रहिनन् चितवनलाई गुन लगाएकी निरकला

कार्तिक ११, २०८१

रमेशकुमार पौडेल

Nirkala, who used to sing Chitwan, is not there

चितवन — भारतको दार्जिलिङमा जन्मिएकी निरकला शर्मा आफ्ना पितासँगै पुर्ख्यौली थातथलो खोज्दै नेपाल आएकी थिइन् । स्कुले तहको पढाइ सकेपछि शरीरले साथ नदिए पनि उनले काठमाडौं पुगेर उच्च शिक्षा लिइन् । त्यसपछि शिक्षण पेसा रोजेर चितवन झरिन् । उनै निरकलाले २५ वर्ष चितवनको शिक्षा क्षेत्रमा आफ्नो पसिना बगाएर यहींको माटोमा गत शनिबार अन्तिम श्वास लिन पुगेकी छन् ।

सानैमा रोगले थलिएकी उनी उपचारपछि पनि शारीरिक रूपमा कमजोर नै देखिन्थिन् । ९१ वर्ष बाँचेकी निरकलाले शारीरिक अशक्तताका बाबजुद मनोबल कमजोर नबनाइ शिक्षा र सामाजिक क्षेत्रमा आफूलाई निरन्तर समर्पित गराएको उनीसँगै काम गरेकाहरू बताउँछन् । 

शिक्षण पेसाबाट अवकाश पाएपछि उनले चितवनको रत्ननगर नगरपालिका–१२ अमिलियामा असहाय वृद्ध कल्याण समाज नामक संस्था खोलेर वृद्धाश्रम चलाएकी थिइन् । जीवनको लामो समय चितवनमै गुजारेकी निरकला प्रेम र सद्भावकी प्रतिमूर्ति रहेको समकालीनहरू बताउँछन् । 

निरकला जन्म वि.सं. १९९० पुस २८ मा दार्जिलिङको ओकाइटीमा भएको थियो । लमजुङ मूल थलो भएकी उनका जिजुहजुरबुबा दार्जिलिङ गएका थिए । निरकलाका बाबु जगधर शर्मा वि.सं. २००४ मा नेपाल आए । झापा भद्रपुरमा त्यसबेला पद्म शमशेरले स्कुल खोलेका थिए । त्यहाँ पढाउने शिक्षक खोज्न झापाका मान्छे दार्जिलिङ पुगेका बेला उनीहरूकै साथ लागेर जगधर नेपाल आए । उनीहरूले गरेको आग्रह स्वीकार गरेर परिवारैसहित उनी नेपाल आएका हुन् । 

त्यसबेला निरकलाको परिवारमा एकपछि अर्को विपत् आइपर्‍यो । ४ कक्षामा पढ्दै गरेकी निरकला शरीर दुखेर हिँड्नै नमिल्ने भएपछि ओछ्यान परिन् । उनका भाइ दुर्घटनामा बिते । परिवारमाथि परेको यो ताप बिर्सन पनि जगधर नेपाल आएको उनका साथीसंगाती बताउँछन् । तर, नेपाल पसेपछि पनि आपत्‌ले उनलाई छाडेन । निरकलाका दाइ पनि थिए । नेपाल आएको तीन वर्षपछि उनी पनि बिते । 

शर्मा परिवारमा परेको एकपछि अर्को बज्रपातले जगधरलाई चिन्ता थपिइरहेको थियो । यता १८ वर्षको हुँदा पनि छोरीको तौल १५ केजीभन्दा माथि पुग्न सकेको थिएन । निरकलाका बाबुका साथीको सल्लाहमा भारत खर्साङमा उनको उपचार गरिएको थियो । 

छोरीको अवस्थामा सुधार आएपछि बाबुआमा उनलाई लिएर तीर्थयात्रामा निस्के । फर्केर आएपछि उनका बाबुका साथीहरूले छोरीलाई पढाउनु पर्छ भन्न थाले । ‘निरकलाको दिमाग चर्को छ । यसलाई कम्तीमा शिक्षक बनाए १० जनालाई पढाएरै जीवन पाल्छे,’ कसैले सुनायो । त्यसपछि निरकलाले कक्षा ५, ६, ७ र ८ का किताब घरमै मगाएर बुबासँग पढ्न थालिन् । २०१८ सालमा कक्षा ९ मा भर्ना भएकी निरकलाले ०२० साल माघमा धरानबाट एसएलसी दिइन् । दोस्रो श्रेणीमा उत्तीर्ण भइन् । परीक्षा दिन धरान गएका बेला यता उनकी आमाको निधन भयो । 

मेची आमाको उपनामले चिनिने दिलकुमारी श्रेष्ठ निरकलाकी आमा बिरामी हुँदा उनलाई भेट्न गएकी रहिछन् । त्यही घेटघाटमा मेचीआमासँग निरकलाकी आमाले भनेकी रहिछन्, ‘मेरी छोरीलाई जसरी पनि पढाइ ठूलो मान्छे बनाइदिनू है ।’ 

त्यसबेला मेची आमाको दरबारसम्म राम्रै पहुँच थियो । महिला संगठनमा लागेकी रहेछिन् । एसएलसी उत्तीर्ण भएपछि मेची आमाले पत्र लेखेर निरकलालाई काठमाडौं पढ्न पठाइन् । शिक्षा कलेजमा भर्ना गर्न महिला संगठनले सिफारिस गरेको थियो । राम्रोसँग हिँड्न नसक्नेले शिक्षक भएर विद्यार्थीलाई कसरी कन्ट्रोल गर्छ भनेर उनलाई भर्ना नलिने कुरो भएछ । तर मेची आमाले जोडबल गरेपछि भर्ना गरियो ।

पछि काठमाडौंमा नै एक जना ब्रिटिस डाक्टरसँग भेट भएर निरकलाको उपचार भयो । ३३ वर्षको उमेरमा हाडजोर्नीका डाक्टरसँग भेट हुँदा उनको तौल २१ केजी थियो । ती डाक्टरले केही शल्यक्रिया गरे । जसले गर्दा हिँडडुल गर्न अलिक सजिलो भयो । वि.सं. २०२५ सालको कार्तिकमा उनले बीएड उत्तीर्ण गरिन् । उनी झापामा नै बस्न चाहन्थिन् । तर पारिवारिक परिवेश मिलेन । त्यसपछि उनी चितवन झरिन् ।

अंग्रेजी पढाउने मावि शिक्षकको नियुक्ति लिएर वि.सं. २०२५ को पुस महिनामा चितवन रत्ननगरको नेपाल मावि आएकी निरकलाले २५ वर्ष पढाएर अवकाश पाइन् । बीचमा एक वर्ष उनी गोरखा छोप्राक स्कुलमा प्रअ भएर गएकी थिइन् । अवकाश पाउँदा उनको हातमा २५ हजार रुपैयाँ परेको थियो । यो रकम कसरी सदुपयोग गर्ने होला भन्ने योजना बन्दै गर्दा वृद्धाश्रमको अवधारणा आएको रत्ननगरका तिलकराज पौडेलले सुनाए । 

अवकाशपछि त्यस बेला बुझेको २५ हजार रुपैयाँ लिएर निरकला ‘अब यो पैसा के गरौं ?’ भन्दै आफूलाई भेट्न आएको पौडेलले सुनाए । उनको चाहना आश्रम बनाएर अशक्त र असहायलाई त्यसमा राख्ने भन्ने रहेछ । त्यसैले असहाय वृद्ध कल्याण समाज नामक संस्था खोलेर आश्रम बनाउने काम अगाडि बढेको उनले सुनाए । 

निरकलाले बुझेको २५ हजार रुपैयाँ संस्थामा राखेर अरु रकम जुटाउने काम भयो । अन्य स्रोतहरू पनि जुटाएर अमिलियामा ६ कट्ठा जमिन खरिद भयो । त्यसपछि भवन बनाउन थप दाताहरू खोजी भयो । महायज्ञ लगाएर १ करोड ९७ लाख रुपैयाँ संकलन भयो । यसरी निरकलाले चाहेजस्तो आश्रम तयार भयो । आश्रममा अहिले ११ जनाले आश्रय लिएका छन् । स्कुलबाट अवकाश पाएपछि निरकला पनि यही आश्रममा बस्दै आएकी थिइन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully