जुम्ला — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई जुम्लाका किसानले स्याउले बजार नपाउँदा मर्कामा परेको गुनासो गरेका छन् । उनीहरूले स्याउको मूल्य र बजार खोजिदिन प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयद्वारा आयोजित स्याउ किसानहरूसँग मुख्यमन्त्री कार्यक्रममा किसानहरूले जुम्ला स्याउका लागि प्रख्यात जिल्ला भएपनि सरकारले बजारको व्यवस्थापन नगरिदिएको भन्दै मुख्यमन्त्री कँडेलसँग गुनासो गरे ।
चन्दननाथ नगरपालिका-४ का नारायण चौलागाइँले वर्षेनि किसानहरू स्याउ फलाएर बाहिर निर्यात गर्ने बेला समस्यामा पर्ने गरेको बताए । उनले भने, ‘किसानहरू बगैंचामा लटरम्म स्याउ फल्दा निकै उत्साहित हुन्छन् । तर जब प्याकेजिङ गरेर बजार लैजाने बेला हुन्छ, तब दुःखका दिन सुरु भइहाल्छन् ।'
उनले प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गरिदिनुपर्ने माग गरे । सरकारले कर्णाली राजमार्गमात्रै कालोपत्र गरिदिए पनि बजारका लागि सहज हुने उनको भनाइ थियो ।
उनले स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने सुझाव दिए । 'मुख्यमन्त्री ज्यू, सरकारले दिने अनुदान पहुँचविहीन किसानले पाएका छैनन्,' उनले भने, ‘पहुँच हुने किसानहरूले मात्र यो अनुदानको उपयोग गर्ने भएकोले यो आवश्यक छैन।’
चन्दननाथ नगरपालिका-२ का किसान रत्नबहादुर भण्डारीले कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा सहजै रुपमा जुम्ली स्याउ बजारमा लैजान नसकेको बताए । उनले भने, ‘सबैभन्दा पहिले पक्की सडक चाहिएको छ । सडकले बजार सम्म जुम्ली ताजा स्याउ लैजान सहयोग मिल्नेछ ।’
उनले अहिले ५० हेक्टर क्षेत्रफल किसानलाई मात्र अनुदानको व्यवस्था भएको प्रति आक्रोश पोख्दै ५० बर्गमिटरमा स्याउ रोपेका किसानले पनि सरकारी सेवा उपभोग गर्न पाउनुपर्ने तर्क गरे ।
मुख्यमन्त्री कँडेललाई जुम्ली किसानले माटो परीक्षण ल्याव स्थापना, सैद्धान्तिक ज्ञान मात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यवहारिक ज्ञान सीप दिनुपर्ने र लामो समयसम्म स्याउ राख्नको लागि शीत भण्डारको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।
हिमा गाउँपालिका-१ का गोपाल रोकायाले जुम्ली स्याउलाई नेपालगंज हुँदै रुपैडिया नाका भएर लखनउतिर लिएर बेच्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले भने, ‘स्याउ काठमाडौं भन्दा लखनउ पुर्याउन निकै सहज छ । भारतमा स्याउको मूल्य पनि छ । बजार पनि राम्रो छ,' उनले भने, ‘कर्णाली सरकारले विदेश निर्यात गर्ने वातावरण बनाइदिनुपर्यो । यसैको प्रतिक्षामा जुम्ली किसान छौं ।’
स्याउमा रोग किराको संक्रमण बढेको, समयमै वर्षा नहुँदा उत्पादनमा वर्षेनि गिरावट आउने गरेको देखि कृषि प्राविधिकको अभावले स्याउ व्यवस्थापन गर्न कठिन भएको समस्या किसानहरूले सुनाएका थिए ।
किसानका समस्या सुनेपछि मुख्यमन्त्री कँडेलले आफू किसानहरूका कुरा सुन्नकै लागि जुम्ला आएको र किसानका समस्याहरू सम्बोधनका लागि सकारात्मक रहेको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको बजेट आइसकेर कार्यन्वयनमा गइसकेको छ । अब किसानका कुरा सुनेर आगामी बजेटमा समावेश गर्ने प्रयास गर्नेछु ।'
कृषि क्षेत्रको विकास विना कर्णालीमा समृद्धि ल्याउन नसकिने भन्दै किसानहरूका साना साना समस्याको संवोधन गर्नुपर्ने बेला आएको मुख्यमन्त्री कँडेलको भनाइ छ । स्याउको ग्रेडिङ मेसिन, प्याकेजिङ र प्रशोधनका लागि उद्योग नै स्थापना गर्नुपर्नेमा किसानको जोड थियो ।
जुम्लामा ४ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा जुम्ली स्याउको खेती हुने गरेको छ । चालु आर्थिक वर्षमा मात्रै ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ स्याउ बेचेर जिल्ला भित्रिएको छ । किसानहरूले उच्च घनत्वको स्याउले परम्परागत जुम्ली स्याउको खेती प्रभावित हुने बताए ।
