सिन्धुपाल्चोक — जिल्लाबाट चीन जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग कोदारी राजमार्ग भास्सिएर ठप्प भएको तातोपानी नाका १५ दिनपछि सञ्चालनमा आएको छ ।
चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकखण्ड (२६ किलोमिटर)को कोप्लाङ खण्डमा भास्सिएको सडक पुनर्निर्माण गरेर कन्टेनर र अन्य सवारीसाधन शुक्रबारदेखि पहिलेझैं आउजाउ गर्न थालिएको हो ।
१५ दिनअघि भोटेकोसी गाउँपालिका-२ कोप्लाङमा १५ फिट भास्सिएयता अवरुद्ध सडकका कारण नाका बन्द थियो । यो सडक पुनर्निर्माणका लागि यही जेठ ३ गतेसम्म १० दिन नाका बन्द गरेर शुक्रबार सञ्चालनमा आएको उनले जनाए । ‘लामो पुनर्निर्माणको कामपछि शुक्रबार बल्ल सडक सञ्चालनमा ल्याइएको छ, वर्षात्ले समस्या बनायो,’ उनले भने ।
सडकमुनि भोटेकोसी नदीबाट प्लम ढलानको थप काम पनि भइरहेको छ । शिव खिम्ती र टीपीएस जेभीले यस कामको जिम्मा पाएका थिए । उता भन्सार जाने अन्य कुनै विकल्प मार्ग नभएपछि थन्किएका करोडौं सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारबाट भन्सारका लागि हिँडेका छन् । जसमा स्याउ र लसुन बोकेका ४० कन्टेनर छन् ,चार सयभन्दा बढी विद्युतीय सवारीसाधन थिए । भूकम्प र बाढीले क्षतिग्रस्त बनाएको सडक बर्खाअघि प्रतिदिन जीर्ण बनेपछि स्थानीयबीच त्रासपूर्ण अवस्था छ । बाह्रबिसे र काठमाडौं जोड्ने वैकल्पिक मार्ग नभएकाले नाका बन्द गरेर सडक पुनर्निर्माण गर्नुपरेको र बल्ल सडक खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
गत साता जोखिमपूर्ण सडकबाट जबर्जस्ती पार गर्न खोज्दा एक विद्युतीय कार नदीमा खसेर चालक घाइते भएका थिए । यसअघि बाढीले बेलिब्रीज बगेपछि लिपिङ र लार्चामा कच्ची सडकको जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । अहिले लिपिङमा बेलिब्रीज जोडिएको छ र लार्चामा बेलिब्रीज राख्ने काम अघि बढिसकेको छ ।
