महिनावारी विभेदविरुद्धको अभियानमा धामीझाँक्री

मंसिर ९, २०८१

वसन्तप्रताप सिंह

Dhamijankri in the campaign against menstruation discrimination

बझाङ — ‘छाउ (महिनावारी) हुनु भनेको फूल फुल्नु जस्तै हो । फूल नफुली फल लाग्दैन । छाउ नभइ जायो (सन्तान) जन्मिदैन,’ खप्तडछान्ना गाउँपालिकाका भीमबहादुर थापाले भने, ‘अरू फूल देउतालाई चढ्छ भने छाउ कसरी अशुद्ध हुन्छ ? यो रुढिवादी परम्परा अब हटाउनु पर्छ ।’

६८ वर्षीय थापा सुदूरपश्चिम र कर्णालीमा कुप्रथाका रूपमा चलिरहेको महिनावारी विभेदविरुद्धका न अभियन्ता हुन्, न त कुनै अधिकारकर्मी नै । उनी त लामो समयदेखि छाउप्रथा कायम गरिरहेको भनेर दोष खेपिरहेका धामीझाँक्रीमध्ये एक हुन् ।

लांगा देवताका धामी थापाले स्थानीय महिला तथा किशोरीलाई महिनावारीसँग सम्बन्धित अन्धविश्वास र कुरीति हटाउन उत्प्रेरित गर्ने क्रममा भने, ‘तपाईंहरूलाई छाउ नबार्दा देउता रिसाउँछन् भन्ने भ्रम छ भने त्यो आजैबाट हटाउनु होला । कुनै पनि देउता सृष्टिका विरुद्ध हुनै सक्दैनन् ।’

यसरी महिनावारी विभेदविरुद्धमा खुलेर बोल्ने थापा एक्ला धामी भने होइनन्, उनीसँगै गाउँपालिकाका अन्य वडाका विभिन्न देवताका अरू १० जना धामी र पुजारीहरू खप्तडछान्ना गाउँपालिका-७ लामागडामा यो अन्धविश्वास हटाउनका लागि महिला तथा किशोरीहरूको आत्मबल बढाउँदै थिए । यी धामी र पुजारीहरू पालिकाका विभिन्न वडामा यसरी नै महिनावारीविरुद्ध सचेतना फैलाउने क्रममा यहाँ पुगेका थिए ।

‘महिनावारी भएका बेला सरसफाइमा पो ध्यान दिनु पर्छ । राम्रोसँग सफाइ गरेर घरभित्र बस्दा, मिठो पोसिलो खाँदा देउता रिसाउँदैनन्,’ महालिङ देउताका पुजारी प्रेम रोकायाले भने, ‘बरु त्यसो गर्नु भएन भने महिलाको स्वास्थ्य कमजोर हुन्छ । कलिलै उमेरमा छाउगोठमा बस्दा, पोसिलो खाना नखाँदा बुढेसकालसम्म दुःख पाइन्छ ।’Dhamijankri in the campaign against menstruation discrimination

केही वर्ष पहिलासम्म परिवारको कुनै सदस्य बिरामी हुँदा, घरमा कुनै घटना हुँदा वा गाईभैंसीले राम्रोसँग दुध नदिए पनि महिनावारी भएको महिलाले छोएका कारण भएको भन्ने धामी पुजारीहरू नै त्यसका विरुद्धमा बोलेको सुन्दा लामागडाकी शान्ति रावत अनौठो मान्दै सुनिरहेकी थिइन् ।

‘पहिला केही भएर हेराउन (झारफुक गर्न) गयो भने तेरा घरमा छाउ भएकी महिलाले जथाभावी गरेकाले यस्तो भएको भनेर धामी पुजारीहरू भन्थे,’ केही वर्षदेखि मनमा अलिअलि डर बोकेरै भए पनि महिनावारी भएका बेला घरभित्रै बस्न थालेकी उनले भनिन्, ‘धामी पुजारीले नै केही हुँदैन भन्दा अनौठो पनि लाग्यो । खुसी पनि लाग्यो ।’ उनले धामी पुजारीकै डरले महिनावारी बार्न बाध्य भएका महिलालाई पनि अब कुसंस्कार तोड्ने साहस जुटेको बताइन् । 

महिनावारीका बेला हुने विभिन्न खाले विभेदका कारण महिलाहरूले अमानवीय व्यवहार खेप्नु परेको र सामाजिक विकासमा समेत अवरोध खडा गरेको भन्दै खप्तडछान्ना गाउँपालिका, ग्रिनतारा नेपाल, रिड नेपाललगायत संस्थाले यहाँ धामी पुजारीलगायत समाजका अगुवाहरूलाई महिनावारी विभेदसँग जोडिएका विभेदविरुद्ध सचेतीकरण गर्दै आएका छन् ।

लामो समयदेखि महिनावारीका बारेमा रहेका भ्रमबारे जानकारी गराएपछि अहिले धामी पुजारीहरू नै विभेदविरुद्धको अभियानमा जुटेका हुन् । आफ्नै घरबाट महिनावारी विभेद हटाएपछि मात्रै समाजमा गएर यसका बारेमा बुझाउन थालेको उनीहरूले बताए ।

‘पहिला हामी आफैं पनि भ्रममा थियौं । महिनावारी भएको महिलालाई छोयो भने सबै भ्रष्ट भयो भन्ने सोच्थ्यौं,’ बाँठपाला देउताका धामी नवराज थापाले भने, ‘धेरै ठाउँमा तालिम गोष्ठीमा गयौं । यो त भ्रम मात्रै रहेछ । देउता रिसाउने नाममा आफ्नै छोरीबुहारीमाथि अपराध गरेका रहेछौं भन्ने बुझे पनि पहिला आफ्नै घरमा बार्नु हुन्न भनेर सिकाएँ । अहिले अरूलाई सिकाउँदैछु ।’ उनले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसमा देउता रिसाउने प्रशंग नै नआउने बताए ।

महिनावारी भएको महिलाले दहीदुध खान नहुने, गाईभैंसी छुन नहुनेजस्ता कुरा अन्धविश्वास मात्रै भएकाले त्यस्ता कुरीतिको पछाडि नलाग्न वडा सदस्यसमेत रहेका बाँठपाला देउताका धामी शमशेर रोकायाले बताए । ‘महिनावारी नभएका बेला त्यही मान्छेले दुधदही खान मिल्ने, भएको बेला खान नमिल्ने भन्ने हुँदैन । तपाईंहरू ढुक्कले खानु होला । गाईभैसी आफैं दुहे पनि हुन्छ,’ उनले भने, ‘तपाईंले छोएकै भरमा कसैको गाईभैंसी बिग्रियो भने त्यसको भर्पाई म गरौंला ।’

रोकाया पछिल्लो समय थुप्रै विद्यालयका किशोरी र विभिन्न समुदायमा महिलालाई आफूले महिनावारीविरुद्ध आत्मविश्वास जगाउने काम गरिरहेको भए पनि शदियौंदेखिको अभ्यास छोड्न महिला नै डराइरहेको सुनाए । ‘पहिला धामी पुजारीले नै छाउ बार्नु पर्छ भन्थे । अहिले हामीहरू गएर यो कुप्रथा हो, नबार्नुहोस् भन्छौं तर कतिपय महिलाको डर अझै हट्न सकेको छैन,’ उनले धामी पुजारीहरूले संचालन गरेको यो अभियानका नयाँ पुस्ताका धेरै महिलामा महिनावारी विभेद तोड्ने आत्मविश्वास भने बलियो हुँदै गएको बताए । 

तीन/चार वर्षयता समाजका विभिन्न क्षेत्रका अगुवाहरूको सक्रियताका कारण महिनावारीको बेलामा विभेद गर्ने चलन घट्दै गएको र यसमा धामी पुजारीको महत्त्वपूर्ण भूमिका रहेको खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले बताए ।

‘अरू क्षेत्रबाट पनि यो कुसंस्कार हटाउन विभिन्न संघसंस्थाको सहयोग लिएर काम गरिरहेका छौं तर धामी पुजारीहरूले सुरु गरेको यो स्वस्फुर्त अभियानको प्रभाव अरूभन्दा राम्रो देखिएको छ,’ उनले भने, ‘देउता रिसाउने डरले बार्ने गरिएको थियो । देउताकै धामी पुजारीले यो चलन गलत हो भनेपछि भ्रम हट्दै गएको छ ।’

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully