स्वयंसेवीले बनाउँदैछन् स्केटिङ पुर्वाधार

वैशाख १, २०७४

भीम घिमिरे

पोखरा — सन् २०२० को जापानमा हुने ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाउँदै छ । यसका खेलाडी स्पर्धाका लागि संसारका विभिन्न देशमा उत्साहित रहेका बेला अब नेपालीले पनि अभ्यास गर्न सहज हुने भएको छ ।

सन् २०२० को जापानमा हुने ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाउँदै छ । यसका खेलाडी स्पर्धाका लागि संसारका विभिन्न देशमा उत्साहित रहेका बेला अब नेपालीले पनि अभ्यास गर्न सहज हुने भएको छ । 

पोखरा रंगशालाभित्र मोटसाइकल प्रशिक्षणका लागि प्रयोग हुँदै आएको जमिनमा स्केटिङको पुर्वाधार निर्माण सुरू भएपनि अभ्यास गर्न चाहने रमाएका छन् । क्षेत्रीय खेलकुद विकास समितिले जग्गा उपलब्ध गराएपछि एक सातादेखि अमेरिका, अष्ट्रेलिया, जापान, क्यानाडा, फ्रान्स, रसिया, जर्मनी, बेलायत, नर्वे, बेल्जियम र भारतका खेलाडी पुर्वाधार बनाउन जुटेका छन् । 

अपरेसन म्यानेजर जोन चाकोनासले भने ‘हामी नेपालको काठमाडौं, पोखरा र चितवनसँग परिचित छौं । हामी स्केटिङ खेल्नेलाई स्वयंसेवीका रूपमा सघाउन आएका हौं ।’ पुर्वाधार निर्माणका लागि २० हजार डलर खर्च लाग्ने उनले बताए । ‘मजदुरीको खर्च जोगाइदिन हामी आफैं विभिन्न देशबाट ३० जना आएर काम गरिरहेका छौं,’ उनले भने, ‘ओलम्पिकमा पनि अब स्केटिङ समावेश हुने भएकाले हामी जहाँ खेल्नेहरू छन् तर, पुर्वाधार छैनन्, त्यहाँ सघाउने रणनीतिमा छौं ।’

स्वयंसेवीहरूमा विभिन्न पेशामा आवद्धहरू छन् । पोखराका लागि स्केटिङ पुर्वाधार डिजाइन गरेका वेड ट्रिभीन को भनाइमा स्वयंसेवी सबै मिलेर कामलाई तीन सतामै सम्पन्न गर्ने लक्ष्य छ । 

पर्यटकीय नगर भएकाले पोखरा आउने पर्यटकको स्केटिङ खेलमाथिको रुचिलाई आम्दानीको माध्यम बनाउने पर्यटनव्यवसायी पनि छन् ।  यहाँको खहरेस्थित एक रिसोर्टले स्केटिङ पुर्वाधार बनाएको छ । निजी लगानी र प्रयोजनको उक्त स्केटिङ ग्राउण्डमा मजा लिने पर्यटक नै सार्वजनिक अभ्यासको ठाउँ बनाइदिन अघि सरेका हुन् ।

नेपाल ओलिम्पक कमिटी सदस्य तेज गुरूङ भन्छन् ‘पोखरामा खेल्नेहरू भएपनि रोलर स्केटले खेलको मान्यता पाएको अवस्था छैन । पुर्वाधार बनेपछि नयाँ खेल थपिने भयो ।’ रंगशालाको स्केटिङ ग्राउण्डले खेलाडी उत्पादनमा सघाउनुका साथै प्रतियोगिता आयोजनाका लागि पोखरामा पुर्वाधार छ भन्न पाइने भएको बताए ।  

क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले रुचि राख्नेका लागि स्केटिङ ग्राउण्ड अभ्यास गर्न पाइने थलो बन्ने बताए । ‘हामीले ठाउँ दिएका हौं, सबै काम विदेशी भोलन्टियरहरूले आफैं गरिरहेका छन्,’ उनले भने, ‘यो टोली अष्ट्रेलियामा यस्तै काम गर्दागर्दै नेपाल आइपुगेको हो ।’ स्वयंसेवीले बनाइदिने पुर्वाधारपछि पनि दर्शकदीर्घा बनाउन जग्गा छाडिएको उनले बताए । ‘यो खेलको अभ्यास र प्रतियोगिताको क्रम बढ्दा हामीसँग प्यारापिट बनाउने ठाउँ पनि छ,’ उनले भने, ‘खेल नै नौलो छ । खेलाडी संगठीत रहेको सुनिएको पनि छैन तर, रहर गर्नेहरू थुप्रै छन् ।’ 

भीम

Link copied successfully