जंगबहादुर जन्मिएको लामपाटी दरबार चिटिक्क

चर्किएका कोठा, भत्किन लागेको भवन टालटुल पारिएको छ । भुइँमा ढुंगा बिछ्याइएको छ । छानो र भवनलाई रातो रंगले रंग्याएर दरबार चिटिक्क बनाइएको छ ।

जेष्ठ २६, २०८२

वीरेन्द्र केसी

Jung Bahadur was born in Lampati Palace Chitikk

अर्घाखाँची — राणा प्रधानमन्त्री जंगबहादुर राणाको जन्मस्थल सन्धिखर्क नगरपालिका–५ स्थित मथुरामा रहेको ऐतिहासिक लामपाटी दरबारलाई मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ । चर्किएका कोठा, भत्किन लागेको भवन टालटुल पारिएको छ र भुइँमा ढुंगा बिछ्याइएको छ ।

दरबारमा भवनको गारोबाट इँटा खसेर प्वाल परेको ठाउँ तथा दलिन, मसी, थाम, ढोका, झ्याल जस्ता पुराना र कुहिएका संरचना नयाँसाथी फेर्ने काम भएको छ । छानो र भवनलाई रातो रंगले रंगाएर आकर्षक बनाइएको छ ।

अर्घाखाँचीका पर्यटकीय गन्तव्यमध्ये लामपाटी दरबार एक हो । ‘जंगबहादुर जन्मिएको स्थान मथुरा लामपाटी दरबारलाई संरक्षण गरिएको छ,’ सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए, ‘ऐतिहासिक सम्पदालाई पर्यटकीय गन्तव्य बनाइनुपर्छ, अझ व्यापक प्रचारप्रसार आवश्यक छ ।’

जंगबहादुरले प्रधानमन्त्री भएपछि आफू जन्मिएको ठाउँलाई दरबार बनाएका थिए । कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिएको छ । राणा शासनकालसम्म दरबारको रेखदेख हुने व्यक्ति नियुक्त गरिए पनि प्रजातन्त्रपछि त्यस्तो व्यवस्था नभएको थियो । पछिल्लो समय स्थानीय र लुम्बिनी प्रदेश सरकारले दरबारको संरक्षण थालेको श्रेष्ठले जानकारी दिए ।

राणाको इतिहास

वाङ्लाका स्थानीय तथा जिल्ला विकास समिति (जिविस) का पूर्वप्रमुख पिताम्बर शर्माका अनुसार, जंगबहादुरका पिता बालनरसिंह आर्मी अफिसर थिए, जो प्यूठानको बारुदखानामा कार्यरत थिए । वि.सं. १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गा विवाद चर्किएपछि समाधान गर्न उनलाई जुम्ला सरुवा गरिएको थियो । उनी पत्नी गणेशकुमारीसहित जुम्ला गएका थिए । त्यहीँ रहँदा गणेशकुमारी गर्भवती भइन् ।

त्यसबेला गर्भवती महिलाहरू माइत जान्थे । माइत गोरखा जाने क्रममा मथुराको जंगलमा गणेशकुमारी बिरामी परिन् र १८७४ असार ५ गते मथुरामा सात महिनामै जंगबहादुरको जन्म भएको थियो । मथुराका पाण्डे थरका स्थानीयले स्याहारसुसार गरी पारिपट्टिको बल्कोट गाउँमा चौपारीमा न्वारन गराएका थिए । बल्कोटका खनाल थरका ब्राह्मणले विधिपूर्वक न्वारन गर्दा नाम वीरनरसिंह कुँवर राखिएको थियो । उनी जंगे स्वभावका भएकाले पछि नाम जंगबहादुर रहन गएको भनाइ छ । जन्मपछि उनकी आमा दरिली भएपछि छोरालाई लिएर रिडी, स्याङजा, पोखरा, लमजुङ बेसीसहर हुँदै माइतीघर गोरखा पुगेको संस्कृतविद् राजेन्द्रकुमार आचार्यले बताए ।

Jung Bahadur was born in Lampati Palace Chitikkजंगबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासि शक्तिशाली बनेका थिए । राजा राजेन्द्रविक्रम शाहको शासनकालमा उनले दरबारभित्र आन्तरिक विद्रोह गरी युवराज सुरेन्द्रलाई गद्दीमा आरोहण गराएका थिए र विभिन्न नीतिहरू परित्याग गरी आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए । उनका पिता बालनरसिंह र आमा गणेशकुमारीका सात सन्तानमध्ये उनी जेठा थिए ।

वि.सं. १९०३ असोज २ देखि १९१३ साउन १७ सम्म उनी नेपालका आठौँ प्रधानमन्त्री बने । पछि आमा बसेको बल्कोट चौपारी, पोखराको दर्शनढुंगा, लमजुङको बेँसीसहरमा रानीपोखरी पौवा, तथा मथुराबेँसीमा बीसखुट्टे दरबार बनाएका थिए । यी सबै पौवा र दरबारहरू कलात्मक र एउटै डिजाइनमा निर्माण गरिएको संस्कृतविद् आचार्यले उल्लेख गरेका छन् ।

काठमाडौं, ललितपुर, पनौती लगायतका स्थानमा पनि उनले दरबार तथा पौवा निर्माण गराएका थिए । मथुरा सन्धिखर्क नगरपालिका र न्वारन भएको बल्कोट छत्रदेव गाउँपालिका–२ मा पर्छ । प्रथम राणा प्रधानमन्त्री भएपछि उनले आफ्ना जेठान सहनसिंह कर्नेललाई मथुरा पठाएर लामपाटीमा बीसखुट्टे दरबार बनाएका थिए । दरबार नजिकै मथुराधाम नामक धार्मिक क्षेत्र रहेको छ, जहाँ द्वापर युगमा भगवान् श्रीकृष्णले बाललीला गरेको मानिन्छ । योगी नरहरिनाथले मथुरामा कोटीहोम लगाई त्यस स्थानको महत्त्व बढाएका थिए । दरबारनजिकै गोपेश्वर पीठ रहेको छ । वि.सं. २०४३ मा योगी नरहरिनाथले १६औँ कोटीहोम लगाएर धार्मिक महत्व बढाएका थिए ।

सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष ऋषभ अधिकारीका अनुसार यो क्षेत्र भावी पुस्ताले इतिहास अध्ययन गर्न सक्ने स्थल होस् भन्ने उद्देश्यले संरक्षण गरिएको हो । पछिल्लो समय राजनीतिकर्मी र शैक्षिक व्यक्तित्वहरू त्यहाँ भ्रमण गर्न थालेका छन् ।

जंगबहादुर कुस्ती खेल्ने, बन्दुक चलाउने, धुन बजाउने, घोडा सवार गर्ने र राजा राजेन्द्रविक्रम शाहसँग सिकार जाँदा हात्ती समातेर चर्चामा आएका थिए । त्यसबेला शक्तिशाली मानिने भारदार तथा राजा राजेन्द्रको शक्तिलाई निस्तेज पार्दै ‘श्री ३ महाराज’ घोषणा गरी आफ्नै वंशमा शासन व्यवस्था स्थापनाका लागि भूमिका खेलेका जंगबहादुरको वि.सं. १९३४ मा देहान्त भएको थियो । उनकै पालामा वि.सं. १९१०, १९११ र १९१३ मा हस्तलिखित जनगणना गरिएको थियो । त्यसबेला भक्तपुर, पाटन, काठमाडौँसहित ३३ जिल्लाको जनसंख्या विवरण संकलन गरिएको थियो ।

वडा सदस्य कृष्ण भुसालका अनुसार, जंगबहादुरको महत्वपूर्ण ऐतिहासिक पृष्ठभूमि रहेकाले यसलाई भावी पुस्ताका लागि अध्ययन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ । पछिल्लो समय स्थानीय तह र लुम्बिनी प्रदेश सरकारले चासो दिएको पनि उनले बताए ।

राजा महेन्द्रको भ्रमणका क्रममा उनले उक्त दरबारमा रात बिताएको इतिहास रहेको छ । दरबार वरिपरि ठूलो पोखरी र चौरसहितको जमिन रहेको भए पनि हाल पोखरी पुरिएको र जग्गा हराएको स्थानीयले बताएका छन् ।

वीरेन्द्र

Link copied successfully