द्रुतमार्गमा बजेट परेपछि स्थानीयमा खुसियाली

माघ ४, २०८१

मोहन शाही

Locals are happy after the budget on the expressway

डोटी — सुदूरपश्चिमका चार पहाडी जिल्लालाई साबिकको सडक भन्दा आधा दुरी छोटो हुने धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना (द्रुतमार्ग) मा एक अर्ब बजेटका लागि अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेपछि स्थानीयमा खुसीयाली छाएको छ ।

०६४ सालबाट पहाडी जिल्लाका बासिन्दाको मुख्य माग रहँदै आएको यो सडकको निर्माण कार्य बजेट अभावले सुस्त भइरहेको थियो । काममा सुस्तता आउन थालेपछि नेता र जनप्रतिनिधि माथि चर्को दबाव दिइरहेका स्थानीयबासी स्रोत सहमति दिएको खबर बाहिरिँदा बुधबारदेखि सामाजिक संजालमा खुसी प्रकट गरिरहेका छन् ।

‘प्रदेश राजधानी पहाडमा नरहेपछि द्रुतमार्गको काम चाँडो सक्न माग गर्दै आएका थियौं’, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले भने, ‘अहिले दुई सय किलोमिटर यात्रा गरेर डडेल्धुरा हुँदै धनगढी झर्नुपर्ने अवस्था छ । द्रुतमार्गले हामी आधा भन्दा बढी दुरी छोट्याउने हुँदा हाम्रो मुख्य माग थियो ।’

अध्यक्ष साउँदले बजेट परेको खबरले हर्षित तुल्याएको बताए । निर्माण व्यवसायी संघका उपाध्यक्ष रमेश खडायतले बजेटको कार्यान्वयन यथाशीघ्र हुनुपर्नेमा जोड दिए । बजेट अभावकै कारण अलपत्र परेको आयोजनामा स्रोत सहमति प्रदान भएको खबरले पहाडी जिल्लाका बासिन्दामा खुसियाली छाउनु स्वभाविक रहेको बताउँदै खडायतले त्यसको कार्यान्वयनमा समेत दबाव दिनुपर्ने बताए ।

उक्त आयोजना निर्माण पश्चात डोटी, अछाम, बाजुरा, बझाङका बासिन्दालाई सुदूरपश्चिम प्रदेश राजधानी धनगढीसम्मको दुरी आधा घट्ने छ । स्रोत सहमति पाए लगत्तै धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक आयोजना कार्यालय धनगढीले प्रक्रिया अघि बढाएको इञ्जिनियर दिनेश रैखोलाले बताए । इञ्जिनियर रैखोलाका अनुसार यसपाली कैलालीको हाटखोलीदेखि डोटीको बिपीनगरसम्म पर्ने २५ किलोमिटर कालोपत्र गर्ने तयारी आयोजनाले गरेको छ ।

ट्रयाक खोलिसकिएको भए पनि बर्षातमा पहिरो जाँदा सवारीसाधन भने चल्न सकेका छैनन् । ‘यसबर्षको जिल्ला दररेट राखेर यो महिनाभरी लागत स्टिमेट स्वीकृत गर्छौ’ इञ्जिनियर रैखोलाले भने, ‘स्टिमेट अपुग भयो भने कुनै पार्ट हटाएर भए पनि हाटखोलीदेखि बिपीनगरसम्म कालोपत्र गरिहाल्ने तयारीमा छौं ।’

धनगढीदेखि दिपायलसम्म ९६ किलोमिटर दुरीमध्ये कैलालीमा ४५ किलोमिटर पर्छ भने डोटीमा ५१ किलोमीटर पर्छ । धनगढीदेखि स्याउलेभन्दा ३ किलोमिटर अघिसम्मको १३ किलोमिटर दुरीमा कालोपत्र भइसकेको छ । चालु आर्थिक वर्षमै हाटखोलीसम्मको ७ किलोमीटर कालोपत्र काम भइरहेको इञ्जिनियर रैखोलाले बताए । ‘कालिका बेदान्सी जेभी निर्माण कम्पनीले ठेक्का पाएर काम गरिरहेको छ’, इञ्जिनियर रैखोलाले बताए ।

उता डोटीमा पर्ने ५१ किलोमिटरमध्ये राजपुरदेखि सलेना सडकखण्डको १५ किलोमिटर यसै वर्षबाट कालोपत्र भइरहेको छ । ७५ करोडमा ठेक्का लगाइएकोमा उक्त सडकमा सिएम–दुनिला–स्वाार जेभी निर्माण कम्पनीले ५८ करोडमा ठेक्का सकारेर काम सुरु गरिसकेको छ ।

उक्त सडकखण्डमा सानाठूला गरी १६ वटा पुल पर्ने आयोजनाले जनाएको छ । १६ मध्य ८ वटा निर्माणाधीन छन् । निर्माणाधीन ८ पुलका लागि २६ करोड बराबरको स्टिमेट भएपछि यस वर्ष ६ करोड ४० लाख मात्र बिनियोजन भएको छ ।

त्यस्तै निर्माण गर्नुपर्ने बाँकी ८ वटा पुलका लागि भने मन्त्रालयले डिपीआर नै तयार पार्न सकेको छैन । कतिपय पुल निर्माण स्थलको माटो परीक्षण समेत नगरिएकाले निर्माणमा भने ढिलाइ हुने अनुमान छ ।

मोहन

Link copied successfully