कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री : चुनावी गठबन्धन ब्युँतिँदाको शुभलाभ

गोरखा–२ पुष्पकमल दाहाललाई छोड्दा पाण्डेलाई गण्डकीको मुख्यमन्त्रीको आश्वासनमा प्रदेशमा पठाइएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पनि मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि पाण्डे प्रदेश ओर्लिएका थिए ।

पोखरा / गोरखा — मुख्यमन्त्री मंसिर ४ को निर्वाचनअघि गोरखामा हुने चुनावी प्रचार सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई देखाउँदै भन्थे, ‘गण्डकी प्रदेशको मुख्यमन्त्री पाण्डेजी नै हो ।’ पाण्डेले पनि आफू भावी मुख्यमन्त्री भन्दै मत मागेका थिए भने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि मुख्यमन्त्रीमा पाण्डेकै नाम लिइरहन्थे ।

सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री : चुनावी गठबन्धन ब्युँतिँदाको शुभलाभ

गोरखा–२ पुष्पकमल दाहाललाई छोड्दा पाण्डेलाई गण्डकीको मुख्यमन्त्रीको आश्वासनमा प्रदेशमा पठाइएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पनि उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि पाण्डे प्रदेश ओर्लिएका हुन् । गोरखा-२ को २ बाट प्रदेशसभामा निर्वाचित पाण्डे कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी २ वर्षसम्म राष्ट्रियसभामा विपक्षी दलको नेताका रुपमा थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । माओवादी केन्द्रले जसलाई समर्थन गर्‍यो‚ उसकै नेतृत्वमा सरकार बन्ने अवस्था रह्यो । तत्कालीन अवस्थामा पाँचदलीय गठबन्धन कायम रहेकाले कांग्रेस नेता पाण्डे मुख्यमन्त्री हुनेमा ढुक्क थिए । केन्द्रीय नेताहरूको मुख्यमन्त्रीमा आश्वसनपछि ढुक्क भएर पाण्डे गत पुस १० मा जहाज चढेर पोखरा फर्किंदै थिए । भावी मुख्यमन्त्रीको स्वागत गर्न कांग्रेसीजनको ठूलो भीड पोखरा विमानस्थलमा लागेको थियो । जब पोखरा विमानस्थलमा जहाज ल्यान्ड भयो, पाण्डेले केन्द्रमा पाँचदलीय गठबन्धन तोडिएको खबर पाए ।

त्यसको भोलिपल्ट पाण्डेले पत्रकार सम्मेलनमा निरास हुँदै भनेका थिए, ‘एयरपोर्टमा प्लेन ल्यान्ड भयो तर, राजनीति घटनाक्रम क्र्यास भयो । दु:ख लागेको छ ।’ उनले पाँचदलीय गठबन्धन जोगाउनुपर्ने भन्दै जुन उद्देश्यले गठबन्धन गरिएको थियो, त्योअनुसार इमानदारिता नदेखिएको बताएका थिए । पत्रकार सम्मेलनमा पाण्डेले अब कांग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने पनि बताएका थिए ।

माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका खगराज अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भए । पाण्डे प्रतिपक्षी दलको नेता भए । दलको नेताको हैसियतमा बागलुङलगायत जिल्ला पुगेर पाण्डेले प्रचण्डले आफूलाई धोका दिएको भाषणसमेत गरे । मुख्यमन्त्री बन्न हुटहुटीमा रहेका तिनै पाण्डे बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपतिको निर्वाचनसँगै केन्द्रमा फेरि पुरानै गठबन्धन ब्युँतिएपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई गरेको समर्थन चैत १० मा फिर्ता लियो । माओवादीका दुई मन्त्री फिर्ता भए । त्यसपछि अधिकारी सरकार अल्पमतमा पर्‍यो । वैशाख ९ मा अधिकारीले विश्वासको मत गुमाएपछि पदमुक्त भए । यसले पाण्डेलाई मुख्यमन्त्री बन्ने ढोका खुल्यो ।

पुस ११ मा लिटरेचर फेस्टिभलमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पोखरामै भनेका थिए, ‘शून्यमा झरेजस्तै भयो ।’ पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नपाउने नियतिले निर्वाचन प्रणाली र संविधानमै सुधार गर्नुपर्ने उनीहरुले बताएका थिए । संघ र गण्डकी प्रदेशमा का‌ंग्रेस ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नु परेको भन्दै उनीहरूले यस्तो भनेका थिए ।

अप्रत्याशित रुपमा प्रतिपक्ष दलको नेता बन्न पुगेको साढे ३ महिनापछि पाण्डेको नेतृत्वमा आगमन भएको छ । लिटरेचर फेस्टिभलमा महामन्त्री शर्माले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल एम्बापेले हानेजस्तै निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जितेको उल्लेख गरेका थिए । साथै एम्बापेले गोल्डेन बुट जित्ने तर विश्वकप अर्कैले जितेजस्तै भएको शर्माले बताउँदै गर्दा अर्का महामन्त्री थापाले थपेका थिए, ‘अर्कोपल्ट विश्वकप एम्बापेले जित्नेछन्, किन कि त्यहाँ मेस्सी हुनेछैनन् ।’ महामन्त्रीद्वयले भनेजस्तो अहिले आएर पाण्डे जितेका छन् ।

मुख्यमन्त्री पृष्ठभूमि

पालुङटार नगरपालिका-१ खोप्लाङ स्थायी घर भएका ५९ वर्षीय पाण्डेले २०३६ सालमा नेविसंघको सदस्यता लिएर राजनीतिक यात्राको सुरुआत गरेका थिए । पाण्डेले २०३७ मा अमरज्योति जनता माविबाट एसएसलसी उत्तीर्ण गरेका थिए । अध्ययनको सिलसिलामा काठमाडौं पुगेका उनी २०३९ सालमा नेविसंघ अस्कल इकाई सचिव बने । २०४५ मा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बनेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका पाण्डे २०४९ मा नेविसंघको केन्द्रीय सदस्यसमेत बने । तत्कालीन समयमा नेपाली कांग्रेस विभाजन भएपछि लोकतान्त्रिक कांग्रेसनिकट रहेका पाण्डे नेपाल तरुणदलका महासचिवसमेत बनेका थिए । हाल तेस्रोपटक पाण्डे कांग्रेसका केन्द्रीय सदस्य छन् ।

गत निर्वाचनमा उनलाई पार्टीले गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उठ्ने भएपछि उनी प्रदेशसभामा झरेका हुन् । निर्वाचनपछि पटक/पटक कार्यकर्ता भेटघाट तथा आन्तरिक प्रशिक्षणमा पाण्डेले निर्वाचनअघि नै आफूलाई मुख्यमन्त्री बन्ने सहमति बनेको दाबी गर्दै आएका थिए । विभिन्न चरणमा भएको लोकतान्त्रिक आन्दोलनको क्रममा २०४५, २०६१ मा केहि महिना उनले जेल जीवनसमेत बिताएका छन् ।

प्रकाशित : वैशाख १४, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?