रुकुम पूर्व — माघ १ गते खाजा–तरुल खाएर संक्रान्ति मनाएपछि सिस्ने गाउँपालिका–३ पोखरामा २ गतेको दिन भने सानीभेरी नदी किनार गएर कपडाको पुतली (खेलौना, जसलाई बेहुली भनिन्छ) बनाएर जलाउने अनौठो चलन छ । जसअनुसार बुधबार पोखरामा भव्य माघी मेला आयोजना गरिएको छ । दिउँसो गाउँबाट बाजागाजासहित ठूलो समूह गाउँ नजिकै रहेको भेरी नदी पुग्यो ।
अनि गाउँकै चेलीबेटीले तयार गरेका खेलौनाजस्ता देखिने स–साना पुतली जसलाई ‘बेहुली’ भनिन्छ, त्यसलाई नदी छेउमा दाह–संस्कारकै शैलीमा जलाइयो । अनि बजागाजा बनाएर उक्त टोली नाच्दै, रमाउँदै गाउँतर्फ फर्कियो ।
गाउँमा आउन सक्ने विभिन्न संकट, दुःख र भयबाट मुक्ति मिल्ने जनविश्वासका साथ हरेक वर्ष माघीको भोलिपल्ट अर्थात् माघ २ गते यसो गर्ने गरिएको स्थानीय महेन्द्र केसीले बताए । ‘यसलाई हामी बेहुली पोल्ने भन्छौं । तर बेहुली भनेको दुलहीचाहिँ होइन । कपडाका खेलौनालाई बेहुली मानेर जलाउने चलन हो,’ उनले भने ।
धेरै वर्ष अघिदेखिको चलनलाई हरेक वर्ष यसैगरी निरन्तरता दिने गरिएको छ । यसो गर्दा गाउँमा आउनसक्ने सम्भावित संकट टर्ने आफूहरुको विश्वास रहेको स्थानीय डिलबहादुर केसीको भनाइ छ । ‘यो अवसरमा मेला पनि लाग्ने भएकाले रमाइलो पनि हुन्छ,’ उनले भने, ‘सबै उमेर समूहका मान्छेहरु भेला हुँदा गाउामा रमझम पनि हुन्छ ।’
गाउँबाट नदीतर्फ बाजा बजाउँदै जाने र बाजासहित नाच्दै–गाउँदै फर्किने गरिन्छ । जाँदा मान्छेहरु कम हुने भए पनि फर्किँदा भने भीड हुने गर्छ । साथै डोलीमा बेहुली राखेको मानेर गाउँमा फर्काउने पनि गरिन्छ । यसबारे थप स्पस्ट पार्दै स्थानीय रामबहादुर खत्री भन्छन्, ‘खेलौना जलाउने अनि डोली बनाएर जीवित बेहुलीको नमुना लिएर आउने गरिन्छ । यसको स्पस्ट कारण त छैन । तर यो परम्परादेखिको चलन भएकाले हामी मान्छौं ।’
नदीबाट फर्किएपछि गाउँछेउको खुला चौरमा सबै भ्ला भएर अनेकन स्थानीय झाँकी र नाचहरु देखाइन्छ । साथै भाले तान्ने लगायतका केही मनोरन्जनात्मक खेलहरु पनि प्रदर्शन गरियो । पहिला–पहिला यो मेलामा धेरै मान्छेहरु हुने भए पनि पछिल्लो समय गाउँमा जनघनत्व घट्दै गएको र भएकाहरुमा पनि चासो नभएका कारण सहभागिता भने बर्सेनि घटिरहेका छन् ।
![Maghi Mela was celebrated in Pokhara in Rukum East [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/maghi-mela-ko-ramjham-0811002-rkm-east6-1512025043938-1000x0.jpg&w=1001&h=0)