कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गुलरियामा पहुँचको भरमा युवाहरूलाई खोप

लक्षित समूहले पाएनन् खोप
कमल पन्थी

बर्दिया — जनप्रतिनिधि र स्वास्थ्यकर्मीको पहुँचको भरमा सरकारको नीति विपरीत कम उमेरका नागरिकले खोप लगाएका छन् । गुलरियाका अधिकांश वडामा २५ देखि ५५ वर्ष उमेरकाले खोप लगाएका छन् ।

गुलरियामा पहुँचको भरमा युवाहरूलाई खोप

६२ देखि ६४ वर्ष उमेर समूहका लागि बिहीबार कोरोनाविरुद्ध पहिलो खोप दिने भनिएपनि अधिकांश युवा,युवतीले लगाएका छन् । दिउँसो १२ बजेसम्म लक्षित समूहका मानिस आउने क्रम कम भएपछि जनप्रतिनिधि र स्वास्थ्यकर्मीले पहुँचको भरमा ६२ वर्ष मुनीकालाई खोप लगाइएको थियो ।

चीन सरकारको अनुदान प्राप्त खोप लगाउन युवायुवतीलाई जनप्रतिनिधि नै अग्रसर भएको स्थानीयले गुनासो पोखे । जिल्लामा ६ हजार ४ सय ८५ जनामध्ये ३ हजार २ सय ९५ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले भनेजस्तो लक्षित समूह बाहेककालाई खोप नलगाएको दाबी गरे । लक्ष्य अनुसार नभएपछि थप एक दिन शुक्रबार लक्षित समूहका लागि खोप लगाउने उनले जनाए ।

चिनियाँ भेरोसेल खोप आठवटा पालिकाको स्वास्थ्य केन्द्रलाई जिम्मा दिइएको छ । गुलरिया नगरपालिकाका स्वास्थ्य प्रमुख सुनिल पाण्डेले केही ठाउँमा लक्षित समूह बाहेकले खोप लगाएको जानकारीमा आएको बताए ।

जिल्लामा १२ हजार ९ सय ९३ जना उक्त समूह उमेरका लागि खोप लगाउनु पर्ने हुन्छ । सरकारले ६ हजार ४ सय ८५ जनाका लागि खोप उपलब्ध गराएको छ । छुट भएका उक्त उमेर समूहका लागि असारभित्र खोप लगाइने उनले बताए ।

दोस्रो चरणको कोरोनाबाट हालसम्म जिल्लामा ७ हजार ७ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । सक्रिय संक्रमित ८ सय ३५ छन् । कोरोनाको दोस्रो लहरमा १ सय १९ जनाले संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?