आरडीटी किट मन्त्रालयले फिर्ता माग्यो, हुम्लामा परीक्षण ठप्प- कर्णाली - कान्तिपुर समाचार

आरडीटी किट मन्त्रालयले फिर्ता माग्यो, हुम्लामा परीक्षण ठप्प

छपाल लामा

हुम्ला — कोरोना भाइरस संक्रमण जाँच गर्न कर्णाली प्रदेश सरकारले पठाएका किट मन्त्रालयले फिर्ता मागेपछि जिल्लाभरि परीक्षण ठप्प भएको छ ।   सामाजिक विकास मन्त्रालयले ८० थान र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट फिर्ता लिएको हो । 

हुम्लाका लागि प्रदेश सरकारले चार सय किट जनस्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । कार्यालयले परीक्षणका लागि सात गाउँपालिकामा तीन सय २० थान किट पठाएको थियो भने अत्यावश्यकीय प्रयोजनका लागि ८० थान किट मौज्दात राखेको थियो । मन्त्रालयले फिर्ता मागेपछि सदरमुकाममा मौज्दात राखिएको किट सुर्खेत पठाइएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले बताए । उनका अनुसार जहाजबाट उद्धार गरिएका नागरिकको र्‍यापिड टेस्ट गर्न मन्त्रालयले किट फिर्ता मागेको हो । किट नभएपछि एक सातायता परीक्षणको काम नभएको उनको भनाइ छ ।

लकडाउनपछि जिल्लामा फर्किएका व्यक्तिका कारण गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । ‘चैत १ गतेपछि विदेशबाट फर्किएका सबैको परीक्षण गर्नेगरी आरडीटी अभियान सुरु गरेका थियौं,’ स्वास्थ्य कार्यालय प्रमुख सिंहले भने, ‘परीक्षण नहुँदा गाउँमा झन संक्रमणको जोखिम बढ्यो ।’

लकडाउन सुरु भएपछि हुम्लामा दुई हजार एक सय ५८ जना भित्रिएको कार्यालयको तथ्यांक छ । तर, एक सय ९५ जनाको मात्र र्‍यापीट टेस्ट गरिएको सिंहले बताए ।

जहाजमार्फत हुम्ला जाने नागरिकको परीक्षणका लागि किट फिर्ता मागिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताए । हवाइ सेवा बन्द भएका कारण थप किट पठाउन नसकिएको उनको भनाइ छ । प्रदेश सरकारका अनुसार वैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट सात सय ७४ र हवाइ मार्गबाट चार सय ८३ जना नागरिक भित्रिएका छन् ।

प्रकाशित : वैशाख २४, २०७७ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीका संक्रमित युवकको सम्पर्कमा आएका १४ जनामा कोरोना देखिएन

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — रुपन्देहीको कोटहीमाई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ जनाको बुधबार गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना पोजिटिभ देखिएका रूपन्देहीको कोटहिमाई गाउँपालिका–१ पूर्णिहवाका युवकको ससुराली परिवार र उनले खाना खाएका ठाउँका व्यक्तिमा कोरोना संक्रमण नदेखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए । ‘कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘उनीहरुको स्वाब संकलन गरी मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।’ यसअघि उनका दाजु र परिवारका सदस्यसहित दश जनामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

भारतको नयाँ दिल्लीबाट आएका ती युवा लकडाउनकै अवधिमा दिल्लीबाट ट्रक र पैदल यात्रा गर्दै गाउँ प्रवेश गरेका थिए । ती युवकलाई बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखि उपचार गरिएको छ ।

प्रकाशित : वैशाख २४, २०७७ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×