चियाबारी–सिन्धुलीगढी पदयात्रालाई सेनाकै भर

जेष्ठ ३१, २०८२

राजकुमार कार्की

The Chiabari-Sindhuligarhi march is the responsibility of the army

सिन्धुली — इतिहासको जगेर्ना तथा तन्दुरुस्तीका लागि शनिबार चियाबारी–सिन्धुलीगढी पदयात्रा गरिएको छ ।

सेनाको श्री नं ९ वाहिनीले आयोजना गरेको पदयात्रा ‘गौरवको गाथा– किल्लाको यात्रा’ कमलामाई नगरपालिका–२ को चियाबारीदेखि सिन्धुलीगढीसम्म गरिएको हो । चियाबारीदेखि कमलामाई नगरपालिका ३ को सिन्धुलीगढीसम्मको ८ किलोमिटरलाई सेनाले यसअघि क्याप्टेन किनलोक पदमार्ग नामाकरण गरेकामा यो वर्ष त्यो कहीँकतै देखिएन ।

विसं १८२४ को असोज १५ गते क्याप्टेन किनलोकको नेतृत्वमा आएको दुई हजार चार सय ब्रिटिस कम्पनी सेनालाई स्थानीयसहित करिब एक हजार दुई सय संख्यामा रहेका गोर्खाली फौजले घरेलु हातहतियार, पातपतिंगर र किरासमेतको सहायताले सिन्धुलीगढीमा भएको लडाइँबाट पराजित गरेर पठाएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाई वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको थियो । बीपी राजमार्ग निर्माण नहुँदा सिन्धुलीको महाभारत उत्तरतर्फ र रामेछाप, ओखलढुङ्गा, दोलखा लगायतका जिल्लाका मानिसहरुको आवत–जावत यही मार्गबाट हुने गरेको थियो । 

The Chiabari-Sindhuligarhi march is the responsibility of the army

सदरमुकाम सिन्धुलीमाडीबाट चियाबारी पुगेपछि ग्वाङखोलाको किनारै किनार फेँदीसम्म जाने र त्यहाँबाट ठाडो उकालो भएर हात्तीढुङ्गा, सिरवानी, ढुंग्रेभन्ज्याङ, साउनेपानी हुँदै प्रवेशद्वार आड किल्लाबाट गढी क्षेत्रमा भित्रने पुरानो बाटोलाई पदमार्ग क्षत्र तोकिएको छ । पदमार्गमा सेनाका अलावा, प्रहरी, प्रशासन, व्यवसायी, संघसंस्थाका प्रतिनिधिले पदयात्रा गरेका थिए । पदयात्राले सेना र नागरिकको सम्बन्ध फराकिलो भई इतिहासको जगेर्ना गर्न मद्दत मिल्ने बताइएको छ । वीर पुर्खाहरुले विजयी प्राप्त गरेको स्थानमा पुग्न वैरीपक्षको नेतृत्व गर्ने कप्तान किनलोकको सम्झनामा पदमार्ग बनेपनि स्थानीयको विरोधका स्वर आएपछि त्यो हटाइएको छ । पदयात्राका क्रममा सिन्धुलीगढी क्षेत्रका अन्वेषणकर्ता सागरकुमार ढकालले सिँढी निर्माण गरेर ठाउँठाउँमा विश्रामस्थल बनाउन सके यसको महत्त्व बढेर देशविदेशबाट पदयात्रीहरू ओइरिने दाबी गरे । उनले नागरिकस्तरबाटै पदमार्गको अपनत्व लिनुपर्ने उनले खाँचो औंल्याए ।

The Chiabari-Sindhuligarhi march is the responsibility of the army

पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई नेपाली फौजले भूगोलको साथ लिएर प्रतिरक्षा गर्दै लडाइँ गरेकाले यो पदमार्ग अरु भन्दा भिन्न रहेको उनको तर्क थियो । 'गोर्खाली सेनाले आक्रमण गरेर मात्र नभइ अरिङालका गोला, अल्लो, सिस्नु लगायतकोसमेत मद्दत लिएको इतिहासमा पाइन्छ,' उनले भने, ‘विश्वमै साम्राज्य फैलाएको ब्रिटिस सेनालाई पराजित गरेको स्थान हेर्न जोसुकै आउँछन्, र पदयात्रामा समेत मज्जा लिएर इतिहासको खोज अनुसन्धान हुन्छ ।’ यो पदमार्गको ८ किलोमिटर पूरा गर्न डेढदेखि दुई घन्टा लाग्ने उनले जनाए । 

The Chiabari-Sindhuligarhi march is the responsibility of the army

५ किलोमिटर क्षेत्र ठाडो उकालो भएकाले विश्रामस्थल र सिँढी निर्माण गरिनुपर्ने पदयात्रीको भनाइ छ । पदयात्राले प्रत्येक नेपालीलाई गर्वानुभूति हुने यो पदमार्गको महत्त्व उजागर हुनुपर्ने पदयात्रीहरूको धारणा छ । 

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully