धनगढी — बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु दुई समूहमा विभाजित भएका छन् । एउटा पक्षले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ भने अर्को समूहले एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने अडान लिएको छ ।
माओवादी केन्द्रले स्वामीकार्तिक गाउँ कमिटीको निर्णय गराएर नेकपा एमालेका उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गर्दै आफ्नो उम्मेदवार राजुकुमारी बिकलाई उम्मेदवारी फिर्ता गराइसकेको छ । तर माओवादी केन्द्रका नेता प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बुधबार गाउँ कमिटीलाई पत्राचार गर्दै आफ्नो पार्टीको उम्मेदवारी फिर्ता भए पनि समर्थन भने एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई गर्न निर्देशन दिएका छन् ।
यता, गाउँ कमिटीका अध्यक्ष रन्दिप बुढाले केन्द्रीय निर्देशनको कुनै औचित्य नभएको बताए । अध्यक्ष बुढाकै भनाइलाई समर्थन गर्दै जिल्ला समन्वय समितिका सचिव रमेश बिकले पनि गाउँ कमिटीले गरेको निर्णय कार्यान्वयन गर्ने, त्यसबापत पार्टीबाट जस्तोसूकै कारबाही व्यहोर्नु परे पनि तयार रहेको बताए । ‘स्वामीकार्तिकको उपाध्यक्षमा एमाले उम्मेदवारलाई नै मतदान गर्छौं, त्यसबापत कारबाही सहनु परे पनि तयार भएर लागेका छौं,’ जिल्ला समन्वय समितिका सचिव बिकले भने ।
अर्कोतिर जिल्ला समन्वय समितिका संयोजक दीपक बुढाले भने पार्टीको समर्थन एकीकृत समाजवादीकी उम्मेदवारलाई रहेको दाबी गरे । ‘प्रदेश इन्चार्जको लिखित निर्देशनसमेत आइसकेको छ । उल्लंघन गरे कारबाही हुन्छ,’ उनले भने । यसरी माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु गाउँदेखि प्रदेशसम्म दुई धारमा विभाजित भएका छन् ।
स्वामीकार्तिकमा एमाले र माओवादी केन्द्रले २०८४ को स्थानीय निर्वाचनका लागि पनि पद बाँडफाँटको समझदारी गर्दै अहिलेको उपचुनावमा तालमेल गरेको बताएका छन् । एमाले स्वामिकार्तिक गाउँ कमिटी अध्यक्ष नवराज कट्टेलले भने ‘०८४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुई वटा वडामा अध्यक्ष दिने समझदारी गरेका छौं ।’
नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा रहेको स्वामीकार्तिकमा एमाले, कांग्रेस र नेकपा (एस) का उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको छ ।
एमाले उम्मेदवार सुलोचना भण्डारी बुढा, कांग्रेसकी पुल्तीसरा शाही र नेकपा (एस) की जवा शाही उम्मेदवार छन् । एमाले उम्मेदवार बुढा ०७९ मा पनि उपाध्यक्षको उम्मेदवार थिइन् ।
