कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रदेश ५ का क्‍वारेन्टाइनमा रहेका सबैको 'र्‍यापिड टेस्ट' गरिने

अमृता अनमोल

बुटवल — कोरोना भाइरस(कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश ५ सरकारले क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको ऱ्यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) गर्ने भएको छ । 

प्रदेश ५ का क्‍वारेन्टाइनमा रहेका सबैको 'र्‍यापिड टेस्ट' गरिने


प्रारम्भिक रुपमा कोरोना भए नभएको थाहा पाउन २ हप्ता क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको द्रुत परीक्षण थालेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि लागि बिहीबारदेखि २ जिल्ला हेर्नेगरी ६ वटा वटा स्वास्थ्यकर्मीको टोली खटेको छ । ‘आजदेखि क्वारेन्टाइनमा बसेर २ हप्ता कटाएका हरेक व्यक्तिको आरडीटी हुनेछ,’ मन्त्री बरालले भने, ‘त्यसमा नेगेटिभ रिपोर्ट आए घरमा पठाइने छ । पोजिटिभ भए स्वाब परीक्षणका लागि पठाइने छ । ’

हाल प्रदेश ५ का १२ जिल्लामा २ हजार ५ सय ६ जना क्वारेन्टाइनमा बसेका छन् । यी सबैको द्रुत परीक्षण गरिने छ । आरडीटीका लागि संघीय सरकाले बिहीबार नै प्रदेशमा ५ हजार थान किट पठाएको छ । डा. रमेश खरेलको नेतृत्वमा आएको चिकित्सकको टोलीले प्रदेशमा किटसहित विभिन्न स्वास्थ्य उपकरण ल्याएको थियो । टोलीले सामाजिक विकास मन्त्रालयमा सरोकारवालासहितलाई भेटी कोरोना नियन्त्रण तथा रोकथामबारे जानकारी लिएको थियो ।

प्रदेशमा अहिलेसम्म कोरोना आशंकाका एक सय ५२ जना बिरामीको स्वाव परिक्षण गरिएको छ । यसमध्ये एक सय २५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । २७ जनाको रिपोर्ट आउन बाँकी छ । हाल ३३ जना आशंकाका बिरामी कोरोना विशेष अस्पतालमा उपचाररत रहेको सामाजिक विकास मन्त्रालयका स्वाथ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए ।

हाल प्रदेशको भैरहवामा रहेको कोरोना प्रयोगशालाबाटै कोरोना भाइरसको परीक्षण हुन थालेको छ । त्यहाबाट अहिलेसम्म ३६ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनाको रिपोर्ट आएको छ । ५ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रयोगशालामा कोरोना पोजिटिभ आए त्यसको थप परीक्षण गर्न काठमाडौं पठाउने डा. चौधरीले बताए ।


प्रकाशित : चैत्र २७, २०७६ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?