कसरी पुगे लामिछाने चितवन ?

इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडा पर्ने क्षेत्र–२ मा लामिछानेले आकलन गरेजस्तो सहज स्थिति छैन, गत स्थानीय निर्वाचन परिणामअनुसार यहाँ एमाले बलियो छ
रमेशकुमार पौडेल

चितवन — गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि धेरैको चासो थियो, रवि लामिछानेले कहाँबाट उम्मेदवारी देलान् ? टेलिभिजनको पर्दाबाट चर्चा बटुलिरहेका बेला सञ्चारकर्म छाडेर नयाँ दल निर्माण गरेपछि उनी कहाँबाट उठ्लान् भन्ने चासो सुरु भएको थियो । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदमा आइतबार उम्मेदवारी दर्ता गराएपछि धेरैको सोधीखोजी छ, आखिर लामिछानेले चितवन–२ नै किन रोजे ?

कसरी पुगे लामिछाने चितवन ?

काठमाडौंका स्थायी बासिन्दा भए पनि लामिछाने चितवनवासीका लागि नौला हैनन् । २०७६ साउनमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेपछि उनी ९ दिन जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा बसेका थिए । त्यतिबेला उनको पक्षमा दिनहुँ प्रदर्शन भएको थियो । धरौटीमा छुटेपछि उनले नारायणी नदी किनारमा हजारौं समर्थकलाई धन्यवाद दिन सभा नै राखेका थिए । सोही सभापछि धेरैले आकलन गरेका थिए, रवि राजनीतिको बाटोमा जान खोज्दै छन् । धेरैले नदी किनारको त्यही भेलाका कारण रविले चितवनमा उम्मेदवारी दिएको लख काटेका छन् तर उनी चितवन झर्नुका पछाडि यही मात्रै कारण होइन ।

यतिबेला चितवनमा रविलाई चिनाउने अभियानको नेतृत्व लिएका छन्– स्थानीय धर्मेन्द्र सापकोटाले । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला अध्यक्ष सापकोटाको घर भरतपुर महानगरपालिका–५ हो । डिस होमको सुरुवाती लगानीकर्ता सापकोटासँग विभिन्न राष्ट्रियस्तरका टेलिभिजनको व्यवस्थापनमा बसेर काम गरेको अनुभव छ । भ्रष्टाचारविरोधी अभियानमा समेत लागेका उनले स्थानीय चुनाव र त्यसपछि पनि स्वतन्त्र उम्मेदवार अभियान चलाउँदै आएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा भने अलिक पछि जोडिएका हुन् । सुरुमा पार्टीको जिल्ला अध्यक्ष देवघाटका यमकान्त शर्मा थिए । शर्मा बिरामी भएपछि उनकै प्रस्तावमा आफू जिल्ला अध्यक्ष भएको सापकोटाले बताए ।

सापकोटाले चितवन–३ मा आफ्नो पार्टीले नेपाली कांग्रेसका असन्तुष्ट पक्षका उम्मेदवार जगन्नाथ पौडेललाई समर्थन गर्ने र पौडेल समूहले क्षेत्र २ मा रवि लामिछानेलाई सहयोग गर्ने सहमतिका आधारमा यस्तो निर्णय लिएको बताए । एमालेबाट तेस्रो पटक चुनाव लड्दै गरेका कृष्णभक्त पोखरेलप्रति मतदाता सन्तुष्ट नरहेको आकलन गरेर लामिछाने त्यहाँ पुगेको धेरैको बुझाइ छ । तर लामिछानेले आकलन गरेजस्तो स्थिति क्षेत्र २ मा छैन । स्थानीय तह निर्वाचनमा यहाँ एमाले बलियो देखिएको छ । चितवन–२ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडा पर्छन् । स्थानीय निर्वाचनमा इच्छाकामना र कालिका नगरपालिकामा एमालेले प्रमुख–उपप्रमुखसहित धेरैजसो वडाध्यक्ष जितेको थियो । त्यसैगरी भरतपुरका धेरै मतदाता रहेका वडामा पनि एमालेको राम्रो पकड देखिएको छ ।

जिल्ला अध्यक्ष सापकोटाले यस्ता विषयलाई सामना गर्न आफूहरूले रणनीति बनाएको सुनाए । ‘हामी सर्वेक्षणका आधारमा काम गर्छौं, एक खालको सर्भे त हामीले दुई र तीन दुवै क्षेत्रमा गरेका हौं, अब रणनीति बनाउन व्यावसायिक समूहको साथमा सर्वेक्षण गर्दै छौं,’ उनले भने । पार्टीको समानुपातिक सूचीमा रहेका मनीष झाको नेतृत्वमा तथ्यांक विश्लेषणमा काम गर्ने संस्था फ्याक्ट्स नेपालमार्फत बृहत् सर्वेक्षण गरेर चुनावी रणनीति बनाउने उनले बताए । भारतमा चुनावी रणनीति बनाउने काममा ख्याति कमाएका प्रशान्त किशोरको शैलीमा आफूहरूले काम गर्ने उनको दाबी छ । ‘राजनीतिप्रति जनमानसमा एक खालको वितृष्णा छ, विकल्प खोजिरहेका छन् तर विश्वासिलो विकल्प नभएर मानिसहरू अलमलमा छन्, हामी त्यसलाई चिर्न चाहन्छौं,’ उनले भने ।

१ लाख २४ हजार २ सय १४ मतदाता रहेको क्षेत्र २ मा विकट पहाडी इलाकादेखि सदरमुकामको सहरी क्षेत्रसमेत छ । यो क्षेत्रमा एमालेले लगातार दुई पटक चुनाव जितेका कृष्णभक्त पोखरेलाई उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठलाई उठाएको छ ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?