कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बाग्लुङकी ६५ वर्षीया महिलाले कोरोनालाई जितिन्, तीन सातामा भइन् डिस्चार्ज

भन्छिन, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’
प्रकाश बराल

बागलुङ — बागलुङकी ६५ बर्षीया महिला कोरोना भाइरसको संक्रमणलाई जितेर निको भएकी छन् । दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ । 

बाग्लुङकी ६५ वर्षीया महिलाले कोरोनालाई जितिन्, तीन सातामा भइन् डिस्चार्ज

उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भए पनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ भएको थाहा पाएपछि अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको हो ।

तेस्रो र चौथोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको अस्पतालले जनाएको हो ।

धौलागिरी अञ्चल अस्पतालमा चैत १९ गते भर्ना भएकी उनले अस्पतालको तीन साता लामो बसाईपछि सकुशल फर्कने मौका पाइन् । जनस्वास्थ्यका लागि विश्वभर चुनौती भइरहेको कोरोना भाइरस (कोभिड १९) लाई बागलुङ नगरपालिका ३ गौंडाकोटकी यी महिलाले सजिलै जितेकी हुन् ।

घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन्, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ आफूलाई अस्पताल नआइकनै ठीक हुन्छ जस्तो लागेको उल्लेख गर्दै उनले भनिन्, ‘डाक्टर र नर्सहरुले मेरो धेरै सेवा गर्नुभयो ।’

‘दैनिक तीन चार लीटर तातो पानी पिउने र पीर चिन्ता नलिइकन बस्दा निको भएछ ।’ घरपरिवार र छिमेकीले दिनदिनै फोन गरेर शुभकामना दिएको लागेझैं भएको उनले बताइन् । डाक्टर र नर्सले दैनिक ३ पटक भेटेर औषधि खुवाउने गरेको समेत उनले बताइन् ।

गत चैत ४ गते कतार एयरवेजको फ्लाइटमा काठमाडौ उत्रिएर बाग्लुङ आइपुगेकी उनमा संक्रमण देखिएको थियो । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । बिदेशमा रहेका छोरी ज्वाइ भेट्न गएकी थिइन् । छोरी ज्वाई भेट्नेक्रममै कान्छो छोरालाई बिदेशमा छाडेर उनी फर्केकी थिइन् । उनले दुई सातामात्र बिदेशमा बिताएकी थिइन् । कतारदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा हुँदै बागलुङस्थित घर आउने बेलासम्म नेपालकै पाँचौ संक्रमित १९ बर्षकी युवती र उनी सँगै थिए । ती युवती पनि धौलागिरी अञ्चल अस्पतालमै उपचार गराइरहेकी छिन् । ती युवतीको चौथो पटक सम्मको स्वाब परीक्षण पोजेटिभ आएको छ ।

उनको घर परिवार र छिमेकमा नजिक भएकाहरु समेतको स्वाब परीक्षण भएको छ । सबैको नेगेटिभ आएकोले ती महिलाको समाज समेत सुरक्षित देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘औषधि नै नभएको रोगबाट उहाँले छुटकारा पाउनु भएको छ,’ पोखरेलले भने, ‘दैनिक आइपर्ने समस्यामा औषधि खुवाउने, देश बिदेशमा भएका राम्रा अभ्यासबाट उपचार गर्ने पद्दतीले रोगलाई जित्न सकियो ।’

पोखरेलले आत्मबिश्वासले पनि धेरै रोग निको हुने बताए । अर्की युवती पनि स्वस्थ्य भएकोले छिटै निको हुने उनले बताए । दीर्घरोगीले पनि कोरोना जित्न सक्छन् भन्ने उदाहरण यी महिला बनेको पनि उनले बताए । लकडाउनको सुरुवातमा ‘डेन्जर जोन’मा देखिएको बागलुङ अब बिस्तारै ‘नर्मल’ भएको भन्दै खुसी व्यक्त गरे ।

कोरोना जितेर घर फर्केकी महिलामा दम र उच्च रक्तचापको समस्या थियो । उनले अस्पतालमा दम र उच्च रक्तचापको नियमित औषधि सेवन गरेकी थिइन् ।

यसअघि शनिबार नै काठमाडौं टेकु अस्पतालबाट पनि एक संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन् । नेपालका पहिलो कोरोना संक्रमित यसअघि नै निको भइसकेका छन् ।

प्रकाशित : वैशाख ६, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?