मध्यपहाडी लोकमार्गको रुकुम खण्ड मर्मतका लागि १८ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।

कार्तिक ११, २०८२

महेश केसी

Rukum section of Mid-Hill Highway closed for 18 days for maintenance, request to use alternative route

What you should know

रुकुम पश्चिम — मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर नवीन खरेलका अनुसार यही कार्तिक १२ गतेदेखि ३० गतेसम्म किटेनीमा २ सय ६० मिटर र रानीकोटमा ९ मिटर सडक ढलान गर्ने योजना रहेको छ ।

‘यी दुई ठाउँमा सडक साँघुरो र कच्ची भएकाले ढलान गरेर बलियो बनाउने निर्णय गरिएको हो,’ उनले भने, ‘तत्काल फराकिलो बनाउन थाले समय र लगानी दुवै धेरै लाग्ने भएकाले अहिले भएकै सडकलाई ढलान गर्ने निर्णय गरिएको हो ।’

विशेषगरी रुकुम पश्चिमसँगै जाजरकोट र डोल्पासम्मका सवारीसाधन पोखरा–काठमाडौंसम्म आवतजावत गर्ने भएकाले यो खण्ड बन्द हुँदा मुसिकोटबाट गाराघाटको पुल तरेर पिपल–पोखरा गाउँ हुँदै रुकुमकोट पुगेर पुनः मध्यपहाडी लोकमार्गमा जोडिन सकिने वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ ।

चाडपर्व सकेर काठमाडौँतर्फ फर्कने सर्वसाधारणको भीड बढेको र तत्काल रुट परिवर्तन गर्दा कठिनाइ हुने भन्दै सडक मर्मत केही दिनपछि सार्न यातायात व्यवसायीहरूले आग्रह गरे पनि त्यो सम्भव नभएको इन्जिनियर खरेलले बताए ।

‘यातायात व्यवसायीहरूले काम केही दिन पछाडि सार्न अनुरोध गरे पनि तत्काल सम्भव भएन, त्यसैले मौसमको अवस्था हेरी भोलीदेखि नै काम सुरु हुन्छ,’ उनले भने । यस विषयमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले यातायात व्यवसायीहरूबाट यसप्रकारको कुनै औपचारिक अनुरोध नआएको बताए ।

‘सडक मर्मतको काम केही दिन पछाडि सार्ने विषयमा हामीसम्म कुनै अनुरोध आएको छैन,’ उनले भने, ‘यो रुकुम पूर्वको विषय पनि भएकाले सूचना अनुसार नै काम अघि बढ्छ । सम्बन्धित सबैलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्छु ।’ वैकल्पिक मार्गका रूपमा साना गाडीका लागि मुसिकोट–गिलबाङ–धपे–नाथीगाढ–धाउने–रुकुमकोट रुटमा गाडी चलाउन सकिने उनले बताए । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully