गोरखामा ८ सय ४६ लाई डेंगी संक्रमण, साउनयता दुई जनाको मृत्यु

आश्विन २०, २०८१

हरिराम उप्रेती

846 dengue infections in Gorkha, two deaths since July

गोरखा — मौसम परिवर्तनसँगै गोरखामा डेंगीको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८ सय ४६ जनामा डेंगी संक्रमण देखिएको छ । संक्रिमित सबैभन्दा बढी गोरखा नगरपालिकामा ६ सय ८३ जना हुन् ।

पछिल्लो तीन सातामा गोरखा अस्पतालमा डेंगी संक्रमितको चाप छ । विरामीको चाप बढेपछि ५ बेड थप गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले बताए ।

‘अहिले ९० शय्या संचालनमा छ, डेंगीका विरामी बढेपछि गत साता ५ वेड थप गर्‍याौ,’ उनले भने । साउनयता गोरखा अस्पतालमा परीक्षणको क्रममा मात्र  ३ सय ९६ जनामा डेंगीको संक्रमण पुष्टि भएको उनले बताए । परीक्षण गराउन आएकामध्ये दैनिक सरदर १० देखि १५ जनामा संक्रमण देखिएको उनले बताए ।

गत वर्षको तुलनामा यस वर्ष डेंगी संक्रमितको संख्या झण्डै दोब्बरले बढेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष चार सय ८८ जनामा डेंगी संक्रमण देखिएको थियो ।

साउनयता मात्र डेंगी संक्रमित दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए । डेंगी संक्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार साउनयता पालुङटार नगरपालिकामा ६१, आरुघाट गाउँपालिकामा ६५, सहिद लखन गाउँपालिकामा १२, गण्डकी गाउँपालिकाको १५ जनामा मा डेंगीको पुष्टि भएको छ ।

अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका ३/३ जना, भीमसेन थापा र चुमनुव्री गाउँपालिकाको २/२ जनामा डेंगी संक्रमण देखिएको छ । ‘डेंगी बढ्नुमा वातावरणीय कारण पनि छ, असोज दोस्रो सातासम्म वर्षा भइरहेको छ, यसले पनि लामखुट्टेको बृद्धिमा सघाउ पुर्‍याइरहेको छ,’ शर्माले भने,‘टायर, कप, पानी जम्ने खाल्डोले पनि लामखुट्टको वृद्धि  विकास भइरहेको छ ।’

त्यस्तै गोरखामा स्क्रब टाइफस संक्रमितको संख्या पनि बढेको छ । चालु आर्थिक वर्षमा ४ सय १६ जनामा स्क्रब टाइफस पुष्टि भएको हो । सबैभन्दा बढी गोरखा नगरपालिकामा १ सय ७४ र आरुघाट गाउँपालिकामा १ सय ६५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो ।

पालुङटार नगरपालिकाको ५६, भीमसेन थापा गाउँपालिकाको ८, सहिद लखनको ३ र गण्डकी गाउँपालिकाको २ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully