लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप

अमृता अनमोल

बुटवल — कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम नियमित प्रक्रियामार्फत मंगलबार प्रदेशसभामा पेश गर्ने समेत निर्णय गरेको छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभा बोलाउने र दिउँसो ४ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मराज यादवलाई आग्रह गर्ने निर्णय भएको छ ।

लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको छ । जसमा धराशयी भएको अर्थतन्त्र उकास्ने, गुमेको रोजगारी फर्काउनेगरी कृषि र पर्यटनलाई समेत प्राथमिकता दिइएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

थप ३ हजार ३७० मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ९५१ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर ३ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ पुगेको छ । क्वारेन्टाइनमा ७१८ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×