नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी

२०७४ मा रेशम चौधरी विजयी भएको क्षेत्रमा यसपल्ट उनकै श्रीमती चुनावी मैदानमा
मोहन बुडाऐर

धनगढी — गत स्थानीय तह निर्वाचनमा कैलालीमा दबादबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ । आफ्नो बलियो आधार क्षेत्र मान्दै आएको कैलाली क्षेत्र–१ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।

नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी

उनी अखण्ड थरुहट आन्दोलनका क्रममा टीकापुर क्षेत्रमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीकी श्रीमती हुन् । गत आम निर्वाचनमा कैलाली–१ बाट रेशम नै निर्वाचित भएका थिए । तर, अदालतबाट दोषी ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।

श्रीमान् विजयी भएकै क्षेत्रमा यसपल्ट रञ्जिताले उम्मेदवारी दिएकी हुन् । उनले पाँचदलीय गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्रबहादुर रावलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । गत स्थानीय निर्वाचनमा कैलाली–१ मै पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो । टीकापुरका अधिकांश वडासहित प्रमुख र जानकीमा पनि बहुमत वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उन्मुक्तिले जित हात पारेको थियो ।

यसैगरी, नागरिक उन्मुक्तिले क्षेत्र–२ मा संघतर्फ कांग्रेसबाट प्रवेश गरेका अरुण चौधरी र प्रदेशमा २ (क) एमालेबाट प्रवेश गरेका रतन थापालाई टिकट दिएको छ । २ (ख) मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ ।

कैलाली–३ मा गंगा चौधरीलाई उम्मेदवार बनाएको छ । युवा नेता चौधरी अहिले उन्मुक्तिका केन्द्रीय सदस्य पनि हुन् । यसैगरी, प्रदेशतर्फ ३ (क) मा घनश्याम चौधरी र ‘ख’ मा खुसीराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यही क्षेत्रमा पर्ने भजनी नगरपालिकाका अधिकांश वडासहित प्रमुख उपप्रमुख दुवै पदमा उन्मुक्तिबाटै उम्मेदवार बनेका व्यक्ति आसीन छन् ।

उन्मुक्तिबाट क्षेत्र–४ मा कैया चौधरी प्रतिनिधिसभातर्फ र प्रदेशतर्फ ‘क’ मा राजेन्द्र देवकोटा र ‘ख’ मा कमलप्रसाद भाटको उम्मेदवारी परेको छ भने क्षेत्र–५ मा लक्ष्मण थारूले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदा प्रदेश ‘क’ मा गोठेराम चौधरी र ‘ख’ मा श्रीराम चौधरीलाई उम्मेदवार बनाइएको पार्टी प्रवक्ता दामोदर पण्डितले बताए ।

प्रकाशित : आश्विन २३, २०७९ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?