आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा सल्यानका ९ जनाको मृत्यु

रोजगारीको खोजीमा भारत गएका सल्यान टाकुराका दुई परिवारका ९ सदस्यको आगलागी र सिलिन्डर विस्फोटमा परेर ज्यान गएको हो ।

पुस २९, २०८२

विप्लव महर्जन

9 people from Salyan, India, die in gas cylinder explosion following fire

What you should know

सल्यान — आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।

भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।

घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए । 

उनले धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको बताए । उनका अनुसार सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको छ । 

आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका आफ्नोसहित राजेन्द्र विक, गंगाराम विक र अर्को एक जना गरी चारजनाको परिवार भागेर बच्न सफल भएको उनले जानकारी गराए । ‘अहिले हिमाचल प्रदेशको सोलान जिल्लाको सुरक्षाकर्मीको टोली शव संकलनमा लागेको छ । सिलिन्डर विस्फोटका कारण सबैको सब छियाछिया परेकाले संकलन गर्न कठिनाइ भएको छ,’ उनले भने । 

घरको आर्थिक अवस्था दयनीय भएको र दुई छाक खर्च जुटाउन समस्या भएपछि मृतकका परिवारसहित टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल गएर मजदुरी गर्दै आएको उनको भनाइ छ । 

सिद्धकुमाख-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकले फोन गरेपछि घटनाको बारेमा थाहा पाएको बताए । दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको र मंगलबार शोक बिदा दिने निर्णय गरेको उनले जानकारी गराए ।

सरकारले आफनै गाउँघरमा रोजगारको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरु अहिले पनि भारतको विभिन्न स्थानमा गएर मजदुरी गर्न बाध्य छन् । कहिले बाढी, पहिरो, कहिले दुर्घटना त कहिले आगलागीमा परेर ज्यान गुमाउँदै आएको बुढाथोकीले बताए ।

शव संकलनको काम भइरहेकाले उतै दाहसंस्कार गर्ने कि घरमै ल्याउने भन्ने विषयमा सिलोनको अर्कीमा रहेका स्थानीयसँग कुराकानी भइरहेको उनले जानकारी गराए । 

9 people from Salyan, India, die in gas cylinder explosion following fire

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully