पाल्पाको रिमिघा लेकमा यार्चाजस्तै देखिने वस्तु फेला परेपछि अनुसन्धान सुरु

जेष्ठ १८, २०८२

माधव अर्याल

An investigation started after an object that looked like a yarcha was found in Palpa's Rimigha Lake

पाल्पा — पाल्पाको रिमिघा डाँडा (लेक) मा यार्चागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि गाउँपालिकाले अनुसन्धानअघि बढाएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी प्रजातिका वनस्पति भेटिएपछि प्रयोगशालामा पठाउने तयारी गरेको हो ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाको बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्दै गर्दा ती भेटिएका थिए । ‘सुरुमा एक दुई वटा यार्चाजस्तै देखिने प्रजातिका वनस्पति र तल्लो भागमा किराजस्तो देखिएपछि सोधपुछ भएछ,’ उनले भने । अब स्थानीयलाई संकलन गर्न र जंगल जानसमेत रोक लगाइने उनले बताए ।

डिभिजन वन कार्यालयले तत्काल वन कर्मचारीलाई खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । उनले प्रयोगशालामा नपठाइकन के हो ? भन्ने आधिकारिक थाहा हुन नसक्ने बताए । ‘हेर्दा उस्तै देखिएको छ, मैले पनि फोटोमा हेरेँ,’ उनले भने, ‘तर प्रयोगशालाको रिपोर्ट नआइकन आधिकारिक के रहेछ भन्न सकिँदैन ।’ रिमिघिा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ ।

An investigation started after an object that looked like a yarcha was found in Palpa's Rimigha Lake

हिउँदमा झुसिलकिरा मरेपछि तीनमा बर्खामा ढुसी पलाउँछ । तीनैलाई यार्चागुम्बा भनिन्छ । अनौठो जैविक प्रजाति भएको र जुन कृमि (झिँगा जातिको लार्भा) र ढुसे (च्याउ जाति) को संयोगबाट बन्छ । ‘हेर्दा उस्तै देखिएको छ,’ डिभिजन वन अधिकृत भट्टराईले भने, ‘यसको प्रयोगशाला पठाएपछि मात्र थाहा हुने हो अहिले नै के हो भन्न सकिँदैन ।’ यसका सयौं प्रजाति हुने भएकाले पनि के हो भन्न नसकिएको उनले बताए ।

An investigation started after an object that looked like a yarcha was found in Palpa's Rimigha Lake

यार्चा पनि वैशाखदेखि असारसम्म पाइन्छ । जानकारहरूका अनुसार यार्चागुम्बा ३ हजार मिटरभन्दा माथिको उचाइमा पाइन्छ । हिमाली भेगमा हिउँद सकिएपछि वैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फुल्न सुरु गर्छ । त्यही समयमा पुतलीहरूले फूल पार्न थाल्छन् । सोही पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमिनमुनि पुग्छ । ती झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमिन माथिको भागमा खैरो रंगको ढुसी पलाउँछ र जमिनमुनिको भाग भने पहेँलो रंगको हुन्छ ।

यार्चाको जमिनमुनिको भाग ४ मिलिमिटर मोटो र ४ सेन्टिमिटर जति लामो हुन्छ । माथिको भाग मसिनो ५–६ सेन्टिमिटर जति लामो हुन्छ । रम्भा गाउँपालिकाका रोजगार संयोजक तथा वन तथा वातावरणका विद्यार्थी रविन महर्जनका अनुसार उचाइ अनुसार नमिले पनि प्रजाति उस्तै र यार्चाकै आकार र रंग भएकाले अनुसन्धानका लागि पठाउने तयारी गरिएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully