेनिङ नेपालमा गरेभन्दा अलि फरक छ र गाह्रो पनि । धेरै गाह्रो,’ २८ वर्षीय भूमिराजले बेइजिङबाट भने, ‘दैनिक तीनदेखि पाँच घण्टासम्म दौड्नुपर्छ । दिनहुँ ट्रेनिङको तालिका फेरिइरहन्छ । त्यसको जानकारी प्रशिक्षकले अघिल्लो दिनमात्र गराउँछन् । ट्रेनिङ पनि विभिन्न स्टेडियम (रंगशाला) मा हुन्छ ।’ उनी नेपालमा छँदा दैनिक ३० देखि ४५ किमिसम्म दौडन्थें । अहिले चिनियाँ प्रशिक्षक वाङ लीको रेखदेखमा ५–१० किमि बढी दौडिनु उनको दैनिकी हो ।

‘नेपालमा यति धेरै मिहिनेत गरेको अनुभव त छ तर बेइजिङको ट्रेनिङ फरक छ । निश्चित लक्ष्य बनाएर प्रशिक्षण गरिरहेको छु । अब राम्रो गर्ने हेतुले अघि बढिरहेको छु । सन् २०१८ भित्र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ । मेरो मुख्य योजना नै यही हो,’ उनले भने । वैकुण्ठ मानन्धरले दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स/हाल साग) मा लगातार तेस्रो स्वर्णपदक जित्ने क्रममा सन् १९८७ मा कोलकातामा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा ४२.१९ किमि पूरा गरेका थिए । त्यो नै नेपालको राष्ट्रिय कीर्तिमान हो । दक्षिण एसियामै अहिलेसम्मको सबैभन्दा राम्रो समय पनि ।

भूमिराजले गत वर्ष राजधानीमै भएको दसौं काठमाडौं म्याराथनमा २ घण्टा २० मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हात पारेका थिए । उनको करिअरकै उत्कृष्ट समय त्यही हो । त्यसैका आधारमा उनले इन्टरनेसनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेसन्स (आईएएएफ) को बेइजिङस्थित क्षेत्रीय विकास केन्द्रमा ६ महिना प्रशिक्षण गर्ने अवसर पाएका हुन् । उनी जिम पनि गर्छन् । त्यहीं केन्द्रमा बनाइएको तालिकाअनुसार खाना खान्छन् ।

उनले सन् २०१८ भित्र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका छन् । ‘अहिले दुई घण्टा १५–१६ मिनेटभित्र पूरा गर्ने तरिकाले प्रशिक्षण गरिरहेको छु । तुरुन्तै प्रतिस्पर्धा भयो भने कम्तीमा २ घण्टा १७ मिनेटसम्म म्याराथन पूरा गर्नेछु । त्यसैले लागि प्रयास गर्नेछु,’ पूर्वी पहाडी जिल्ला पाँचथरस्थित लालीखर्क, फिदिमका उनले भने । उनीसँगै बेइजिङमा मंगोलिया र कम्बोडियाका एक–एक धावकले पनि प्रशिक्षण गरिरहेका छन् ।

१६ औं आईएएएफ वर्ल्ड च्याम्पियनसिप २०१७ अगस्ट ४–१३ मा लन्डनमा आयोजना हुँदै छ । आईएएएफको मापदण्डअनुसार २ घण्टा २० मिनेटमा म्याराथन पूरा गरेर छात्रवृत्ति पाएको र लामो दूरीमा नेपालकै सबैभन्दा राम्रो धावक भएकाले उनले नै वर्ल्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना छ । ‘नेपाली खेलाडी वर्ल्ड च्याम्पियनसिपमा छनोटको सबैभन्दा नजिक रहेको स्पर्धा म्याराथन हो र यसमा सबैभन्दा राम्रो समय भूमिराजकै छ । त्यसैले उनले बेइजिङमा प्रशिक्षण गर्ने मौका पाएका हुन्,’ नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले भने । म्याराथनमा छनोटका लागि न्युनतम समय २ घण्टा १९ मिनेट तोकिएको छ । छनोट नभएका देशले अनिवार्य सहभागी हुनुपर्ने प्रावधानअनुसार एक खेलाडीलाई वर्ल्ड च्याम्पियनसिपमा पठाउनुपर्छ ।

पाँचवर्षे करिअर
यो वर्ष हिउँदमा हुने मुम्बई म्याराथनमा सहभागी बन्ने योजना बनाएका भूमिराज अहिले नेपाल प्रहरीका जवान हुन् । उनी २०६६ सालमा भर्ती भएका थिए । त्यसअघि नै उनी पूर्वाञ्चलबाट ३५ औं एथलेटिक्स राष्ट्रिय च्याम्पियनसिप २०६२ मा १५ सय मिटर, ५ हजार र १० हजार मिटर दौडमा सहभागी भएका थिए । पछि उनी मध्यम दूरी छाडै म्याराथनमा लागे ।

‘दौडमा सहभागी हुँदै जाँदा म्याराथन लोकप्रिय लाग्यो र यसैमा सम्भावना पनि देखें । त्यसैले केही गर्नसक्छु भनी म्याराथनतिर लागें,’ प्रशिक्षणमा सुरुआती दिन आर्मीका चर्चित धावक राजेन्द्र भण्डारीसँगै दौडिएका उनले भने, ‘त्यसबेला शीर्ष विजेतादेखि दसौंसम्म आर्मीका धावक हुन्थे । त्यसलाई तोड्ने चाहना लिएर मिहिनेत गर्न थालें । दुई वर्ष एकदमै मिहिनेत गरेको थिएँ ।’

उनले ४२.१९५ किमिको दूरीमा पहिलोपल्ट २०६९ सालमा छैटौं काठमाडौं म्याराथनमा सहभागिता जनाए । त्यसबेला उनी २ घण्टा ४५ मिनेटसाथ आठौं स्थानमा रहे । उनी सातौं संस्करणमा चौथो भए । म्याराथन दौडिन थालेको दुई वर्षभित्र त च्याम्पियन नै बने । उनले २ घण्टा २६ मिनेट २० सेकेन्डमा पूरा गर्दै आठौं काठमाडौं म्याराथन २०७१ मा स्वर्णपदक हात पारेका थिए । उनले स्वदेशमा प्रतिस्पर्धा गरेका सातमध्ये पाँच म्याराथनको उपाधि जितेका छन् । उनलाई घरेलु कोर्समा एपीएफका गोपीचन्द्र पार्की, आर्मीका कृष्ण बस्नेत, होमलाल श्रेष्ठ, राजन खत्रीले चुनौती दिने गरेका छन् ।

स्वदेशमा सहभागी पछिल्ला पाँच म्याराथनको उपाधि जितेका उनी सन् २०१५ जनवरीमा हङकङमा भएको एसियन म्याराथन च्याम्पियनसिपमा उनी पाँचौं भएका थिए । २ घण्टा २४ मिनेट ५८ सेकेन्डमा दौ पूरा गर्दै उनले पहिलो अन्तर्राष्ट्रिय सहभागीतामै ‘डिप्लोमा सर्टिफिकेट’ हात पारेका थिए । यसलाई नेपाली एथलेटिक्समा ठूलै उपलब्धि मानिन्छ । गुवाहटी–सिलोङमा फागुन २०७२ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने उनको प्रदर्शन राम्रो भएन । उनी २ घण्टा ३२ मिनेट २१ सेकेन्डसहित पाँचौंमा रहेका थिए । त्यसबेला उनले २ घण्टा १६ मिनेटमा दौड पूरा गर्ने लक्ष्य बनाएका थिए ।

प्रशिक्षकहरू सुशील नरसिंह राणा र रघुराज वन्तबाट प्रभावित भूमिराज लिगलिगे दौडको पहिलो संस्करणका विजेता पनि हुन् । प्रहरीको ६ महिने आधारभूत तालिमपछि उनी खेलाडी बनेका हुन् । तालिममा छँदा फुटबल खेल्ने क्रममा उनको दाँया खुट्टा भाँचियो । ‘त्यसमा अहिले कुनै समस्या छैन, ठीक छ,’ त्यही खुट्टाको सहयोगमा छिटो–छिटो पाइला चलिरहेका उनले भने ।

राजु

Link copied successfully