नक्कली कागजातका भरमा अनुमति लिएर वन फडानी

'किर्ते कागजात बुझाएर वन डिभिजन कार्यालय मंगलसेनबाट अनुमति लिनेमा वन उपभोक्ता समितिकै सचिव'

चैत्र १८, २०८१

मेनुका ढुंगाना

Forest felling with permission based on fake documents

अछाम — कमलबजार नगरपालिका-५ मा रहेको पाँचुल्ली वनमा किर्ते कागजातका भरमा वन पैदावारको अनुमति ल्याएर वन फडानी गरिएको खुलेको छ । पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई सोही कागजातका आधारमा वन डिभिजन कार्यालय मंगलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी सुरु भएको हो । यसरी अनुमति लिन पेस गरिएको कागजात नक्कली भएको र यस्तो काम समितिका सचिव छत्रराज तिमिल्सैनाको नेतृत्वबाट भएको खुलेको छ ।

सामुदायिक वन उपभोक्ता समितिले फागुन १२ गते साधारणसभा गरेर वन पैदावार बिक्री गर्ने निर्णय भएको कागजात वन डिभिजन कार्यालयमा पेश गरेपछि १३ हजार केजी चोत्रो पैदावारका लागि सहमति दिएको थियो  ।

वन समितिका अध्यक्ष जय प्रकाश उपाध्यायले आफू ६ महिनादेखि जिल्लाबाहिर रहेकाले समितिको बैठक र सो मितिमा साधारणसभा नभएको बताए । ‘एक वर्षअगाडि भएको भेलाको उपस्थितिलाई फागुन १२ गतेको साधारणसभा भनेर कागजात तयार पारिएको रहेछ । वन समितिको अध्यक्ष म हो । ६ महिनादेखि म कैलाली छु । किर्ते कागजात तयार पारेर वन पैदावारको सहमति लिएको मैलै पनि भरखरै थाहा पाएको हुँ,’ उनले भने ।

एक वर्षअगाडि वनको भेलामा गरेको हस्ताक्षरलाई दुरुपयोग गरेर वन पैदावारको सहमति लिइएको कमलबजार-५ का खगेन्द्र उपाध्यायले बताए । ‘वन समितिका सचिवले डिभिजन वन कार्यालयमा बुझाएको कागजातमा फागुन १२ गते साधारणसभा गरेको भनेर मेरो पनि हस्ताक्षर देखेँ । पहिलेको उपस्थितिको दुरुपयोग गरियो,’ उनले भने, ‘किर्ते कागजात बनाएर वन पैदावार गर्ने सबैमाथि अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्छ ।’

नक्कली कागजात बनाएर १३ हजार केजी चोत्रा पैदावारको सहमति ल्याएको र गाउँमा ४५ हजार केजी पैदावार गर्ने इजाजत छ भनेर सर्वसाधारणलाई वन समितिका मान्छेले नै झुक्याउने गरेको अर्का स्थानीय तपेन्द्र खत्रीले बताए । ‘वन समितिका मान्छे र अन्य सरोकारवालाको संलग्नतामा अवैध तरिकाले वन पैदावार भइरहेको छ । फागुन १२ गते भएको भनिएको साधारणसभामा मेरो हस्ताक्षर पनि राखिएको छ,’ उनले भने, ‘एक वर्षअगाडि सामुदायिक वनलाई नवीकरण गर्ने लगायतका विषयमा छलफल गर्न भेला बोलाइएको थियो । चोत्रा पैदावार गर्नेसम्बन्धी त्यो बेला पनि कुनै निर्णय भएको थिएन ।’

Forest felling with permission based on fake documents

वन समितिका सचिव छत्रराज तिमिल्सैनाले किर्ते कागजात बनाएर वन पैदावरको सहमति लिएको कमलबजार-५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले बताए । ‘किर्ते कागजात बनाएर वन पैदावर बनाएको विषयमा मैले वन समितिको सचिवलाई सोधेको थिएँ । वनपालेको तलब दिन पनि बाँकी रहेकाले यसबाट आम्दानी हुन्छ भनेर सामान्य सोचेर बनाइएको हुँ भन्ने जवाफ दिएका छन्,’ उनले भने, ‘यो विषय बाहिर आइसकेपछि ककसको संलग्नता छ भनेर मेरो नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाउने विषयमा वन डिभिजनसँग सल्लाह  भइरहेको छ ।’ पाँचुल्ली वनबाट चोत्रा निकाल्ने र नेपालगन्जतिरका केही ठेकदारमार्फत बेच्ने सल्लाह भएको जानकारी दिएको उनले बताए ।

सामुदायिक वन उपभोक्ता समितिका सचिवले नै ल्याएको कागजातमाथि विश्वास गरेर वन पैदावारका लागि अनुमति दिइएको डिभिजन वन कार्यालय अछामका अधिकृत गणेश ठगुन्नाले बताए । ‘साधारणसभाबाट निर्णय भएको कागजात ल्याएर वन समितिका सचिव नै आएकाले उनले ल्याएका कागजातमाथि बढी विश्वास गरेर अनुमति दिएका हौं,’ उनले भने , ‘सक्कली निर्णयबाट फोटोकपी गरेर ल्याएको हो भन्ने जवाफ दिए । हामीले सक्कली डकुमेन्ट हेर्नुपर्ने त हो तर बढी विश्वास गर्दा हामी चुक्यौं ।’

नक्कली काजगात बनाएर वन अनुमति लिइएको भन्ने सूचना पाउनेबित्तिकै चोत्रा फडानीको काम रोकेको उनले बताए । उनका अनुसार सोही वडाका वडाध्यक्षको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएर प्रतिवेदन तयार पार्ने र सोही प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने तयारी छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा समितिका सचिव छत्रराज तिमिल्सैनासँग सम्पर्क हुन सकेन ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully