क्वारेन्टाइन अवधि पूरा गरेर पनि फर्कन नपाएकाहरू सिमानामा उत्तिकै   - प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वारेन्टाइन अवधि पूरा गरेर पनि फर्कन नपाएकाहरू सिमानामा उत्तिकै   

माधव ढुंगाना

भैरहवा — भारत र नेपाल दुवैतर्फ लकडाउन र सम्पूर्ण सिमाना सिल गरेको डेढ महिना बितिसक्दा पनि भारतबाट नेपाल आउन खोज्ने नेपालीको संख्यामा कुनै कमि आएको छैन । सीमा नाकामा अहिले पनि उत्तिकै भीड लाग्ने गरेको छ । उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सरकारले समयमैं स्पष्ट निर्णय लिन नसक्दा जिल्लाका सुरक्षा निकाय अन्याेल देखिन्छन् । सरकारले तत्कालै सिमानामा आइपुगेकाकोमात्र होइन, तीन साता अघिदेखि भारतीय क्वारेन्टाइनमा अवधि पूरा गरेर नेपाल आउन चाहने नेपालीको हकमा पनि कुनै निर्णय लिन सकेको छैन । 

‘माथिबाट कुनै पनि निर्णय समयमै आउन नसक्दा उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जिल्ला तहमा कार्यान्वयन गर्न निकै अप्ठेरो परिरहेको छ,’ रुपन्देहीका एक सुरक्षा अधिकारीले भने, ‘क्वारेन्टाइन अवधि पूरा भएका नेपालीलाई आफ्नो देश लैजान भन्दै भारतीय पक्षले दबाब दिन थालेको छ । यता सरकारले कुनै निर्णय गर्दैन ।’

कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल र भारतमा गत चैत ११ गते लकडाउन गरिएको थियो । तीन–चार दिनसम्म सीमा नाकामा यात्रुको तापक्रम जाँच गरेर आउन जान दिने गरिए पनि त्यसपछि सिमाना पूर्ण रुपमा सिल गरिएको थियो । नेपाल आउन नपाएर सिमानामा अलपत्रमा परेका ३ सयभन्दा धेरै नेपालीलाई नौतनवास्थित ३ हप्ताको क्वारेन्टाइनको अवधि पूरा गरेपछि दुई साताअघि स्वदेश आउने अनुमति नेपाल सरकारले दिएको थियो ।

त्यसपछि पनि भारतका विभिन्न स्थानबाट सुनौली नाका हुँदै नेपाल आउन खोजेका नेपालीको भीड भारततर्फ उत्तिकै छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सुनौली नाकाबाट नेपाल आउन चाहेको नेपालीको संख्या भारततर्फ १ हजारभन्दा माथि रहेको बताए ।

‘लकडाउन भए पनि नेपाल आउने नेपालीको चाप सिमानामा दिनहुँ देखापरेका छन्’ अधिकारीले भने, ‘सिमानामा आएका नेपालीलाई भारतीय पुलिसको सहयोगमा उतै भारततर्फ फर्काइदिने गरिएको छ ।’ बिहीबारमात्रै सिमानाबाट नेपाल आउन चाहेका १ सय ६ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर भारततर्फ नै फर्काइएको उनले बताए ।

उनका अनुसार नेपाल आउन नपाएर भारततर्फ नै रोकिएका १ हजारमध्ये ४ सय ४० जना नेपालीले सुनौली नजिकको नौतनपामा तीन साताको क्वारेन्टाइन अवधि पूरा गरिसकेका छन् । क्वारेन्टाइन पूरा गरेका नेपालीलाई लैजान भन्दै भारतीय पक्षले आग्रह गरिरहेको छ । सबैजना नेपालीलाई भारतीय पक्षले नै राख्ने व्यवस्था गरेको छ । नेपाल आउन नपाएर अलपत्रमा पर्नेमा बालबालिकादेखि वृद्ध र अपांगसमेत छन् । पाँचथर, ताप्लेजुङ, डोटीलगायत मेचीदेखि महाकालीसम्मका छन् ।

उनीहरुमध्ये कतिपय पैदलयात्रा गर्दै र कतिपयलाई भारत सरकारले सिमानासम्म ल्याइदिएको हो । मूल नाकाबाट नेपाल आउन नपाएपछि धेरैले खुल्ला सिमानाबाट लुकेर आउन थाल्नाले कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत ध्रुव नेपालले सिमानामा रोकिएका नेपालीको अवस्थाका वारेमा माथि जानकारी गराइएपनि अहिलेसम्म कुनै निर्णय नआएको बताए । ‘यस वारेमा पकट पटक जानकारी गराइएको छ’ नोपालले भने, ‘ माथिबाट निर्णय नआएसम्म हामीले केही गर्न सक्दैनौं ।’


प्रकाशित : वैशाख २६, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

सीको समकक्षी वार्ता, सन्देश र स्वामित्व

लक्ष्मी लम्साल

गत वैशाख १५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली समकक्षी विद्या भण्डारीसँग टेलिफोन वार्ता गरेर जारी कोभिड–१९ महामारीप्रति चिन्ता र सहयोगको आश्वासन दिए । नेपालजस्तो सानो मुलुकप्रति विशाल महाशक्तिका राष्ट्रपतिले फोन गरेर सदाशय देखाएको यो दोस्रोपटक हो । यसअघि उनले गत वर्ष नेपाल भ्रमण गर्नुअघि फोनवार्ता गरेका थिए ।

सबैभन्दा पहिला चीनको वुहानमा प्रकट भएको महामारी अहिले यहाँ निमिट्यान्न हुँदै गएको छ । घरेलु महामारी कमजोर हुँदै गएकाले सी फुर्सदिला बनेका होइनन्, उनीसँग अरू आन्तरिक तथा बाह्य मामिला छँदै छन् । बेइजिङमा यही मे तेस्रो साता वार्षिक ठूला राजनीतिक अधिवेशनको तयारी भइरहेको छ भने महामारीलाई लिएर अमेरिकालगायत केही देशले थापिरहेको अड्को फुकाउने रस्साकसी पनि चलिरहेको छ । यसबीच चिनियाँ राष्ट्रपतिले निरन्तर बाह्य मुलुकका नेताहरूसँग संवाद गरिरहेका छन् । विश्वसामु देखापरेको भीषण विपत्तिबारे परामर्श गरिरहेका छन् । चिनियाँ राष्ट्रपतिले फोन गरीगरीकन विश्वका नेताहरूको हालचाल बुझ्नुका पछाडि केही रहस्य त पक्कै छ ।

नेपाल मात्रै होइन, कैयन् मुलुकहरूको सार्वजनिक स्वास्थ्य प्रणाली तुलनात्मक रूपमा कमजोर छ । टेलिफोन संवादमार्फत सीले दिन खोजेको एउटा सन्देश चीनले महामारीलाई कसरी नियन्त्रणमा लियो र यो शैली सम्बन्धित देशमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने हो । दोस्रो मूल सन्देश हो कि ठूलो मुलुकको जिम्मेवारी । विश्वशक्ति अमेरिकाको हप्किङ्स युनिभर्सिटीले दिनदिनै कोभिड संक्रमणको जुन डरलाग्दो तथ्यांक निकालिरहेको छ, त्यही देशको नेतृत्ववर्ग असीम पूर्वाग्रहले ग्रस्त भइरहेको छ । यस्तै बेला उदीयमान चीनले पनि लत्तो छोडिदिने हो भने विश्व शासन व्यवस्था नै भताभुंग हुने खतरा हुन्छ ।

गत वर्ष डिसेम्बर अन्त्यदेखि मे महिनासम्म आइपुग्दा सी चिनफिङको बाह्य सम्पर्क अटुट रूपमा चलिरहेको छ । महामारीका बेला कुनै मुलुकको भ्रमण गर्नु सम्भव नहोला तर भिडियो कन्फ्रेन्समार्फत उनले चोटिलो सन्देश प्रवाह गरिरहेका छन् । त्यतिले मात्रै नपुगेर एक–एक नेताहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्तामार्फत आफ्ना सन्देशलाई अझै ‘बुस्ट’ गरिरहेका छन् । यतिखेरको सबैभन्दा ठूलो चुनौती अमेरिका नभएर विश्वव्यापी महामारी हो भन्नेतर्फ उनी संवेदनशील देखिन्छन् । यसकै परिणाम, उनले फोनमा निकै गम्भीरतापूर्वक आफ्नो सन्देश दिने गरेका छन् । केही कुरा सम्बन्धित देशका नेताहरू सिक्ने उद्देश्यले प्रेरित देखिन्छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार सीले भण्डारीसँगको कुराकानीमा भनेका थिए, ‘महामारी देखिनेबित्तिकै चिनियाँले तत्कालै प्रभावकारी उपाय रोजेकाले कठिनतम समयलाई पार लगाए ।’

विदेशी नेताहरूलाई टेलिफोन गर्नुको सीको अर्को लक्ष्य पनि छ, त्यो हो महामारी विरुद्ध आत्मविश्वास र आशाको प्रत्यायोजन । अप्रिल २४ सम्ममा वुहानका गम्भीर बिरामीहरू निश्चित गरिसकिएको थियो भने २६ सम्ममा कोरोना निमोनियाको ‘रुट’ अवरुद्ध गरिएको थियो । यसले के संकेत गर्छ भने लकडाउन गरेपछि महामारीको रोकथाम तथा नियन्त्रणको अभियान चालियो, न कि आन्तरिक राजनीतिक झैझगडा । वुहानलाई ‘युद्धमोर्चा’ निश्चित गरिएको थियो । अहिले नेपालले भारतसँगका सीमालाई यस्तै मोर्चाको स्वरूप दिनुपर्थ्यो । महामारीविरुद्ध महिनौंको निर्णायक ‘युद्धपछि’ वुहान मात्रै होइन, अहिले सारा चीनभरि वसन्त ऋतुको पुनरागमन हुँदै छ । आधारभूत रूपमा महामारी नियन्त्रित हुँदै गर्दा होसियारीपूर्वक उत्पादनको कारबाही सुचारु गरिएको छ । यसले लकडाउनजस्तो निर्मम तर लक्ष्यप्राप्तिको ‘गोल्डेन’ अविधलाई गम्भीरतासाथ सामना गर्ने सन्देश बोकेको छ।

सीसँगको टेलिफोन संवादमा प्रसन्नता व्यक्त गरेबाहेक नेपालले आफ्नो राजनीतिक ‘तिकडम’ अझै जोडतोडसाथ अगाडि बढाइरहेको छर्लंगै छ । चीनको सफल अनुभवले महामारी जित्ने विश्वास पलाएको ओठे जवाफ दिनेबाहेक व्यवहारमा नेपालको उपलब्धि निराशाजनक र फितलो देखिन्छ । वर्तमान अवस्थाप्रति नेपाली नेतृत्वको बुझाइ सतही भएको जारी राजनीतिक परिदृश्यले देखाउँछ । जनताको पीडा र नेताको विलासिताको सर्वेक्षण गर्ने हो भने योजस्तो चरम निराशा र राजनीतिक वितृष्णाको अर्को चरण सायदै हुनेछ । विपत्ति अनिश्चित कालका लागि देखापरेको छ तर दूरगामी योजना बनाउन अलमल भइरहेको छ ।

चीनसँग कठिनाइमा जुध्ने र स्वसुधारको आफ्नै विशेषता छ । गम्भीर त्रासदीमा कम क्षति र रोकथाम नै चिनियाँ कार्यशैलीको एउटा नमुना हो । सीले समकक्षी भण्डारीसँग टेलिफोन वार्ता गर्दा महामारीको स्थिति सामान्य थियो, अहिले झन् विकराल बन्दै गएको छ । आफ्नो आधारभूत दीर्घकालीन आर्थिक वृद्धिमा परिवर्तन नआउने भनेर सीले के सन्देश दिन खोजेका थिए, बुझ्न गाह्रो छैन । मात्रै नेतृत्वतहको ग्राह्यशक्तिमा निर्भर गर्छ ।

महामारीको स्वामित्व

चीनका राष्ट्रपति सी चिनफिङले नेपाल मात्रै होइन, संसारका विभिन्न मुलुकका नेताहरूसँग टेलिफोन संवाद गरेर आफ्नो देशको अनुभव बाँडिरहेका छन् । यसको अर्थ उनले विश्वव्यवस्थामा जिम्मेवार नेता र ठूलो देशको अभिभारा पूरा गरिरहेका छन् । अमेरिकाले चाइना भाइरस वा वुहान भाइरस भनेर चीनमाथि अन्धाधुन्ध आक्षेप लगाइरहँदा चीनले यो महामारीको स्वामित्व लिइरहेको छ । तर वुहानबाट भाइरस उत्पत्ति भएको भनेर होइन बरु संकटमा सहकार्यको भावनाले । वर्तमान प्रकोपले आक्रान्त भएका बेला कसरी दुःख निवारण गर्ने भन्ने सबैभन्दा ठूलो यक्ष प्रश्न हो । मानवजाति सुरक्षित भएपछि भाइरसको उत्पादक को हो ? कसले क्षतिपूर्ति भर्नुपर्छ ? कसले लाञ्छनाको मूल्य चुकाउनुपर्छ ? इत्यादि छानबिन गर्ने, दोषारोपण गर्ने वा चोखिने–जुठ्याउने मौका त छँदै छ ।

महामारीका बेला चिनियाँ विशेषज्ञहरूले पनि निरन्तर भिडियो कन्फ्रेन्स गरेर विश्वव्यापी रूपमा अनुभव बाँडिरहेका छन् । दायित्वबोधको यो चिनियाँ शैली अनुकरणीय भएकोमा दुई मत छैन । अरूलाई प्रकोपबाट मुक्ति दिलाउन यस्तो अग्रसरता र चासो चीनका लागि जरुरी होइन । तर पनि गरिरहेको छ । यसबाट दुःखमा हातेमालो गर्ने चिनियाँ विशेषता झल्किएको छ । सहयोगी हात फैलाउने गुणकारी भावना फैलाएको छ । भाइरस कसको हो, त्यसको निर्क्योल कुनै दिन होला । तर दुःख समग्र मानव जातिको हो भन्ने बुझेरै सहकार्य र सान्त्वना बाँडफाँडको स्वामित्व भने चीनले लिएको प्रस्टै छ ।

प्रकाशित : वैशाख २६, २०७७ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×