'मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान विनाश'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
ढोरपाटन — हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
!['मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान विनाश'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/road-dhorpatan-2432024010806-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि अहिले धेरै ठाउँमा सडक पुगेको छ । एक दशक अगाडि पर्यटक तथा भक्तजनको घुइँचो हुने फल्लेघरबाट देउरालीसम्मको गोरेटो बाटो अहिले झाडी बन्न थालेको छ । योसँगै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौँ गोरेटो बन्द हुँदै गएका छन् ।
ढोरपाटन नगरपालिका ९ का वीरबहादुर सुनारले सुविधाले पुराना गोरेटो मासिएको बताए । सडकले धेरै ठाउँका गोरेटोबाटो मासेको भन्दै भएका ठाउँमा पनि कोही नहिँड्ने उनको भनाइ छ ।
सुनारले पाका पूर्खादेखि हिँड्दै आएका बाटोलाई विकासले ओझेलमा पारेको भन्दै पुराना गोरेटोलाई पदमार्गका रुपमा विकास गर्नुपर्ने बताए । विकासका नाममा जथाभावी सडक निर्माण हुँदा गोरेटोसहित पुराना मौलिक सम्पदासमेत मासिएको उनको भनाइ छ ।
'हाम्रो पालामा मोटर गाडी थिएनन् । अहिलेको जस्तो यति ठूला सडक पनि थिएनन् । बटौली, तानसेन पुगेपछि मात्रै गाडी देख्न पाइन्थ्यो । साँघुरो बाटोमा यात्रा गर्थ्यो । उतिबेला हामीहरु हिँडेका बाटो अचेल बन्द छन्', सुनारले भने, 'कतै मोटरबाटोले पुरिएका, कतै अप्ठ्यारा बनेका छन् । ती गोरेटोहरु प्रयोगविहीन भएका छन् । सरकारले पुरानो बाटोलाई व्यवस्थित पदमार्ग बनाउन सके बाहिरबाट आउने आगन्तुकलाई सहज हुने थियो ।'
तमानखोला गाउँपालिका १ का जितबहादुर घर्तीले मोटरबाटोले मान्छेलाई अल्छि बनाएको बताए । पहिले घण्टौँ लगाएर हिँड्नेहरु अहिले १० मिनेटको दूरीमा पनि गाडी चड्न खोज्ने उनको भनाइ छ ।
मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको घर्तीले बताए । पहिले बजारबाट सामान ढुवानी गर्न घोडा, खच्चड प्रयोग गर्ने गरेको स्मरण गर्दै उनले अहिले गाडीमा ओसारपसार गर्न थालेको बताए ।
गोरेटोबाटो ग्रामीण जीवनशैलीसँग जोडिएको भए पनि अव्यवस्थित विकासले अस्तित्व नै धरापमा परेको घर्तीको भनाइ छ । 'मोटरबाटोले धेरै सुविधा ल्याएको छ । दिनभरि हिँडेर पुग्ने ठाउँमा अहिले एक घण्टामै पुर्याउँछ । सामान बोक्ने समस्या अन्त्य भएको छ । यसले अहिले हिँड्ने बानी पनि हटेको छ', उनले भने, 'हामी सानो हुँदा गाउँमा गारेटोबाटो मात्रै थिए । मान्छेहरु टाढा जानु परे पैदल यात्रा गर्नुपर्थ्यो । अहिले त्यहीँ (तलतिर) जाँदा पनि गाडी चाहिने, जुग जमाना फेरिएपछि गाउँका बाटाघाटा पनि फेरिएका छन् ।'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)